बहुचर्चित राहदानी अनियमितता मुद्दाका प्रमुख आरोपी तथा जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेण्ट सिद्धार्थ थापा विशेष अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनलाई कुनै पनि धरौटी नलिई साधारण तारेखमा छोड्न आदेश दिएको हो । यसअघि प्रहरीले उनीविरुद्ध गैरकानूनी लाभहानी अन्तर्गत १० अर्ब १३ करोड चार लाख ६१ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
गत असार २ गते राहदानी विभागका महानिर्देशक तीर्थ अर्यालसँगै पक्राउ सूचीमा रहेका थापा ‘छोरीको बर्थ डे’ भन्दै विदेश गएका थिए । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य सुनीलबहादुर थापाका छोरा रहेका सिद्धार्थमाथि ई–पासपोर्ट खरिद प्रक्रियामा आदेशको दुरुपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोप छ ।
प्रतिस्पर्धात्मक टेण्डर आह्वान नगरी पुरानै आपूर्तिकर्ता थापासँगको सम्झौता थप गर्दा राज्यलाई घाटा पुगेको दाबी गरिएको छ । राहदानी विभागले पाँच वर्षका लागि ई–पासपोर्ट खरिद गर्न २०८१ मंसिरमा डेढ महिनाको छोटो अवधि तोकेर निकालेको टेण्डर प्रारम्भिक चरणबाटै विवादमा तानिएको थियो ।
सत्यपाटी