नेपाल र चीनको सिमाना हिल्सा नाकाबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने पर्यटकको समूहले आफ्नो यात्रा रद्द गरेको छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीकै कारण ती पर्यटकको समूहले हिल्साबाट गर्ने यात्रा पनि रद्द गरेको हो ।
भोटेकोशी बाढीकै त्रासको कारण आफ्नो यात्रा तय गरिसकेका नौ वटा समूहद्वारा हिल्साबाट यस पटकको मानसरोवर कैलाश यात्रा रद्द गरिएको रिचा ट्रेकका हुम्ला हेर्ने पर्यटन ब्यवसायी बिष्णु बहादुर रावतले जानकारी दिए ।
यात्राको मितिसमेत तय गरिसकेका ती समूहले भोटेकोशी बाढीले पुर् याएको क्षतिबाट त्रसित भएर यात्रा रद्द गरेका हुन् । यसबाट डेढ सय जना मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकले यात्रा रद्द गरेका छन् ।
यी समूह टच कैलाश, कैलाश भिजन, कैलाश ट्रेक, रिचा ट्रेकलगायत ट्राभल्स एजेन्सी रहेका छन् । यो क्रम जारी रहेकाले यसरी कैलाश मानसरोवर यात्रा गर्ने पर्यटकको समूह बढ्ने देखिएको छ । बाढीको त्रासले हुम्लाको पर्यटन क्षेत्र पनि प्रभावित भएको छ ।
