२०८३ साउन १७ , आइतबार 2, August 2026, Sunday

आजबाट विश्व स्तनपान सप्ताह प्रारम्भ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ साउन १६ गते शनिबार

विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताह मनाउन लागिएको हो । सन् १९९२ देखि प्रत्येक वर्ष अगस्ट १ तारिखदेखि मनाउँदैं आएको विश्व स्तनपान दिवस १ अगष्टबाट एक हप्तासम्म मनाइन्छ ।

विश्वभरका विभिन्न देशहरुजस्तै नेपालले पनि विगत लामो समयदेखि यो दिवसलाई आत्मसात गर्दै सोही अनुरुप विभिन्न कार्यक्रम गरेर मनाइदैं आएको हो । विश्व स्तनपान सप्ताह २०२६ को आधिकारिक नारा ‘जीवनको दिगो सुरुआतका लागि स्तनपान : प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔँ’ रहेको छ ।

यस वर्षको अभियानले स्तनपान प्रवद्र्धनका लागि भएका प्रयासहरूको प्रभाव मूल्याङ्कन गर्ने, प्रगतिलाई नियमित रूपमा अनुगमन गर्ने तथा समुदाय र स्वास्थ्य प्रणालीमा सफल भएका कार्यक्रमलाई अझ व्यापक रूपमा विस्तार गर्ने विषयमा विशेष जोड दिएको छ ।

अभियानले मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि प्रमाणित र प्रभावकारी अभ्यासलाई सुदृढ बनाउँदै दीर्घकालीन रूपमा स्तनपान प्रवद्र्धन गर्न सबै सरोकारवालालाई आह्वान गरेको छ । सरकारले स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न तथा सबै प्रकारका कुपोषण न्युनीकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहहरुमा स्तनपान कक्षको स्थापना समेत गरिएको छ । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन र आमालाई प्रेरित गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र युनिसेफको सहाकर्यमा हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ ।

भर्खरै जन्मेको शिशुको लागि आमाको दूध नै सबथोक हुन्छ । शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको जन्मसिद्ध अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई पनि हुन्छ । सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ ।

तर यो बिगौती दूधलाई फोहोर दूध भनेर धेरैले फाल्ने पनि गरेका छन् । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टा भित्र स्तनपान सुरु गरिसक्नु पर्ने र छोटो–छोटो अवधिमा आमाको दूध खुवाउनु बच्चाको लागि अतिउत्तम हुने स्त्रीरोग विशेषज्ञहरु बताउछन् ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार