कृत्रिम बौद्धिकता अर्थात् एआईको विश्वव्यापी दौडमा भारतलाई अग्रपंक्तिमा राख्न सकिँदैन । अत्याधुनिक एआई चिप उत्पादन, विश्वस्तरीय मोडेल विकास वा विशाल कम्प्युटिङ क्षमताको निर्माणमा अमेरिका र चीनजस्ता मुलुकसँग भारतको प्रतिस्पर्धा अझै कमजोर छ । तर एआईको यो दौडले भारतलाई अर्को बाटोबाट भने ठूलो आर्थिक अवसर दिइरहेको छ । त्यो अवसर हो, एआईका लागि आवश्यक पूर्वाधार ।
एआई जति शक्तिशाली बन्दै जान्छ, त्यसका लागि त्यति नै ठूलो डाटा सेन्टर, बढी विद्युत्, तीव्र गतिको इन्टरनेट, अत्याधुनिक कुलिङ प्रणाली, फाइबर–अप्टिक केबल, ट्रान्सफर्मर, स्विचगियर र अन्य विद्युतीय उपकरण आवश्यक पर्छन् । यही ठाउँमा भारतले आफ्नो औद्योगिक क्षमता प्रयोग गरिरहेको छ । पश्चिम भारतस्थित स्टरलाइट टेक्नोलोजीजको कारखानामा चौबीसै घण्टा फाइबर–अप्टिक केबल उत्पादन भइरहेको दृश्य यसको एउटा उदाहरण हो ।
कम्पनीका प्रबन्ध निर्देशक अङ्कित अग्रवालले एआई पूर्वाधार विस्तारलाई ‘जीवनमा एकपटक आउने अवसर’का रूपमा व्याख्या गरेका छन् । विश्वका ठूला प्रविधि कम्पनीहरूको माग बढ्दै जाँदा भारतीय कम्पनीहरूको व्यवसायको स्वरूप नै परिवर्तन हुन थालेको उनको भनाइ छ । यसलाई अर्थशास्त्रमा प्रचलित ‘पिक एन्ड शोभल’ रणनीतिसँग तुलना गर्न सकिन्छ । सुनको खानीमा सुन खोज्ने सबैभन्दा धनी हुन्छन् भन्ने छैन, कहिलेकाहीँ सुन खोज्नेहरूलाई आवश्यक पर्ने कुटो–कोदालो बेच्नेहरू नै बढी लाभमा हुन्छन् ।
एआईको विश्वव्यापी प्रतिस्पर्धामा भारत अहिले केही हदसम्म यही भूमिकामा देखिन्छ । भारतले एआईको मूल प्रविधिमा विश्व नेतृत्व नगरे पनि एआई सञ्चालन गर्न आवश्यक पूर्वाधार उत्पादनमा आफ्नो स्थान बलियो बनाउँदैछ । फाइबर–अप्टिक केबलदेखि ट्रान्सफर्मर, स्विचगियर, कुलिङ प्रणाली र विद्युत् उपकरणसम्मका भारतीय उत्पादकले विश्वव्यापी डाटा सेन्टर विस्तारको मागबाट प्रत्यक्ष लाभ लिइरहेका छन् ।
स्टरलाइट टेक्नोलोजीजले अमेरिकी एक हाइपरस्केल क्लाउड सेवा प्रदायकसँग एक अर्ब १० करोड अमेरिकी डलर बराबरको बहुवर्षीय सम्झौता गर्नु यसको स्पष्ट संकेत हो । सम्झौतापछि कम्पनीको शेयर मूल्य चार गुणाभन्दा बढी बढ्नुले लगानीकर्ताले एआई पूर्वाधारको सम्भावनालाई कसरी हेरेका छन् भन्ने देखाउँछ । एचएफसीएल लगायतका कम्पनीको व्यवसायमा देखिएको वृद्धि पनि यही प्रवृत्तिको अर्को उदाहरण हो । एआईसम्बन्धी पूर्वाधारको मागलाई कम्पनीका संस्थापक महेन्द्र नाहटाले ‘सुनामी’सँग तुलना गरेका छन् ।
मागको यस्तो गति केवल एउटा उद्योगका लागि मात्र अवसर होइन, विद्युत्, दूरसञ्चार, इन्जिनियरिङ, निर्माण र ऊर्जा उपकरणसँग सम्बन्धित सम्पूर्ण औद्योगिक क्षेत्रका लागि नयाँ बजार सिर्जना गर्ने सम्भावना हो । तर एआई पूर्वाधारको यो सुनौलो अवसर जोखिमरहित भने छैन । डाटा सेन्टर सञ्चालन गर्न ठूलो मात्रामा विद्युत् र पानी आवश्यक पर्छ । त्यसैले वातावरणीय प्रभाव, ऊर्जा उपलब्धता र पानीको स्रोतलाई लिएर विश्वभर प्रश्न उठिरहेका छन् । उच्च मूल्याङ्कन र अन्तर्राष्ट्रिय परियोजनामा देखिन थालेका ढिलाइले पनि यस क्षेत्रमा लगानी गर्ने कम्पनीका लागि जोखिम बढाउन सक्छ ।
सन् २०२६ को पहिलो त्रैमासिकमा अमेरिकामा मात्रै करिब एक खर्ब ३० अर्ब अमेरिकी डलर बराबरका कम्तीमा ७५ डाटा सेन्टर परियोजना ढिलाइ वा अवरुद्ध भएको १० ए ल्याब्सको तथ्याङ्कले देखाउँछ । यसले एआई पूर्वाधारको माग जति तीव्र भए पनि परियोजना कार्यान्वयन आफैंमा ठूलो चुनौती रहेको देखाउँछ । भारतका लागि भने सबैभन्दा ठूलो बल आन्तरिक बजार हुन सक्छ । भारतमा विश्वको ठूलो हिस्सा डाटा होस्ट भए पनि विश्वव्यापी डाटा सेन्टर क्षमतामा उसको हिस्सा अझै पाँच प्रतिशतभन्दा कम छ ।
यसको अर्थ भारतमा विस्तारको ठाउँ निकै ठूलो छ । अमेरिकी हाइपरस्केल कम्पनीहरूले भारतमा नयाँ डाटा सेन्टर पूर्वाधारका लागि करिब ५७ अर्ब अमेरिकी डलर लगानी प्रतिबद्ध गर्नु र अडानी समूह तथा रिलायन्स इन्डस्ट्रिजले डिजिटल तथा पूर्वाधार क्षेत्रमा ठूलो लगानी घोषणा गर्नुले यही सम्भावनातर्फ संकेत गर्छ । सिफी इन्फिनिट स्पेसको विस्तार पनि उल्लेखनीय छ । कम्पनीले हाल १६ वटा डाटा सेन्टर सञ्चालन गरिरहेको छ भने थप केन्द्र निर्माण गरिरहेको छ । स्थानीय जलस्रोतमा पर्ने प्रभाव कम गर्न ‘क्लोज्ड–लूप वाटर कुलिङ’ जस्ता प्रविधिको प्रयोगले भारतले विस्तारसँगै वातावरणीय चुनौतीलाई सम्बोधन गर्ने प्रयास गरिरहेको देखिन्छ ।
तर एउटा प्रश्न यहाँ पनि छ, भारतले यति ठूलो पूर्वाधार विस्तारलाई धान्न सक्ला ? हाइपरस्केल स्तरको एक गिगावाट कम्प्युटिङ क्षमता विकास गर्न मात्रै करिब पाँच अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने अनुमान छ । यसको अर्थ एआई पूर्वाधारको दौड प्रविधिको दौड मात्रै होइन, पूँजी, ऊर्जा, जमिन, पानी र आपूर्ति शृङ्खलाको पनि दौड हो । भारतसँग ठूलो बजार छ, औद्योगिक आधार छ र विदेशी लगानी आकर्षित गर्ने क्षमता पनि छ । त्यसैले एआईको मूल प्रविधिमा पछि परे पनि त्यसको पूर्वाधार निर्माणबाट आर्थिक लाभ उठाउने सम्भावना भारतसँग प्रशस्त छ ।
तर यही अवसरलाई दीर्घकालीन औद्योगिक शक्तिमा बदल्न भारतले केवल केबल र उपकरण बेचेर पुग्दैन । उसले ऊर्जा प्रणाली, चिप निर्माण, उन्नत कम्प्युटिङ, कुलिङ प्रविधि र एआई हार्डवेयरको सम्पूर्ण आपूर्ति शृङ्खलामा आफ्नो क्षमता विस्तार गर्नुपर्नेछ । एआईको दौडमा विजेता त्यो मात्र होइन, जसले सबैभन्दा शक्तिशाली मोडेल बनाउँछ । कहिलेकाहीँ विजेता त्यो पनि हुन सक्छ, जसले ती मोडेल चलाउन आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्छ । भारत अहिले यही दोस्रो बाटोमा तीव्र गतिले अघि बढिरहेको छ ।
