२०८३ असोज ८ , बिहीबार 24, September 2026, Thursday

अनलाइन सट्टेबाजी खेलाउँदा म्याक्स होटलमा प्रहरीको छापा, ४२ जना पक्राउ

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा ठुलो परिमाणमा अनलाइन जुवा भइरहेको सूचनाको आधारमा प्रहरीले मङ्गलबार राति करिब आठ बजे छापा मारेर अनलाइन जुवा खेलाउने ४२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक रहेका छन् । उनले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजीमा सङ्लग्न रहेको खुलेको जनाउँदै पक्राउ परेकाहरूको साथबाट २८ वटा ल्यापटप र ७८ वटा मोबाइल फोन बरामद भएको बताए ।

होटलबाट प्रहरीले अन्य विद्युतीय उपकरणहरु समेत बरामद गरेको तथा उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी राठौरले बताए । उनले भने, ‘होटलमा ठुलो परिमाणमा अनलाइन जुवा खेलाउने कार्य भइरहेको जानकारीका आधारमा छापा मारिएको हो, अन्य सबै जानकारी जुटाउने कार्य चलिरहेको छ । विस्तृत जानकारी बुधवारसम्म मात्रै दिन सकिनेछ ।’

घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सामग्रीको समेत सूक्ष्म अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा अनलाइन जुवा र सट्टेबाजीको प्रचार प्रसार व्यापक भइरहेकोले प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा होटल म्याक्समा ठुलो परिमाणमा अनलाइन जुवा र सट्टेबाजी भइरहेको सूचना आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार