सडकमा छाडिएका कुकुरको व्यवस्थापन चुनौती बनिरहेका बेला बागलुङ नगरपालिकाले भने कुकुरलाई आवसीय व्यवस्थापन गरेर नयाँ अभ्यास गरेको छ । कुकुर संरक्षण र व्यवस्थापनका लागि नयाँ अभ्यास सफल हुन थालेको छ भने १० वटाबाट सुरु भएको होस्टेलमा अहिले ३० वटा कुकुर रहेका छन् ।
बागलुङ बजारको सडकमा छाडिएका कुकुरलाई नियन्त्रणमा लिएर सुरक्षित आवास, खानपान र उपचारको व्यवस्था गर्न नगरपालिकाले ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको हो । नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको उद्धार गरी होस्टेलमा राखेर पालनपोषण गर्दै आएको छ । स्थानीय सरकारले स्थापना गरेको नेपालकै पहिलो कुकुर होस्टेल भएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए । यसको सञ्चालन र व्यवस्थापनबारे बुझ्न अन्य स्थानीय तहले समेत चासो देखाउन थालेको उनको भनाइ छ ।
‘कुकुरको समस्या हाम्रो मात्रै होइन, अन्य सहरमा समेत छ, सरकारी क्षेत्रले अभियानकै रुपमा सञ्चालनमा ल्याएको पहिलो होस्टेल हो । अहिले अन्य पालिकाले समेत हेर्न आउन थालेका छन्,’ नगर प्रमुख श्रेष्ठले भने, ‘हेटौडा उपमहानगरसहित स्याङ्जा र अर्घखाँचीका केही नगरपालिकाहरूले समेत कुकुर होस्टेल सञ्चालनका लागि कार्यविधि लगायत होस्टेल हेर्न आउनुभएको छ ।’
बागलङ बजारमा सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै कुकुरको टोकाइ र सडक दुर्घटनाको जोखिम बढेको थियो । कुकुरको टोकाइबाट एक हजार ८०० जनाले रेबिजविरुद्धको खोप लगाएपछि नगरपालिकाले यसको दीर्घकालीन व्यवस्थापनका लागि होस्टेल निर्माण गरेको हो । नगरपालिकाले बागलुङ नगरपालिका—३ गहतेमा पाँच रोपनी सार्वजनिक जग्गामा एक करोड रुपैयाँ खर्चेर होस्टेल निर्माण गरेको जनाएको छ ।

बागलुङ नगरपालिकाले सञ्चालनमा ल्याएको कुकुर होस्टेलमा रहेका कुकुरहरू ।
नवप्रवर्तन कार्यक्रमअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँगको साझेदारीमा निर्माण गरिएको होस्टेलमा नगरपालिकाको ३५ लाख र मुख्यमन्त्री कार्यालयको ६५ लाख रुपैयाँ लगानी रहेको छ । ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेलमा पहिलो चरणमा ३० वटा कुकुर राखिएको छ । नगर प्रहरी र पशु विकास शाखाको सहयोगमा सडकमा छाडिएका कुकुरलाई नियन्त्रणमा लिएर उद्धार गर्ने र होस्टेलमा पुर्याउने काम भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले सडकमा छाडिएका कुकुरको व्यवस्थापनसँगै मानव र पशु दुवैको सुरक्षा गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । ‘कुकुरको टोकाइबाट रेबिजविरुद्धको खोप लगाउनेको संख्या बढेपछि यसको दीर्घकालीन समाधान खोजेका हौँ,’ उनले भने, ‘सडकमा कुकुरका कारण यात्रुलाई समस्या हुने र दुर्घटनासमेत निम्तिने अवस्था थियो । अहिले होस्टेलमा राखेर खानपान र उपचारको व्यवस्था मिलाएका छौँ ।’
होस्टेलमा कुकुरका लागि आवाससँगै खुला चौरमा बस्ने र खेल्ने व्यवस्था गरिएको छ । उनीहरूको नियमित हेरचाहका लागि एक जना कर्मचारी खटाइएको छ भने नगरपालिकाको पशु शाखाबाट प्राविधिक उपचार र स्वास्थ्य परीक्षण हुँदै आएको छ । होस्टेलमा राखिएका कुकुरको खानपानमा समेत नगरपालिकाले ध्यान दिएको छ । कुकुरलाई बिहान दूध र भात तथा बेलुका कुखुराको मासुसहितको भात खुवाउने गरिएको होस्टेलमा कार्यरत रबीबहादुर क्षत्रीले बताए ।
आवश्यकता अनुसार पोषणयुक्त खाना र उपचारको व्यवस्था मिलाइएको क्षत्रीले बताए । पहिलोपटक यहाँ ल्याइएका कुकुरलाई एक साता खोरमा राखेर मात्रै अन्य कुकुरसँग घुलमिल गर्न दिइने उनको भनाइ छ । नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने योजना समावेश गरेको थियो । सोही योजनाअनुसार अहिले होस्टेल निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
