नेपाली सेनाको लागि रोबोट निर्माण गर्न अमेरिकामा नेपालीले स्थापना गरेको कम्पनी छनोट भएको छ । सयौं प्रतियोगीलाई पछि पार्दै सुुशान्त खड्का नेतृत्वको टोलीले स्थापना गरेको कम्पनी ‘भिजन वन’ छनोटमा परेको हो । छनोटमा परेसँगै उक्त कम्पनीले अमेरिकी सेनाको लागि मान्छेको आकारको रोबोट (ह्युम्यानोइड रोबोट) बनाउन सुरु गरेको छ ।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका खड्काका अनुसार सेनाले आयोजना गरेको प्रतियोगितामा अमेरिकामा स्थापना भएका एक सय दुई वटा कम्पनी प्रतिस्पर्धामा थिए । ती सबै प्रतियोगीलाई पछि पारेर नेपाली कम्पनी भिजन वन उत्कृष्ट दुईमा पर्न सफल भएको हो । उनका अनुसार अमेरिकी सेनाले सामान्यतया उत्कृष्ट दशमा पर्न सफल कम्पनीलाई आफूलाई आवश्यक पर्ने सामग्री निर्माण गरेर आपूर्ति गर्ने प्रयोजनको लागि छनोट गर्ने गर्छ ।
‘हाम्रोजस्तो प्रविधि निर्माण तथा आपूर्ति गर्ने कम्पनीले कुनै एउटा क्षेत्रमा मात्रै काम गर्दैन । कसैले ड्रोन बनाउँछ, कसैले रोबोट बनाउँछ भने कसैले साना साना चिप्स लगायतका सामग्री बनाउने काम पनि गर्छन्,’ खड्काले भने, ‘छनोटमा परेका कम्पनीबाट सेनाले आवश्यकता अनुसार सेवा खरिद गर्छ ।’ खड्काको कम्पनी भिजन वनले ड्रोन निर्माणको काम पनि गरिरहेको छ । तर, अहिले सेनाको लागि अर्डर अनुसार रोबोट बनाइरहेको छ ।
यस्तो रोबोटलाई सामान्यतया डर्टी (फोहोर), डिफिकल्ट (कठिन) र डेन्जरस (खतरा) कार्यको लागि प्रयोग गर्ने गरिन्छ । साथै, कुनै कार्यालयको प्रवेशद्वारमा बसेर परिचय पत्र हेर्ने, होटल तथा रेष्टुरेन्टमा सेवा दिने लगायतका काममा पनि यस्तो रोबोटलाई प्रयोग गरिन्छ । भिजन वनले विगतमा पनि अमेरिकाको डिफेन्स एड्भान्स रिसर्च प्रोजेक्ट एजेन्सी (डार्पा)मा पनि छनोट भएर काम गरिसकेको छ ।
यस परियोजना अन्तर्गत गह्रौ उपकुरणहरु उचाल्न सक्ने ड्रोन निर्माण गरिएको खड्काले बताए । विगतमा अमेरिकी सेनामा काम गरेको हुनाले खड्काले नेपाली सेनासँग पनि मिलेर काम गर्ने योजना रहेको बताए । उनले भने, ‘हामीले अविष्कार गरेको प्रविधिलाई कुनै पनि तरिकाबाट नेपाल पनि भित्र्याउने योजना छ । हेरौ योजना अनुसार काम हुन्छ की हुँदैन ।’
नेपाल पुलिस स्कुल, साँगाबाट कक्षा १२ उत्तीर्ण गरेपछि खड्का थप अध्ययनको लागि अमेरिका गएका थिए । उनले अमेरिकामा मेकानिकल र एरोस्पेस इन्जिनियरिङ अध्ययन गरेपछि अमेरिकी सेनामा ६ वर्ष काम गरेका थिए । त्सपछि उक्त जागिर छोडेर खड्काले साथीहरुसँग मिलेर भिजन वन कम्पनी खोलेर प्राविधिक अविष्कारको काम सुरु गरेका थिए ।


