मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमको हिमाली जिल्लाहरु बझाङ, बाजुरा, कर्णाली प्रदेशको हुम्ला, मुगुमा अत्यधिक वर्षा हुने सूचना सार्वजनिक भएपछि तराईका जिल्ला कैलाली र बर्दियामा दबाव परेको छ । भारी वर्षा हुने पूर्वानुमानले स्थानीय तह र नदी तटका बासिन्दालाई चिन्ता बढाएको छ भने पूर्व तयारीमा लाग्न प्रेरित पनि गरेको छ ।
यहाँबाट बगेर आउने कर्णाली नदी किनारका तराईका पालिकाहरु टीकापुर नगरपालिका, राजापुर नगरपालिका, जानकी गाउँपालिका र गेरुवा गाउँपालिकामा दवाव परेको हो । विभागका अनुसार पहाडी जिल्लाहरु बैतडी डोटी, अछाम, जुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत, दैलेखमा पनि वर्षा हुनेछ भने सुर्खेत र दैलेखका थोरै स्थानमा भारी वर्षा हुने अनुमान छ । पूर्वानुमान अनुसार नै वर्षा भएमा यी सबै क्षेत्रको वर्षाले कर्णाली नदीमा ठुलो भार बढने छ ।
यसको असर तल्लो तटीय क्षेत्रका टीकापुर नगरपालिका, जानकी गाउँपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा देखिनेछ । यसअघि कर्णाली चिसापानीमा बाढीको तह १० मिटर ८० सेन्टिमिटर पुग्नुलाई खतराको तह मान्ने गरिएको छ । यसवर्ष बाढीको तह अधिकतम ८ मिटर ९४ सेन्टिमिटर पुगेको छ । असोज ७ गते बाढीको तह छ मिटरभन्दा तल छ । भारी वर्षाको पूर्वानुमान भएपछि जोखिमको आँकलन र पूर्व तयारी सुरु भएको छ ।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाका डिभिजनल इन्जिनियर सुरज श्रेष्ठले जानकी गाउँपालिका –६ को धनुवाफाँटा, टीकापुर नगरपालिका –५ स्थित पार्कदेखि २०० मिटर उत्तरतर्फ र टीकापुर नगरपालिका–८ स्थित सत्ती–कर्णाली सामुदायिक वनमा कर्णाली नदीबाट खतरा देखिएको बताए । ‘पूर्व तयारीका लागि वर्षा सुरु भएपछि आयोजनाको इन्टेक पूरै बन्द गर्ने योजना छ,’ श्रेष्ठले भने ।
उनका अनुसार धनुवाफाँटामा पनि तटवन्ध भएकाले ओभरफ्लो हुन सक्छ, पार्कनजिक अबको दुई दिनमा ठुला ढुङ्गा हालेर सुरक्षित बनाउने कोशिस गरिरहेका छौं, सत्ती वन क्षेत्रको खतराबारे केही गर्न सकिँदैन । सत्ती–कर्णाली सामुदायिक वन क्षेत्रमा आयोजनाले कटान सुरक्षाका लागि तटबन्धको ठेक्का लगाए पनि लामो समय काम नहुँदा सत्ती–कर्णाली वनको ५० हेक्टर क्षेत्र बगिसकेको छ । आयोजनाले पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाइसकेको छ । तर काम सुरु भएको छैन ।
पालिकाहरुको तयारी
टीकापुर नगरपालिकाका विपद सम्पर्क व्यक्ति निर्मला चौधरी सत्ती क्षेत्रबाट बाढी पसेमा टीकापुर–८ पूरै प्रभावित हुने बताउँछिन् । टीकापुर–८ का पुदालटोल र तोलीगाउँमा अहिले नै कटान भइरहेकाले पुदालटोलको बोरामा माटो भरेर भए पनि जोखिम घटाउन लागिएको विपद सम्पर्क व्यक्ति चौधरी बताउँछिन् ।
यसका लागि ती क्षेत्रका समुदाय, समितिलाई अलर्ट गरिएको र थप सहयोगका लागि जिल्ला विपद व्यवस्थापन समिति, टीकापुर नगरकार्यपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, सरोकारवाला सबैलाई जानकारी गराइएको बताउँछन् । गेरुवा गाउँपालिका विपद सम्पर्कव्यक्ति कृष्ण सोडारीले जोखिमपूर्ण समुदाय र वडा विपत व्यवस्थापन समितिका पदाधिकारीलाई अलर्ट गरिसकिएको र जल तथा मौसम विज्ञान विभागका सूचना प्रवाह गरिरहेको बताउँछन् ।
यसअघि गेरुवा गाउँपालिका–२, राजीपुरमा धेरै जोखिम हुने गरेकोमा त्यहाँ तटवन्ध बनिसकेको छ । सोडारीले भने, ‘पालिकाभित्रैका खोला, कुला भरिएर घरबस्तीमा पानी पस्ने समस्या आए पनि कर्णालीमा आउने सामान्य बाढीबाट खतरा हुँदैन ।’ राजापुर नगरपालिकाका विपद सम्पर्क व्यक्ति खुसीराम थारूले राजापुर नगरपालिका अहिल्यै जोखिमको आकलन नभए पनि विभागको पूर्वानुमान अनुसारको वर्षा भएमा राजापुर नगरपालिकामा पनि बाढीको जोखिम हुन सक्ने भएकाले सबैलाई सचेत गराउँदै तयारीमा बस्नुपर्ने अवस्था आएको बताउँछन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालबाटै सुरु भएको कर्णाली नदीमा पहाडबाट ढुङ्गा माटो बगाएर ल्याउने र तराई पुगेपछि थुप्रिएर धार परिवर्तन गर्ने, नदीको बिचमा टापु बनाउने गरेको छ । नदी बिचमा टापु बन्दा नदी मोडिने र किनारमा कटान गर्ने गरिरहेको छ । सुदूरपश्चिम र लुम्विनी प्रदेशका स्थानीय सरकार र प्रदेश सरकारले यस्ता टापु वर्षेनी सफाइ गनुपर्ने भएकाले वन र निकुञ्ज ऐन संशोधनका लागि सङ्घीय सरकारलाई पठाए पनि ऐनहरु संशोधन हुन सकेका छैनन् ।
