२०८३ मंसिर १ , मंगलबार 17, November 2026, Tuesday

हिमाल र जैविक विविधताको अनुपम गन्तव्य ‘मर्दी पदमार्ग’

कृष्ण दवाडी । सन्तोष गौतम
कृष्ण दवाडी । सन्तोष गौतम । कास्की
मर्दी हिमाल पदमार्गबाट देखिएको हिमशृङ्खला र वरपरको मनोरम प्राकृतिक दृश्य ।

जापानबाट यस वर्ष दसैँतिहार मनाउन जन्मथलो फर्किएकी काभ्रेकी ज्योति खड्काले चाडपर्व लगत्तै चारदिन कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्गमा बिताइन् । हिमाल, हरियाली, बादल र शान्त वातावरणको सामीप्यमा बिताएका ती चार दिन उनका लागि अविस्मरणीय बने ।

‘मर्दी हिमालको प्राकृतिक सुन्दरता निकै आकर्षक, मनमोहक र शान्त लाग्यो,’ उनले भने, ‘पदयात्राका क्रममा देखिने हिमाल र वरपरको वातावरणले थकान बिर्साएर मनमा नयाँ उमङ्ग पैदा गरिदियो ।’ दसैँतिहारको लामो बिदामा कलेजका साथीहरूसँग मर्दी पदयात्रामा पुगेकी म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँकी सुशिप्ता जिसीलाई पनि यात्राले लोभ्यायो ।

बिहानको सूर्योदय, हिमाल र पहाडका फेदीमा देखिने बादलको मनोरम दृश्यले यात्रालाई अविस्मरणीय बनाएको उनको अनुभव छ । धादिङका नारायण कँडेल छोटो समयमै हिमालको नजिक पुगेर प्राकृतिक सौन्दर्यको आनन्द लिन पाउनु मर्दी पदयात्राको मुख्य विशेषता भएको बताउँछन् ।

इटालीबाट आएका पर्यटक इन्ट्राले पनि यहाँको प्राकृतिक वातावरण, हिमाली दृश्य र शान्त परिवेशले विशेष अनुभव दिएको प्रतिक्रिया दिए । खड्का, जिसी, कँडेल र इन्ट्राजस्तै छोटो समयको पदयात्रामै हिमालको सामीप्यमा पुग्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको रोजाइमा मर्दी हिमाल पदमार्ग पर्दै गएको छ ।

घना जङ्गल, हरियाली, ग्रामीण बस्ती र हिमाली भूगोलको सङ्गम रहेको यस पदमार्गले यात्रुहरूलाई प्रकृतिका विविध रूपसँग साक्षात्कार गराउँछ । काठमाडौँकी निकिता कार्कीका अनुसार पदयात्राका क्रममा देखिने हिउँले ढाकिएका हिमाल, डाँडाकाँडा र स्वच्छ वातावरणले यात्रालाई बेग्लै अनुभूति दिन्छ । एउटै क्षेत्रबाट मर्दी, माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण र गन्धर्वचुली लगायत १३ वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

बादलसँग लुकामारी खेल्दै हिमालको सौन्दर्य

मर्दी हिमाल पदमार्गको अर्को आकर्षण यहाँको बदलिरहने मौसम र बादलको लुकामारी हो । केही क्षणअघि बादलले छोपिएका हिमाल एकाएक खुलेर देखिँदा यात्रुहरू मन्त्रमुग्ध हुन्छन् । सूर्योदय र सूर्यास्तका बेला हिमालमा देखिने सुनौलो रङले पदयात्राको सौन्दर्य थप बढाउँछ । बादलडाँडादेखि भ्यु पोइन्टसम्म डाँडैडाँडा यात्रा गर्दा पोखरा उपत्यका, अन्नपूर्ण आधार शिविर र आसपासका हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।

भेडाबाख्रा, चौँरी र भैँसीका घुम्ती गोठले परम्परागत ग्रामीण जीवनशैलीको झल्को दिन्छन् । वसन्त ऋतुमा पाखाभरि ढकमक्क फुल्ने लालीगुराँस, हरियाली वन र चराचुरुङ्गीको चिरबिर आवाजले यस क्षेत्रलाई थप आकर्षक बनाउँछ । हिमाली प्रकृतिसँगै वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गर्न चाहनेका लागि पनि यो उपयुक्त गन्तव्य हो ।

मर्दी हिमाल पदमार्गका संस्थापक सचिव शिवकुमार भण्डारीका अनुसार सन् २०२१ मा गरिएको अध्ययनले यस क्षेत्रमा ११२ प्रजातिका चराको बासस्थान रहेको देखाएको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनमा सेतो गिद्ध, हिमाली गिद्ध, काँडे भ्याकुर र नदीचरीजस्ता महत्वपूर्ण प्रजातिका चरा पाइने पुष्टि भएको उनले बताइन् ।

‘यो पदमार्ग हिमाल, बादल र प्राकृतिक दृश्यावलोकनका लागि मात्र नभई चराचुरुङ्गी तथा जैविक विविधताको दृष्टिले पनि महत्वपूर्ण छ,’ भण्डारीले भने, ‘अध्ययनले यहाँको चराचुरुङ्गीको विविधता पुष्टि गरेपछि हिमाली पर्यटनसँगै चराअवलोकन र प्रकृतिमा आधारित पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने प्रयास गरिरहेका छौँ ।’

छोटो यात्रामै हिमालको नजिक

तीनदेखि चार दिनमा पदयात्रा पूरा गर्न सकिने र अन्य कतिपय पदमार्गको तुलनामा सहज मानिने भएकाले मर्दी हिमाल पदमार्गमा पर्यटकको आकर्षण बढेको हो । पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङका अनुसार अनुकूल मौसम र दसैँतिहार–छठको बिदाका कारण कात्तिक महिनामा दैनिक छ सयदेखि सात सय जनासम्म पर्यटक आउने गरेका छन् । तीमध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक रहेको उनको भनाइ छ ।

‘पर्यटकको आगमन बढ्नु सुखद पक्ष हो । तर, सीमित क्षमताका होटलमा पाहुनाको चाप बढ्दा बसोबास व्यवस्थापन मुख्य चुनौती बनेको छ,’ तामाङले भने । पर्यटकको सख्या होटलको क्षमताभन्दा बढी हुँदा कतिपयलाई टेन्ट तथा होटलका भोजनकक्षमा समेत राख्नुपर्ने अवस्था आएको उनले बताए । पदमार्गको हाइक्याम्पसम्म मात्रै होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । भ्यु पोइन्ट र आधार शिविर क्षेत्रमा भने होटल तथा रेस्टुरेन्ट छैनन् । हाइक्याम्पमा रहेका १४ वटा होटलमा २५ भन्दा बढी शैया राख्न नपाइने व्यवस्था छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले होटल तथा कोठाको संख्या निश्चित गरेकाले मुख्य पर्यटकीय याममा पर्यटकको चापअनुसार आवास व्यवस्थापन गर्न कठिन हुने गरेको व्यवसायी कविता अर्याल गौतम बताउँछन् । ‘अघिल्लो वर्षभन्दा यसपटक मर्दीमा पर्यटकको सङ्ख्या धेरै बढेको छ । फरेस्ट क्याम्पमाथिका सबै होटल भरिभराउ हुँदा थप पाहुना राख्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पर्यटकले असुविधा भोग्नुपर्दा मर्दीका बारेमा नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता लाग्छ ।’

कसरी पुग्ने ?

पोखराबाट सवारीसाधनमा कालीमाटी, सिदिङ, धम्पुस र काँडे पुगेर पर्यटकले पदयात्रा सुरु गर्छन् । फरेस्ट क्याम्प पुगेपछि मुख्य पदमार्गमा जोडिन्छन् । फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाडा, हाइक्याप क्याम्प हुँदै भ्यु पोइन्ट पुगिन्छ । त्यसपछि एक घण्टा थप यात्रा गरेर पुगिने चार हजार पाँच सय मिटर उचाइमा रहेको मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) यस पदमार्गको प्रमुख तथा अन्तिम गन्तव्य हो ।

हाइक्याम्पभन्दा माथि होटल तथा रेस्टुरेन्ट नहुँदा पर्यटकले आवश्यक तयारी गरेर मात्रै माथिल्लो क्षेत्रको यात्रा गर्नुपर्छ । माथिल्लो बादलडाँडा र हाइक्याम्पमा रात बिताउने पर्यटक बिहानै उठेर भ्यु पोइन्टमा सूर्योदय हेर्न पुग्छन् । त्यसपछि आधार शिविर पुगेर दिउँसो फर्कने गर्छन् । भ्यु पोइन्टदेखि आधार शिविरसम्मको क्षेत्रमा मौसम छिनछिनमा परिवर्तन हुने, कुहिरो लाग्ने र बाटो बिराएर हराउने जोखिम हुने भएकाले सहयोगीबिना यात्रा नगर्न बादलडाँडाका होटल व्यवसायी नेत्र तामाङको सुझाव छ ।

पदयात्रा सकेर फर्कने क्रममा अधिकांश पर्यटक लो क्याम्पबाट सिदिङ झरेर सवारीसाधनमा पोखरा पुग्ने बाटो रोज्छन् । सिदिङ र कालीमाटीबाट जीपमा करिब एक घण्टामा पोखरा पुग्न सकिन्छ । यातायात खर्चबाहेक प्रतिव्यक्ति दैनिक तीन हजारदेखि पाँच हजार रुपिँया सम्म बजेट आवश्यक पर्ने व्यवसायी बताउँछन् । होटलमा खाद्यान्नलगायत सामग्री खच्चड र भरियामार्फत ढुवानी गर्नुपर्ने भएकाले अन्य कतिपय पर्यटकीय गन्तव्यको तुलनामा यहाँको बसाइ महँगो पर्ने पर्यटकको गुनासो छ ।

गोठ र खर्कबाट पर्यटकीय स्थलमा रुपान्तरण

मर्दी हिमाल पदमार्ग सन् २०१२ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । त्यसअघि यस क्षेत्र स्थानीयवासीका गाईभैँसी, भेडाबाख्रा र चौँरीका घुम्ती गोठ तथा चरन क्षेत्रमा सीमित थियो । पशुका घुम्ती गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । माछापुच्छ्रे गाउँपालिका–९ का स्व सुदीप गौतमको नेतृत्वमा स्थानीय समुदायले घरगोठ गर्न प्रयोग गर्दै आएको परम्परागत बाटोलाई पदमार्गका रूपमा विकास गरेका हुन् ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) का अनुसार तत्कालीन समयमा मर्दी क्षेत्रमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठबाहेक पर्यटकलाई आवश्यक पर्ने पूर्वाधार थिएनन् । पदयात्रा पर्यटनको सम्भावना पहिचान गरी गौतमले गरेको निरन्तर प्रयासकै कारण आज मर्दी हिमाल पदमार्ग विश्वभरका पर्यटकमाझ परिचित भएको हो ।

मर्दी पदमार्गका पिताका रूपमा चिनिने गौतमको २०७९ असोज १४ गते हाइक्याम्प क्षेत्रमा भिरबाट लडेर ३५ वर्षको उमेरमा निधन भएको थियो । पदमार्गको अन्वेषण, प्रवर्द्धन र विकासमा योगदान पुर्‍याएका गौतमको सम्मानमा बादलडाँडामा सालिक स्थापना गरिएको छ । माछापुच्छ्रे गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डको सहकार्यमा सालिकसहितको पार्क निर्माण गरिएको हो ।

गौतमले सन् २००७ मा मार्दी हाइक्याम्पमा ‘होटेल ट्रेकर्स प्याराडाइज’ सञ्चालन गर्नुअघि फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र डुँडखर्कलगायत स्थानमा होटल थिएनन् । पर्यटकले क्याम्पिङ गरेर रात बिताउनुपर्ने अवस्था थियो । उनको प्रयासपछि क्रमशस् होटल तथा अन्य पर्यटन पूर्वाधार विकास हुँदै जाँदा पर्यटकलाई बसोबासको सुविधा उपलब्ध हुन थालेको हो । गौतमको योगदानलाई स्मरण गर्दै उनका परिवारले मार्दी हिमाल आधार शिविरमा शिव मन्दिर निर्माण गर्ने योजना पनि अघि सारेका छन् ।

पर्यटनसँगै आम्दानी र रोजगारीको अवसर

पदयात्रा पर्यटनको विकाससँगै यस क्षेत्रका स्थानीयवासीको आर्थिक तथा सामाजिक जीवनमा पनि परिवर्तन आएको छ । होटल, रेस्टुरेन्ट, चिया पसल र अन्य पर्यटनसम्बन्धी व्यवसाय विस्तार भएपछि रोजगारी तथा आम्दानीका अवसर बढेका छन् । फरेस्ट क्याम्प होटल व्यवस्थापन समितिका अध्यक्ष अमृत दाहालका अनुसार स्थानीय व्यवसायीले आफ्नै गाउँमा उत्पादन भएका ताजा तरकारी, दूध, घ्यू तथा स्थानीय कुखुराबाट पर्यटकलाई परिकार बनाएर खुवाउने गरेका छन् ।

‘होटल तथा पर्यटन व्यवसायको विस्तारले स्थानीयवासीलाई गाउँमै रोजगारी र आम्दानीको अवसर दिएको छ,’ उनले भने, ‘पर्यटकको आगमन बढेसँगै स्थानीय उत्पादनको खपत पनि बढेको छ ।’ पदयात्रा मार्गको तल्लो क्षेत्र गुराँसको जङ्गलभित्र पर्दछ । ढुङ्गाका सिँढी बनाएर पदमार्ग व्यवस्थित गरिएको छ । यात्राका क्रममा जथाभावी फोहोर देखिँदैन् । फोहोर सङ्कलन तथा व्यवस्थापनका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ । सडक विस्तारको सम्भावना न्यून रहेको यस क्षेत्रमा प्राकृतिक वातावरण र पदमार्गको मौलिकता जोगाउने अवसर पनि छ ।

संरक्षण र व्यवस्थापनमा चुनौती

मर्दी हिमाल पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्दछ । एक्यापले होटल तथा कोठाको संख्या निश्चित गरेकाले पर्यटकीय याममा पर्यटकको चापअनुसार आवास व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ । पर्यटकको आकर्षण बढ्दै जाँदा त्यसअनुसार सेवा तथा पूर्वाधार विकास गर्नुका साथै प्राकृतिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ । गाउँपालिका, एक्याप, प्रदेश तथा सङ्घीय सरकारमार्फत पूर्वाधार निर्माण र पर्यटकको बसाइ व्यवस्थापनमा देखिएका चुनौती समाधान गर्न पहल भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए ।

संरक्षण क्षेत्रसम्बन्धी पुराना नीतिमा आवश्यक संशोधनका लागि समेत पहल गरिएको उहाँको भनाइ छ । पर्यटकको बढ्दो आगमनलाई व्यवस्थित गर्न होटलको क्षमता, विद्युत् तथा सञ्चार सुविधाको नियमित उपलब्धता, पदमार्गको स्तरोन्नति, फोहोर व्यवस्थापन, सरसफाइ, पर्यटक सूचना प्रणाली र सुरक्षाको प्रभावकारी व्यवस्था आवश्यक देखिन्छ । विशेषगरी हाइक्याम्पभन्दा माथिल्लो क्षेत्रमा मौसमको जोखिम, बाटो पहिचान र उद्धार व्यवस्थालाई प्राथमिकता दिनुपर्ने पर्यटन व्यवसायीको सुझाव छ ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र छोटो अवधिमै हिमालको सामीप्यमा पुग्न सकिने विशेषताले मार्दी हिमाल पदमार्गलाई नेपालको महत्वपूर्ण पदयात्रा गन्तव्यका रूपमा स्थापित गरेको छ । पर्यटकको सङ्ख्या बढ्नुले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारे पनि त्यसको व्यवस्थापन र संरक्षणमा ध्यान नदिए प्राकृतिक सौन्दर्य तथा पर्यटकीय आकर्षणमा असर पर्न सक्छ ।

मर्दीको पर्यटन विकासलाई केवल पर्यटकको संख्या बढाउने विषयमा सीमित नगरी प्रकृति संरक्षण, स्थानीय समुदायको सहभागिता, सुरक्षित पदयात्रा र गुणस्तरीय सेवासँग जोड्न आवश्यक छ । माछापुच्छ्रेको काखमा रहेको मर्दीको प्राकृतिक स्पर्शलाई आगामी पुस्तासम्म जोगाउँदै दिगो पर्यटनको नमूना गन्तव्य बनाउनु आवश्यक रहेको छ ।

स्रोत : रासस
प्रकाशित मिति : २०८३ मंसिर १ गते मंगलबार