एक महिनादेखि अवरुद्ध गमगढी–गोठजिउला सडकअन्तर्गत मुगुको झ्यारी सडकखण्डमा निरन्तर पहिरो खसिरहेपछि मुगुमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएको छ ।
लामो समयदेखि सडक बन्द हुँदा ग्यासको आपूर्ति ठप्पजस्तै भएपछि आकस्मिक प्रयोजनका लागि मुस्किलले केही ग्यास बोकेका गाडी पास गराइएपछि ग्यास लिन ग्राहकबीच लुछाचुँडी भएको छ ।
सडक अवरुद्ध भएपछि गमगढी बजारमा ग्यासको अभाव बढ्दै गएको थियो । केही दिनको प्रयासपछि अत्यावश्यक अवस्थालाई ध्यानमा राखी जोखिम मोलेर केही ग्यास बोकेका गाडी झ्यारी सडकखण्डबाट पार गराइएपछि बजारमा ग्यास आइपुगेको थियो ।
तर माग अत्यधिक र ग्यासको मात्रा सीमित भएपछि उपभोक्ता ग्यास पाउन पसलमा जम्मा भएका थिए । ग्यास लिन आएका ग्राहकको भीड बढेपछि पसलमा तँछाडमछाडको अवस्था सिर्जना भएको थियो । कतिपय ग्राहकले ग्यास पाउनुपर्ने माग गर्दै पसल नै घेराउ गरेका थिए ।
लामो समयदेखि ग्यास नपाएर दाउरा तथा अन्य वैकल्पिक इन्धन प्रयोग गर्दै आएका उपभोक्ता ग्यास आएपछि जसरी पनि सिलिन्डर पाउनुपर्ने अवस्थामा पुगेका हुन् । ग्यासको अभावले घरायसी उपभोक्तासँगै होटल तथा चिया पसल सञ्चालन गर्ने व्यवसायीसमेत प्रभावित भएका छन् ।
लामो समय सडक बन्द हुँदा खाद्यान्न, निर्माण सामग्री र अन्य दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या हुँदै आएको छ । झ्यारी सडकखण्डमा निरन्तर पहिरो खस्ने र सडक हिलाम्मे हुने भएकाले सडक खुलाउन कठिनाइ भइरहेको छ ।
सडक खुलाउने काम भने निरन्तर जारी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम आफैँ केही दिनअघि झ्यारी क्षेत्रमा पुगेर श्रमदानमा सहभागी भएका थिए ।
सडक खुलाउने क्रममा श्रमदान गर्दागर्दै नगरप्रमुख भाम घाइतेसमेत भएका थिए । लामो समयदेखि सडक अवरुद्ध हुँदा दैनिक जीवन नै प्रभावित हुन थालेपछि स्थानीयले तत्काल सडक सञ्चालन गरी खाद्यान्न, ग्यासलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्ति व्यवस्था मिलाउन माग गरेका छन् ।
