मौसम परिवर्तन भएर चिसो बढ्न ढालेपछि बाँकेमा रुघाखोकी र ज्वरोका बिरामीहरु बढेका छन् । केहीदिन अघिसम्म रहेको अत्यधिक गर्मी र हाल बढ्दै गएको चिसो मौसमका कारण जिल्लामा ज्वरो, रुघाखोकी, निमोनिया र पखालाका बिरामीहरुको संख्या बढेको अस्पतालका चिकित्सकले जनाएका छन् ।
भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा.संकेतकुमार रिसालका अनुसार अहिले आएर फेरि एक पटक उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने लगायतका लक्षण देखिने बिरामीहरु अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन् । उनले अस्पतालको इमरजेन्सीमा त्यस्ता बिरामीहरु धेरै आउने गरेको जनाए ।
उनले ओपिडीमा पनि भाइरल फ्लुका बिरामीहरु ठुलो संख्यामा आइरहेको बताए । सोही कारणले अहिले अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको पनि भेरी अस्पतालले जनाएको छ । नेपालगन्जस्थित सन्जिवनी अस्पतालले पनि पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण भाइरलफ्लुका बिरामीहरु उपचारका लागि अस्पतालमा धेरै आइरहेको जनाएको छ ।
सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रोमन किदवाइले पछिल्लो समय रुघाखोकी, ज्वरो र पखाला लगायतका बिरामी अस्पतालमा उपचार गराउन आउने क्रम बढ्दैगएको बताए । हाल देखिएको भाइरल ज्वरोबाट निको हुन सात दिनभन्दा बढी समय लाग्ने देखिएको र ज्वरो पनि कडा खालको हुने गरेकाले समयमै उपचार सुरु गर्न सुपर पोलिक्लिनिकका वरिष्ट फिजिसियन डा.अल्तवान राहीले बताए ।
सोही प्रकारले नेपालगन्जको अन्य विभिन्न अस्पतालमा मौसमका कारण भाइरलको सङ्क्रमण भएर उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्यामा बिरामीको संख्या बढेको अस्पतालका चिकित्सकले बताएका छन् । चिकित्सकहरुको नीजि क्लिनिकमा पनि केही दिन यता भाइरल ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीहरु आउनेक्रम बढेको चिकित्सकले जनाएका छन् ।
