२०८३ कात्तिक १८ , मंगलबार 3, November 2026, Tuesday

चिकित्सकहरुबीच द्वन्द्वले भेरी अस्पतालको ब्यवस्थापन लथालिङ्ग

पश्चिम नेपालको सबैभन्दा पुरानो भेरी अस्पताल अस्तब्यस्त बनेको छ । बि.स. १९४७ मा वीर अस्पतालसँगै स्थापना भएको अस्पतालको ब्यवस्थापन लथालिङ्ग अवस्थामा पुगेको छ । जान्नेलाई छान्ने नीति अनुसार डा.नवीन दर्नाललाई मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बनाएर पठाएको नौ महिना भएको छ । हालै अस्पताल विकास समितिको अध्यक्षमा अस्पतालमा कार्यरत डा.लक्ष्मण सिग्देल नियुक्त भएका छन् ।

सोही अस्पतालमा कार्यरत चिकित्सक अस्पताल विकास समितिको अध्यक्ष बन्दा स्वार्थको द्वन्द्वले स्थान लिने कुरालाई समेत नजरअन्दाज गरी नियुक्त गरिएको छ । अस्पताल विकास समितिको अध्यक्षले समग्र अस्पताल प्रशासनको नीतिगत निर्णय र शासकीय नियन्त्रण गर्नुपर्दछ । तर सोही अस्पतालमा कार्यरत चिकित्सक सिग्देललाई अध्यक्ष बनाएपछि अस्पतालका बरिष्ठ चिकित्सकहरुले उनले भनेको मान्ने सम्भावना कमजोर देखिएको छ ।

अस्पतालका बिशेषज्ञ चिकित्सकहरुबीच द्वन्द्व हुँदा कतिपय बिज्ञ चिकित्सकले अस्पताल छोडेका छन् । डा. कृष्ण अधिकारीको अनावश्यक हस्तक्षेप र दबाबले बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. विकास नेपालले भेरी अस्पताल छोडेर मेडिकल कलेजमा काम गर्न थालेका छन् । न्यूरोलोजिस्ट डा. सुबोध गौतमले पनि मेडिकल कलेज रोजेका छन् । विगतमा पनि अस्पतालमा विकास समितिका अध्यक्ष र मेसुबीच कमिसन लेनदेनको बिषयमा द्वन्द्व हुने गरेको थियो ।

वीरेन्द्र शाहको दुबै जना मेसुसँग कमिसन लेनदेनको बिषयमा द्वन्द्व भएको थियो । डा.रायमाझी र डा.निराजन सुवेदी दुबैसँग वीरेन्द्र शाहले अस्पतालको बिल भुक्तानी हुनेबित्तिकै कमिसनको प्रतिशत लिने गरेका थिए । हालको अवस्थामा अस्पतालका अध्यक्ष र मेसु दुबै जना त्यहीँ कार्यरत चिकित्सक रहेका छन् । अस्पतालमा शल्यक्रियाको पालो एक बर्षमा आउँछ । सबै औषधि अस्पतालको फार्मेसीमा पाइँदैन । अस्पतालको जमिनको स्पष्ट अभिलेख छैन ।

अस्पतालको जमिनमा प्रदेश मातहतको स्वास्थ्य कार्यालय बसेको छ । पाँच सय शैया अस्पताल भने पनि नेपाल सरकारबाट संगठन तथा ब्यवस्थापन सर्बेक्षण प्रतिवेदन पास भएको छैन । पाँच सय शैया बिस्तार गर्न अस्पताल ब्यवस्थापनले नै पहल नगरेको आरोप छ । ५०० शैयाको अस्पतालको दरबन्दी र नगद अनुदान स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पठाएको छैन । पाँच सय शैयाका लागि गुरु योजना पनि बनेको छैन ।

परसपुर जयसपुर लगायत स्थानमा भएको जग्गाको लगत अभिलेख ब्यवस्थित छैन । अस्पतालको सेवा जेनतेन चलेको देखिन्छ । राष्टिय स्वतन्त्र पार्टीको सरकारले आफ्ना मानिस मेसु, अस्पताल अध्यक्षलगायत जनशक्ति राखे पनि विगतको तुलनामा आम नागरिकले खास केही परिवर्तन महसुस गर्न सकेका छैनन् । भेरी अस्पतालमै कार्यरत चिकित्सकलाई अध्यक्ष र मेसु बनाएपछि बरिष्ठ बिशेषज्ञ डाक्टरहरुले छाडेको बिषयमा भेरी अस्पतालका मेसु डा.नवीन दर्नालले भने, ‘डा.विकास नेपालले गएको असारमै र डा.सुबोध गौतमले एक बर्षअघि नै छाड्नुभएको हो ।’

अस्पतालको फार्मेसीमा औषधि नपाउने गरकोबारेमा डा.दर्नालले भने सबै औषधि पाइन्छ । अस्पतालको जग्गामा प्रदेश मातहतको जनस्वास्थ्य कार्यालय रहेको र जमिनको अभिलेख नै नभएको बारेमा उनले भने, ‘जग्गा अस्पतालको नाममा छ । हामीले अस्पतालको समीक्षा कार्यक्रममा नै जग्गा कहाँ कहाँ छ भन्ने विवरण सार्वजनिक गरेका छौं ।’ नेपाल सरकारले १०० र समितिले ५० गरी १५० शैयामात्र भेरी अस्पतालमा भएको डा.दर्नालले बताए । ५०० शैयाको स्वीकृति नपाएको उनी बताउँछन् ।

५०० शैयामा बिस्तार किन हुन सकेन ?

संघीय सरकारले २०८१ मा नेपालगन्जको भेरी अस्पताललाई ५०० शैयामा स्तरोन्नति गरेर विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल घोषणा गरेको थियो । स्वास्थ्य मन्त्रालयले २०८१ मा भेरीसहित सबै प्रदेशका संघीय अस्पताललाई ५०० शय्यामा स्तरोन्नति गरेर विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्ने घोषणा गरे पनि भेरी अस्पताल ब्यवस्थापन समितिको अक्षमताले अहिलेसम्म पनि १५० सैयामै सीमित छ । संघीय अस्पताललाई ५०० शैयाको बनाउँदा कम्तीमा पनि एक हजार ७०० जनशक्ति आवश्यक पर्छ ।

त्यसका लागि अस्पताल ब्यवस्थापनले अर्थ मन्त्रालयसँग समन्वय गरी दरबन्दी स्वीकृत गराउन सकेको छैन । १९४७ साउन १२ मा पृथ्वी–वीर डिस्पेन्सरीको नाममा ७ शैयाबाट सेवा सुरु भएको भेरी अस्पताल २०१६–२०२१ सम्म रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह, २०२२ सालमा भेरी अञ्चल अस्पताल, २०७५ पुसदेखि दुई महिनामात्र प्रादेशिक अस्पताल हुँदै २०७५ फागुनदेखि संघीय अस्पताल भएको हो । वीर अस्पतालसँगै जन्मिए पनि सरकारी बेवास्ता र ब्यवस्थापन समितिको अक्षमताका कारण जनशक्ति र भौतिक पूर्वाधारको अभावमा भेरीले लक्ष्य अनुसार सेवा दिन सकेको छैन ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार