मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ । बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिको विवरण अद्यावधिक गर्नेक्रममा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार २०८३ भदौ १५ गतेसम्म सङ्कलन तथा अद्यावधिकका लागि प्राप्त विवरण समावेश गरी उक्त नाम हटाइएको हो । ‘मृत्यु भएको भनेर स्थानीय तहले प्रमाणित गरेर पठाएपछि मृत्यु भएका र दुई जिल्ला वा दुई स्थानमा दोहोरो नामावली फेला परेका मतदाताको नाम हटाइएको छ,’ प्रमुख शाहीले भने ।
मतदाता नामावली अद्यावधिक गर्दा सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाबाट मात्रै ८२० जनाको नाम हटाइएको छ । त्यस्तै, कोहलपुर नगरपालिकाबाट ७६६ जना, राप्तीसोनारी ३७१, डुडुवा, १७७, खजुरा ३२०, बैजनाथ २८९, जानकी १८६ र नरैनापुर गाउँपालिकाबाट १२१ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार विसं २०८२ चैत २२ देखि २०८३ असोज २२ सम्म अनलाइन आवेदनबाट तीन हजार ४९६ र राष्ट्रिय परिचयपत्रमार्फत १० हजार ४०१ गरी कूल १३ हजार ८९७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गरेका थिए । यसमध्ये छ हजार ७१३ महिला र सात हजार १८४ पुरुष छन् ।
