पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल अहिले संरक्षण र उचित रेखदेखको अभावमा झाडी र बुट्यानले घेरिँदै गएको छ । ताल वरिपरि बनाइएका संरचना जीर्ण बन्दै गएका छन् । कतिपय रेलिङ भत्किएका छन् भने नियमित सरसफाइ र रेखदेख नहुँदा ताल क्षेत्रको सौन्दर्यसमेत घट्दै गएको स्थानीयवासीको गुनासो छ ।
स्थानीय राहिल किंघरियाले सम्भावना बोकेको पर्यटकीय क्षेत्र कान्तिताल निर्माणका क्रममा ठुलो रकम खर्चिए पनि त्यसपछि संरक्षणमा पर्याप्त ध्यान नदिइएकाले जीर्ण बन्दै गएको बताए । ‘सौन्दर्य बढाउन बनाइएका रेलिङ भत्किएका छन् । तालको सुरक्षा र संरक्षणबारे सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ भएन,’ उनले भने ।
कान्तिताल सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकालाई वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने गरी ठेक्का लिएका स्थानीय फनबहादुर गुरुङले ताल क्षेत्रमा रहेका रेलिङ लागुऔषध प्रयोगकर्ताबाट तोडफोड भएको हुन सक्ने बताए । उनका अनुसार रेलिङ कसरी र कसले तोडफोड गरेको हो भन्ने विषयमा वास्तविकता खोजी गर्न आवश्यक छ ।
ताल क्षेत्रको संरक्षण र सुरक्षाका लागि स्थानीय तह तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने उहाँको भनाइ छ । नेपालगन्जको प्रमुख पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनासहित विसं २०७५ मा कान्तिताल संरक्षण तथा पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो । त्यस क्रममा उपमहानगरपालिकाले ताल संरक्षण तथा पूर्वाधार निर्माणमा १० करोड रुपैयाँ खर्च गरेको थियो ।
तर, ठुलो लगानीपछि पनि नियमित संरक्षण र व्यवस्थापन हुन नसक्दा अहिले लगानीको उपलब्धिमाथि नै प्रश्न उठ्न थालेको छ । स्थानीय रमेश बर्माका अनुसार ताल वरिपरि बढ्दै गएको झाडीले प्राकृतिक सौन्दर्यमा असर पारेको छ । लामो समयसम्म सरसफाइ र आवश्यक मर्मत नहुँदा पूर्वाधारसमेत बिस्तारै कमजोर हुँदै गएका छन् ।
स्थानीयवासीका अनुसार ताल क्षेत्रमा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानसमेत रहेकाले यसको संरक्षण पर्यटनका लागि मात्र नभई जैविक विविधता र वातावरणीय दृष्टिले पनि महत्त्वपूर्ण छ । तर, अहिले तालको वातावरणमा अर्को चुनौती पनि थपिएको स्थानीयवासी बताउँछन् । रातको समयमा शङ्कास्पद गतिविधि हुने र लागुऔषध प्रयोगकर्ताको जमघटसमेत हुने गरेको उनीहरूको गुनासो छ । यसले तालको सौन्दर्य र पर्यटन सम्भावनासँगै आसपासका बासिन्दाको सुरक्षामा समेत चिन्ता बढाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले कान्तिताललाई व्यवस्थित र आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्न नयाँ योजना बनाउने तयारी भइरहेको र विगतमा ताल संरक्षण तथा व्यवस्थापनका लागि बनाइएका योजना अपेक्षित रूपमा सफल हुन नसकेकाले अब सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेर प्रभावकारी योजना निर्माण गरिने बताए । कान्तितालको प्राकृतिक स्वरूप, खुला क्षेत्र र चराचुरुङ्गीको बासस्थानलाई व्यवस्थित रूपमा संरक्षण गर्न सके अझै पनि यो क्षेत्र नेपालगन्जको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासीको भनाइ छ ।
