इरानसँग जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले सोमबार हर्मुज जलघाँटीमा रहेको इरानको सबैभन्दा ठूलो टापु केशममा आक्रमण गरेको हो ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जर्नलले पछिल्ला केही सातादेखि अमेरिकाले इरानविरुद्ध गर्दै आएको सीमित आक्रमणको शृङ्खलामध्येको यो पछिल्लो घटना भएको जनाएको छ । इरानको सरकारी समाचार संस्था इरनाका अनुसार आक्रमणका क्रममा टापुमा छोटो समयमै पाँचवटा विस्फोटको आवाज सुनिएको थियो ।
स्थानीय बासिन्दाले आकाशमा दुईवटा विमान उडिरहेको देखेको बताएका छन् । आक्रमणबारे अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेन्ट्रल कमान्डसँग जानकारी मागेको थियो । तर, सोमबार अबेरसम्म सेन्ट्रल कमान्डले यसबारे कुनै प्रतिक्रिया दिएको थिएन । जर्नलका अनुसार अमेरिका केही सातादेखि इरानविरुद्ध सीमित स्तरका आक्रमणमा संलग्न हुँदै आएको छ ।
अमेरिकी अधिकारीहरूले यी आक्रमणलाई रक्षात्मक प्रकृतिको बताएका छन् । उनीहरूका अनुसार हर्मुज जलघाँटीमा व्यापारिक जहाजमाथि इरानले आक्रमण गर्न नपाओस् भन्ने उद्देश्यले यस्ता कारबाही गरिएका हुन् । हर्मुज जलघाँटी विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक हो । फेब्रुअरीको अन्त्यमा द्वन्द्व सुरु भएयता यस मार्गमा अवरोध उत्पन्न भएको छ ।
जर्नलका अनुसार अमेरिकाले पछिल्लो आक्रमणबारे सार्वजनिक रूपमा घोषणा गरेको छैन । यसले ठूलो सैन्य कारबाही पुन: सुरु गर्ने अमेरिकी मनसाय रहेको सङ्केत नगरेको पनि समाचारमा उल्लेख छ । यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार इरानसँग सम्झौता हुन सक्ने बताएका थिए । अमेरिकामा मध्यावधि निर्वाचन हुनुभन्दा एक दिनअघि उनले द्वन्द्व अन्त्यका लागि सकारात्मक सङ्केत दिएका हुन् ।
तर, वार्तामा प्रगति भइरहेको भनिएका बेला केशम टापुमा भएको पछिल्लो आक्रमणले मध्यपूर्वको क्षेत्रीय तनाव फेरि बढ्न सक्ने चिन्ता थपेको छ । यता, इरानले हर्मुज जलघाँटीमा ऊर्जा आपूर्ति मार्ग अवरुद्ध गरेपछि तीव्र रूपमा बढेको अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सोमबार भने द्वन्द्व अन्त्य हुन सक्ने आशासँगै सात प्रतिशतभन्दा बढीले घटेको समाचारमा उल्लेख छ ।
