पर्यटन प्रवर्द्धनसँगै मुन्दुम पदमार्गको धार्मिक तथा आध्यात्मिक महत्व उजागर गर्ने उद्देश्यले योगीको एक समूह भोजपुरको मुन्दुम पदमार्गमा आएको छ । काठमाडौँको मृगस्थलीस्थित आश्रममा रहेका योगी व्याघ्र वेदनाथ महाराजसहित १३ जनाको समूह पदमार्गको भ्रमणमा आएको हो ।
दुई दिन मुन्दुम पदमार्ग क्षेत्रमा रहने योगीको समूहले टेम्के डाँडामा रहेको मन्दिरसहित पदमार्गमा पर्ने विभिन्न आध्यात्मिक महत्वका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा योगीले विभिन्न स्थानमा ध्यान तथा साधना गर्ने योगी व्याघ्र वेदनाथ महाराजले बताए ।
प्राकृतिक सौन्दर्य र शान्त वातावरणले भरिपूर्ण मुन्दुम पदमार्ग ध्यान, तपस्या तथा साधनाका लागि उपयुक्त क्षेत्र रहेको उनको भनाइ छ । ‘प्रकृतिसँग नजिक रहेर ध्यान र साधना गर्न मुन्दुम पदमार्ग निकै उपयुक्त देखिन्छ,’ उनले भने, ‘यहाँका शान्त क्षेत्र र आध्यात्मिक महत्व बोकेका स्थलको अवलोकन गर्दै साधना गर्ने उद्देश्यले आएका हौँ ।’
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई धार्मिक, आध्यात्मिक तथा ध्यान गर्ने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । प्राकृतिक रूपमा शान्त र सुन्दर रहेको यस क्षेत्रलाई तपोभूमिका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।
योगीको आगमनले मुन्दुम पदमार्गको आध्यात्मिक महत्वलाई थप उजागर गर्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष बस्नेतले विश्वास व्यक्त गरे । सहरी व्यस्त जीवनशैलीबाट विश्राम लिन चाहने मानिसका लागि शान्त वातावरणमा ध्यान तथा योग गर्ने स्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको उनको कथन छ ।
मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य, किरात सभ्यता, संस्कृति र मौलिक जीवनशैलीका कारण पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँको शान्त वातावरण, मनोरम हिमाली दृश्य तथा धार्मिक र सांस्कृतिक सम्पदाले पदमार्गलाई साहसिक पर्यटनसँगै आध्यात्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सम्भावना बढेर गएको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।
