बजारमा अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बुधबारदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो ।
संघका सचिव मदन पोखरेलका अनुसार अण्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढाइएको छ । नयाँ मूल्यअनुसार उपभोक्ताले ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ तथा मिडियम अण्डा दुईवटाको ४५ रुपैयाँ तिर्नुपर्नेछ ।
संघले सबैभन्दा ठूलो अर्थात् एक्सएल अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी चार हजार ३०० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, ठूलो अण्डाको मूल्य प्रतिपेटी चार हजार २०० रुपैयाँ तोकिएको सचिव पोखरेलले जानकारी दिए ।
नयाँ मूल्य अनुसार एक्सएल अण्डाको खुद्रा मूल्य प्रतिक्रेस ६१५ रुपैयाँ पुगेको छ भने मिडियम अण्डाको मूल्य प्रतिक्रेस ६०० रुपैयाँ कायम गरिएको छ । संघले बजारको अवस्थालाई ध्यानमा राख्दै अण्डाको मूल्य समायोजन गरिएको जनाएको छ ।
