२०८३ कात्तिक १८ , मंगलबार 3, November 2026, Tuesday

यस वर्ष भाइटीका लगाउने उत्तम समय कति बजे ?

यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

समितिका अनुसार तिहारको मुख्य दिन दाजुभाइ दिदीबहिनीले भाइटीकाको शुभसाइत एक अर्कालाई टीका लगाइदिएर मनाइन्छ । यस दिन दाजुभाइ दिदीबहिनीले एक अर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, मर मसला एवं सेल रोटी लगायतका खानेकुरा दिने पनि चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

समितिका अनुसार यमपञ्चकको पहिलो दिन कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।

कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ । त्यस्तै, कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ । यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइने समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार