२०८३ साउन १६ , शनिबार 1, August 2026, Saturday
सामाजिक विचलन

छोटिँदै वैवाहिक जीवनको आयु

विवाह गरेको एक–दुई हप्तामै सम्बन्धबिच्छेद गर्नेदेखि ८० वर्षको उमेरमा पनि छुट्टिन पछि नपर्ने दम्पतीको तथ्यांकले मुलुकको संघीय राजधानीको बदलिँदो सामाजिक आयाम छर्लङ्ग पार्छ ।
सविना देवकोटासविना देवकोटा । काठमाडौं । २०८३ साउन १६ गते शनिबार

धुमधामले विवाह गरेकी काठमाडौँकी संगीता लामाको वैवाहिक जीवन जम्माजम्मी दुई साता पनि टिकेन । दुई परिवारको सहमतिमा कुरा छिनेर जीवनसाथी रोजेकी २२ वर्षीया संगीताले विवाहको १३ दिनमै श्रीमानसँग सम्बन्धबिच्छेद गरिन् । र यति चाँडै वैवाहिक जीवन तोड्ने यस्तो निर्णय गरेकोमा उनलाई पछुतो छैन । ‘सबै कुरा थाहा पाइसकेपछि मैले यो सम्बन्ध जोगाउन आवश्यक ठानिन,’ संगीता भन्छिन्, ‘अनि (श्रीमानलाई) छाडेँ ।’

‘सात जुनी सँगै बिताउने’ कसम खाएर विवाह–बन्धनमा बाँधिने नेपाली समाजमा वैवाहिक जीवनको आयु कुन रफ्तार र परिमाणमा घटिरहेको छ भनेर देखाउने यो एक दृष्टान्त हो । विवाह गरेको दुई साता नबित्दै सम्बन्धबाट अलग्गिने निर्णयमा पुग्न संगीतालाई जे कारणले बाध्य पारेको थियो, उनी जस्तै सम्बन्धबिच्छेदको निर्णय गरिरहेका अरूका पनि आ–आफ्नै कारण छन् ।

जे भए पनि यसले हाम्रो समाजमा झन् पछि झन् बढिरहेको सम्बन्धबिच्छेदको त्यो तस्वीर देखाइरहेको छ जुन करिब चार दशक अघिसम्म दुर्लभ मात्र होइन, एक हिसाबले वर्जित जस्तै थियो । सर्वोच्च अदालतको वार्षिक प्रतिवदेन २०८१–०८२ अनुसार २०४२ सालमा नेपालभर सम्बन्धबिच्छेदका २१ वटा मात्र मुद्दा दर्ता भएका थिए । चार दशकपछि, २०८१ सालमा यस्ता मुद्दा २६ हजार ४३६ पुगेका छन् ।

सर्वोच्चको वार्षिक प्रतिवेदन अनुसार काठमाडौँ जिल्ला अदालतमा सम्बन्धबिच्छेदका मुद्दा निरन्तर बढिरहेका छन् । आर्थिक वर्ष (आव) २०७०–०७१ मा दुई हजार १०८ मुद्दा दर्ता भएकामा २०८१–०८२ मा यो संख्या बढेर ६ हजार ३८३ पुगेको छ । अर्थात् करिब एक दशकमै सम्बन्धबिच्छेदका नयाँ मुद्दा तीन गुणाभन्दा धेरै पुगेका छन् । विवाह दर्ताको आँकडासँग तुलना गर्दा वैवाहिक सम्बन्धमा आएको यस्तो परिवर्तन अझ स्पष्ट देखिन्छ ।

२०७२ सालमा एक सय जोडीले विवाह–दर्ता गर्दा एउटा सम्बन्धबिच्छेदको घटना मात्र पञ्जीकरण कार्यालयमा दर्ता हुन्थ्यो । २०८१ सालसम्म आइपुग्दा सम्बन्धबिच्छेद गर्ने यो अनुपात १० पुगेको छ । उच्च जनघनत्व र शहरीकरणको केन्द्र मानिने काठमाडौँमा यो दर अझै बढी छ । पञ्जीकरण विभागको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१–०८२ मा काठमाडौँ जिल्लामा १०० जोडीले विवाह दर्ता गर्दा १७ जोडीले सम्बन्धबिच्छेदको घटना दर्ता गराए ।

जबकि २०७८–०७९ मा यस्ता जोडीको संख्या छ मात्र थियो । अर्थात्, विगत चार वर्षमा काठमाडौँमा सम्बन्धबिच्छेद गर्ने दर करिब तीन गुणाले बढेको छ । काठमाडौँका सबै ठाउँमा यो वृद्धि समान भने छैन । जस्तो, बुढानीलकण्ठ नगरपालिकामा यो सबैभन्दा बढी छ । यहाँ आर्थिक वर्ष २०८१–०८२ मा सरदर १०० जोडीको विवाह दर्ता हुँदा सम्बन्धबिच्छेदका २१ वटा घटना दर्ता भएका थिए । २०८१–०८२ मा काठमाडौँ महानगरपालिकामा यो अनुपात १९.३७ थियो ।

बुढानीलकण्ठ नगरपालिकाभित्र वडा नम्बर ५ मा यो दर सबैभन्दा बढी देखिन्छ जहाँ २०८१–०८२ मा औसतमा प्रति १०० विवाह दर्ता हुँदा ४१ वटा सम्बन्धबिच्छेदका घटना दर्ता भएका थिए । संख्यामा हेर्दा चाहिँ त्यस वर्ष यहाँ १७ वटा विवाह दर्ता हुँदा सम्बन्धबिच्छेदका सात वटा घटना दर्ता भएको देखिन्छ । सम्बन्धबिच्छेदका सबैभन्दा धेरै अर्थात् २३ वटा घटना चाहिँ वडा नम्बर १० मा दर्ता भएका थिए ।

बुढानीलकण्ठ–५ का वडाध्यक्ष कृष्ण शाह ठकुरी भने वडामा विवाह, सम्बन्धबिच्छेद जस्ता घटना दर्ता गर्ने परिपाटी नबसेको बताउँछन् । ‘हाम्रो क्षेत्रमा तामाङ र दलित समुदायको बस्ती धेरै छ,’ ठकुरीले भने, ‘विवाहलाई औपचारिक दर्ताभन्दा पनि सामाजिक सम्बन्धका रूपमा बुझ्ने चलन धेरै छ ।’ गरिबी, अशिक्षा र प्रशासनिक प्रक्रियाले गर्दा यस्ता घटना दर्ता गर्ने बानी नलागेको ठकुरी बताउँछन् ।

उनको यस्तो भनाइले सम्बन्धबिच्छेदका धेरै घटना दर्ता नै नहुने र त्यसको खास आँकडा जानकारीमै नआउने देखाउँछ । काठमाडौँ महानगरपालिका समेत यस्तो अवस्थाबाट पृथक् देखिएन । देशका विभिन्न ठाउँबाट भएको बसाइसराइ, महिलाको बढ्दो आर्थिक सहभागिता, शिक्षा, शहरीकरण बढेपछि शहरको सामाजिक बनोट फेरिएको छ । त्यसमाथि काठमाडौँ महानगरको सामाजिक बनोट त धेरै नै फेरिएको छ ।

समाजशास्त्री एन्ड्रयू जे चेर्लिनले बैबाहिक सम्बन्धबारे आफ्नो अध्ययनमा लेखेका छन्, ‘पहिले विवाह सामाजिक बन्धनका रूपमा बलियो थियो । अहिले यो व्यक्तिगत चाहना र आत्मसन्तुष्टिसँग जोडिएको छ । विवाहमा श्रीमान्–श्रीमतीको भूमिका, परिवारको अपेक्षा र सामाजिक नियम कडा र स्पष्ट थिए । तर अहिले ती नियम कमजोर हुँदै गएका छन् ।’

उनका अनुसार शहरले सम्बन्धबिच्छेद नै त गराउँदैन, तर व्यक्तिगत स्वतन्त्रता, आर्थिक अवसर, महिलाको रोजगारी, शिक्षा र बदलिँदो सामाजिक मान्यताले सम्बन्धबिच्छेदका लागि अनुकूल वातावरण सिर्जना गरिदिन्छ । हुन पनि काठमाडौँ जस्ता शहरमा वैवाहिक सम्बन्ध कतिसम्म दुर्बल बनेको छ भने केही दम्पतीले विवाह गरेको केही हप्तामै सम्बन्ध टुंग्याइरहेका छन् भने केहीले दशकौँ सँगै बिताएर बुढेसकालमा छुट्टिने निर्णय गरिरहेका छन् ।

हामीले ८० वर्ष पार गरेपछि सम्बन्धबिच्छेद गरेका वयोवृद्ध जोडी नै फेला पार्न त सकेनौँ, तर स्थानीय तहका पञ्जीकरण शाखामा काम गर्ने कर्मचारीका अनुभवबाट त्यो अवस्था आकलन गर्ने अवसर पायौँ । काठमाडौँ महानगरपालिकाको पञ्जीकरण शाखाका अनुसार विगत १० वर्षमा महानगरमा प्रति १०० विवाह दर्तामा सम्बन्धबिच्छेदको घटना दर्ता दर तीव्र गतिमा बढिरहेको छ । अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा यो दर औसत करिब तीन गुणाले बढेको छ ।

२०७३–०७४ मा औसतमा १०० वटा विवाह दर्ता हुँदा चार वटा सम्बन्धबिच्छेदका घटना दर्ता हुने गरेकोमा २०८१–०८२ मा यो अनुपात काठमाडौँ महानगरभित्र २० पुगेको देखिन्छ । त्यस्तै, काठमाडौँ महानगरका वडा नम्बर १६ र ६ मा विगत ६ वर्षयता दर्ता भएका सम्बन्धबिच्छेदका घटना बढेका छन् । वडा नम्बर १६ मा २०८२–०८३ मा ६७ जनाले सम्बन्धबिच्छेदका घटना दर्ता गरेका थिए । यस वर्ष दर्ता भएका विवाह र सम्बन्धविच्छेदका घटनाको अनुपात भने वडा नम्बर ८ मा सबैभन्दा बढी ३३ थियो ।

 

 

 

 

 

 

 

 

 

 

काठमाडौँ–१६ बाट सम्बन्धबिच्छेद नियाल्दा

काठमाडौँ महानगरपालिकाको सबैभन्दा ठूलो वडा हो वडा नम्बर १६ जहाँ २२ हजार ७१५ घरमा ८४ हजार ७७१ मानिस बस्छन् । यो वडामा २०७२ सालदेखि २०८३ असारसम्म ३३८ जोडी अर्थात् ६७६ जनाले सम्बन्धबिच्छेदको घटना दर्ता गरेका थिए । आँकडा र घटनाक्रम केलाउँदा सम्बन्धबिच्छेद वैवाहिक जीवनको सक्रिय चरणमा बढी हुने गरेको देखिन्छ । यस अवधिमा सबैभन्दा धेरै ३०–३९ वर्ष उमेरसमूहका व्यक्ति अर्थात् २६४ जनाले सम्बन्धबिच्छेद गरेका छन् । त्यसपछि २०–२९ उमेर समूहका १७१ जनाले सम्बन्धबिच्छेद गरेका छन् ।

तर सम्बन्धबिच्छेदलाई उमेरको सीमाले मात्र नछेक्ने रहेछ । जस्तो, वडा नम्बर १६ मा ८२ वर्षको उमेरमा समेत एक जनाले सम्बन्धबिच्छेद गरेका छन् । हामीले ती व्यक्तिसँग कुरा गर्ने प्रयास गर्यौँ, तर सफल भएनौँ । त्यस्तै, ५०–५९ वर्ष उमेरका ६२ जना र ६०–६९ उमेर समूहका १५ जनाले सम्बन्धबिच्छेद गरेका छन् । वडागत अभिलेखले सम्बन्धबिच्छेदबारे रोचक कुरा बताएको छ, सम्बन्धबिच्छेद दर्ता भएको वर्षलाई आधार मानेर ‘फलानो वर्ष सम्बन्धबिच्छेद बढ्यो’ भन्नु तथ्यपरक नहुन सक्छ । किनभने सबैले अदालतबाट सम्बन्धबिच्छेदको फैसला भएकै वर्ष वडा कार्यालयमा घटना दर्ता गराउँदैनन् ।

अभिलेखअनुसार एक व्यक्तिले त सम्बन्धबिच्छेद भएको ३३ वर्षपछि मात्र वडा कार्यालयमा घटना दर्ता गराएका थिए । १२० जनाले सम्बन्धबिच्छेद भएकै वर्ष, ५१ जनाले एक वर्षपछि, ३० जनाले दुई वर्षपछि, १७ जनाले तीन वर्षपछि, १८ जनाले चार वर्षपछि र १० जनाले १३ वर्षपछि सम्बन्धबिच्छेदको घटना दर्ता गराएको देखिन्छ । काठमाडौँ महानगरपालिकाको पञ्जीकरण शाखा प्रमुख अब्दुल माजिद खानका अनुसार अदालतबाट सम्बन्धबिच्छेद गराएका अधिकांश जोडी वडा कार्यालयमा सम्बन्धबिच्छेदका घटना दर्ता गर्नै आउँदैनन् ।

अंशबण्डा, वैदेशिक रोजगार, राष्ट्रिय परिचयपत्र वा अन्य प्रशासनिक कामका लागि कागज नचाहिँदासम्म सम्बन्धबिच्छेदका घटना दर्ता गर्न ध्यानसमेत नदिने गरेको देखिन्छ । यहाँनिर ध्यान दिनुपर्ने अर्को कुरा पनि छ । जस्तो, सम्बन्धबिच्छेदका मुद्दा एउटा जिल्लामा चल्ने र त्यसको घटना दर्ता अर्को जिल्लामा पनि हुने गर्छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा सम्बन्धबिच्छेदका घटना दर्ता गरेका ३३८ जोडीमध्ये ३१० जोडीको सम्बन्धबिच्छेद काठमाडौँ जिल्ला अदालतबाट भएको थियो ।

बाँकीमध्ये ललितपुर जिल्ला अदालतबाट १३, झापाबाट चार, मोरङबाट दुई तथा काभ्रेपलान्चोक, कास्की, धादिङ, नवलपरासी (पूर्व), पाल्पा, मकवानपुर, म्याग्दी, सर्लाही र सुनसरीबाट एक–एक वटा मुद्दा फैसला भएका थिए । सम्बन्धबिच्छेद गरेका ३३८ जोडीमध्ये ७५ जोडी (करिब २२ प्रतिशत)ले अन्तरजातीय विवाह गरेका थिए । वडा नम्बर १६ मा सम्बन्धबिच्छेद गरेका ६७६ जनाको जातीय विवरण हेर्दा नेवार समुदायका ११५, क्षेत्री–ठकुरीका १६२, जनजाति समुदायका १२५ र ब्राह्मण ११४ जना छन् । दलित १३, मुस्लिम ११ र मधेशी समुदायबाट पाँच जनाले सम्बन्धबिच्छेद गरेका छन् ।

अदालतको यो दृश्य

काठमाडौँ जिल्ला अदालतको प्राङ्गणमा एकातिर ‘कोर्ट म्यारिज’ गर्न सजिएका जोडीहरूको भिडभाड हुन्छ, अर्को कुनामा सम्बन्ध अन्त्य गर्न आएका दम्पती चुपचाप आफ्नो पालो पर्खिरहेका हुन्छन् । काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश चुरामन खड्काका अनुसार काठमाडौँमा दिनैपिच्छे औसत १२ देखि १४ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता हुन्छन् । गत असार ३१ देखि साउन ६ गतेसम्मको पाँच दिने पेशी सूचीमा मात्र कूल ६९ वटा सम्बन्धबिच्छेदका मुद्दा थिए ।

तर, अदालत पुगेका सम्बन्धबिच्छेदका सबै मुद्दा झगडामा परिणत हुँदैनन् । जस्तो, यो रिपोर्ट तयार पार्नेक्रममा विश्लेषण गरिएका ६९ वटा मुद्दामध्ये २८ वटा अर्थात् करिब ४१ प्रतिशत मुद्दा मिलापत्र (सम्बन्धबिच्छेद गर्ने आपसी सहमति) बाट टुंगिएका थिए । यसले अदालत पुगेका अधिकांश दम्पतीले लामो कानूनी प्रक्रिया भन्दा आपसी सहमतिमै सम्बन्ध अन्त्य गर्न रुचाएको संकेत गर्छ ।

‘सामान्यतः सम्बन्धबिच्छेदका मुद्दामा एकपटक मेलमिलापमा पठाउनैपर्ने नियम छ,’ काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश खड्काले भने, ‘अक्सर दम्पतीले आबेगमा सम्बन्धबिच्छेदको निर्णय गरेका हुन्छन् । त्यसैले एक वर्षमा पटक–पटक मेलमिलापको प्रयास गरिन्छ । कतिपय दम्पतीले मुद्दा फिर्ता लिएर पुनः सँगै बस्ने निर्णय पनि गरेका छन् ।’ अदालतको पेशी सूचीले अर्को सामाजिक आयाम पनि देखाउँछ । हामीले यो रिपोर्ट तयार पार्नेक्रममा विश्लेषण गरेका ६९ मुद्दामध्ये २३ वटा अन्तरजातीय विवाहसँग सम्बन्धित छन् ।

अर्थात् अदालत पुगेका सम्बन्धबिच्छेदका एक तिहाइ मुद्दा लड्ने जोडीले अन्तरजातीय विवाह गरेका थिए । काठमाडौँ जिल्ला अदालतको फिराद शाखाका कर्मचारीहरूका अनुसार सम्बन्धबिच्छेदका मुद्दा प्रायः महिलाले दायर गरेका छन् । त्यस्तै, हामीले विस्तृतमा अध्ययन–विश्लेषण गरेका पेशी सूचीका ६९ मुद्दामध्ये १० वटामा मात्र अंश दाबी गरिएको थियो । यसरी सम्बन्धविच्छेद बढ्नुको एउटा कारण छलछाम गरेर बिहे गराउनु पनि देखिन्छ । जस्तो, विवाह गरेको १३ दिनमै सम्बन्धबिच्छेद गरेकी काठमाडौँकी २२ वर्षीया संगीता लामाका अनुसार उनका श्रीमानको अन्तरजातीय महिलासँग पहिल्यै प्रेमसम्बन्ध रहेछ ।

ती महिलासँग बिहे नगरोस् भनेर उनका परिवारले संगीतासँग जबरजस्ती विवाह गर्न लगाएका रहेछन् । विवाहलगत्तै संगीतालाई सबै कुरा थाहा भएपछि उनलाई सम्बन्ध कायम राख्न मन भएन । उनले भनिन्, ‘बुढाले पहिल्यै गुपचुप गर्लफ्रेन्डसँग घरजम गरिसकेको थाहा पाएपछि मैले सम्बन्ध जोगाउन आवश्यक ठानिनँ, अनि छाडेँ ।’ मनोविद् प्रतिज्ञा गौतमका अनुसार कैयौँ महिला घरेलु हिंसाबाट छुटकारा पाउनलाई पनि सम्बन्धविच्छेद गर्छन् । गौतम भन्छिन्, ‘सम्बन्धबिच्छेदले महिलालाई आफ्नो आवश्यकता र स्वतन्त्रताको महत्त्व पनि सिकाएको छ ।’

काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश चुरामन खड्काको अनुभव पनि योसँग मिल्दोजुल्दो छ । सम्बन्धबिच्छेद गराइपाऊँ भनेर मुद्दा हालेका झन्डै ९० प्रतिशत महिलाले अंश दाबी नै नगरेको उनले बताए । खड्काका अनुसार विवाहअघि नै दम्पतीलाई सम्बन्ध कसरी कायम राख्ने भन्ने विषयमा परामर्श दिनु आवश्यक छ । ‘नत्र भविष्यमा विवाह भन्दा बढी सम्बन्धबिच्छेद गर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

स्रोत : खोज पत्रकारिता केन्द्र
प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार