२०८३ वैशाख २९ , मंगलबार 12, May 2026, Tuesday

एसइईको रिजल्ट हेर्दा किन देखिएन मार्कसिट ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २९ गते मंगलबार

राष्ट्रिय परीक्षा बोर्डले गएराति सार्वजनिक गरेको शैक्षिक सत्र–२०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा हेर्दा मार्कसिट हेर्न नपाएको गुनासो विद्यार्थीले गरेका छन् । विगतका वर्षमा रिजल्ट सार्वजनिक हुनासाथ वेबसाइटहरूले विद्यार्थीले मार्कसिटसहितको विवरण सार्वजनिक गर्थे । तर, यसपटक धेरै विद्यार्थीले अहिलेसम्म मार्कसिटसहितको विवरण हेर्न पाएका छैनन् ।

परीक्षा बोर्डले एसइई नतिजा एसएमएस, आइभीआरसँगै १४ वटा वेबसाइटबाट हेर्न सकिने जनाएको छ । बोर्डले एसइई नतिजा प्राप्त गर्ने १४ वटा वेवसाइटका सूचीसमेत सार्वजनिक गरेको छ । तर, धेरै वेबसाइटहरूले विद्यार्थीको मार्कसिटसहितको नतिजा देखाएका छैनन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक तुकराज अधिकारीले बोर्डले नेपाल टेलिकम (एनटीसी)सँग विद्यार्थीको मार्कसिटसहितको नतिजा देखाउने गरी सम्झौता गरेको बताए ।

‘एसइईको नतिजा देखाउँदा मार्कसिटसहितको विवरण देखाउने भनेरै उहाँहरूसँग एग्रिमेन्ट भएको हो । किन देखाएनन् हामी बुझ्नेछौँ,’ उनले भने, ‘हामीले हिजै उहाँहरूलाई विद्यार्थीको मार्कसिटसहितको सबै विवरण उपलब्ध गराएका छौँ ।’ बेवसाइटहरुले सेटिङ कम्प्लिट गर्न नसकेको कारण यस्तो समस्या आएको हुनसक्ने उनको भनाइ छ ।

‘राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटले पनि विद्यार्थीको मार्कसिट देखाएको छैन नि ?’ यो प्रश्नमा परीक्षा नियन्त्रक अधिकारीले भने, ‘हाम्रो वेबसाइटमा चाहिँ मार्कसिट अपलोड गर्नै बाँकी छ । मैले अघि हेर्न खोज्दा पनि देखाएन । अब आइटीका साथीहरू आएपछि त्यो समस्या हल हुन्छ । एनटीसीलाई त हामीले हिजै सबै विवरण दिएका छौँ । टेक्निकल्ली के समस्या भएको हो, म सोधेर जानकारी गराउने छु ।’

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार