सूचनाको शक्ति - The Power Of Information

        


‘सत्य, निश्पक्ष र खोजमूलक पत्रकारिता’


सत्यपाटीले सधैं सत्य, निश्पक्ष र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता सम्प्रेषण गर्छ । सबै राजनीतिक दल, व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररूपमा अघि बढाउनु सत्यपाटी अनलाइन पत्रिकाको विशेषता हो । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सत्यपाटीले कहिल्यै कसैसँग सम्झौता गर्दैन ।

जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् सत्यपाटीले सशक्त उपस्थिति जनाएको छ । जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन । नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्छौं । हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिच्किचाहट उजागर गर्छौ । हामी प्रलोभनमा परेर नराम्रोलाई राम्रो र पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्दैनौं ।

जो कसैले गरेको भए पनि राम्रो कामलाई राम्रो भन्छौं अनि जो कसैले गरेको किन नहोस्, नराम्रो काम छ भने नराम्रो नै भन्छौं । पेशाप्रतिको निष्ठाका कारण जे, जे हो त्यो भन्ने नैतिक बल हामीसँग छ । पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको विस्तृत जवाफ खोज्छौं । के भयो मात्र हैन, हामी तिनको पृष्ठभूमि र तिनबारे विश्लेषण प्रस्तुत गरी अब के हुँदैछ भन्ने आँकलन पनि गर्छौं ।

त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उम्दा ठहरिन सकेका छौं । हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनै पनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ । त्यसैले हाम्रो विश्वास छ, तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग सदा जोडिइरहनु हुनेछ ।