स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो । जसमध्ये स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता, सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ८७५ कित्ता र कर्मचारीहरूका लागि १८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
अब सर्वसाधारण लगानीकर्ताहरूका लागि ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्काशन गरिएको छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ । यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ ।
यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र ३१ वर्ष २ महिना बाँकी रहेको छ ।
साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.७७ वर्ष रहेको छ । यो आइपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
सत्यपाटी