२०८३ कात्तिक १८ , मंगलबार 3, November 2026, Tuesday

नेपालबाट तीन महिनामै दुई अर्ब २० करोड रुपैयाको जुस निर्यात

नेपालबाट तीन महिना अवधिमा दुई अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ । भन्सार विभागको चालु आर्थिक वर्ष २०८३/०८४ साउनदेखि असोजसम्म अवधिमा नेपालले विभिन्न प्रकारका दुई करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात गरेको हो । यसबाट मुलुकमा दुई अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ भित्रिएको छ ।

नेपालबाट निर्यात हुने जुसको मुख्य र सबैभन्दा ठूलो बजार छिमेकी भारत हो भने केही मात्रामा चीन र जापानमा पनि नेपाली जुस पुगेको छ । नेपालबाट सबैभन्दा धेरै विभिन्न फलफूलको मिश्रण भएको ‘मिक्स जुस’ निर्यात भएको देखिन्छ । समीक्षा अवधिमा मात्रै एक अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ बराबरको एक करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको छ ।

यस प्रकारको जुस भारत सहित चीन र जापानमा समेत निर्यात भएको छ । जसमध्ये भारतमा मात्रै एक अर्ब ४२ करोड ८२ लाख ९१ हजार बराबरको एक करोड ५७ लाख ३३ हजार ३८६ लिटर जुस गएको छ । यसैगरी जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा नौ लाख ३५ हजार रुपैयाँ मूल्यको १० हजार २०० लिटर मिक्स जुस निर्यात भएको भन्सारको तथ्यांक छ ।

मिक्स जुसपछि नेपालबाट धेरै निर्यात हुनेमा सुन्तला र भुइँकटहरको जुस छ । पहिलो त्रैमासमा ३५ करोड ८७ लाख आठ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ भने २२ करोड १३ लाख २२ हजार बराबरको १८ लाख ४३ हजार ३२६ लिटर भुइँकटहरको जुस बाहिरी मुलुक पठाइएको छ । यी दुवै प्रकारका (सुन्तला र भुइँकटहर) जुस शतप्रतिशत भारतमा मात्रै निर्यात भएका हुन् ।

यसबाहेक नेपालले स्याउ, ग्रेपफ्रुट र गोलभेँडाको जुस पनि उल्लेख्य मात्रामा भारततर्फ नै निर्यात गरेको छ । तथ्यांक अनुसार सोही तीन महिना अवधिमा १६ करोड ८५ लाख २२ हजार रुपैयाँ मूल्यको १४ लाख ४८ हजार ९०४ लिटर स्याउको जुस निर्यात भएको छ । त्यसैगरी एक करोड ५२ लाख ७४ हजार बराबरको एक लाख ९२ हजार २५४ लिटर ग्रेपफ्रुट जुस र एक करोड २५ लाख ७८ हजार मूल्यको एक लाख ५६ हजार १९२ लिटर गोलभेँडाको जुस पनि भारतमै निर्यात भएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार