देशमा विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र सामाजिक–आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ दुई कम्युनिष्ट घटकबीच पार्टी एकता भएको छ ।
बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण र ध्रुवीकरणको आवश्यकतालाई मध्यनजर गर्दै नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबिच पार्टी एकता तथा संगठनात्मक समायोजनसम्बन्धी महत्त्वपूर्ण सहमति पत्रमा हस्ताक्षर भएको हो । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिनेछ भने चुनाव चिन्ह ‘पाँचकुने तारा’ तय गरिएको छ ।
नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहने र नेपाली क्रान्तिको मूल कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सहमति भएको छ । तात्कालिक कार्यनीतिका रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन र आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्ने लक्ष्य लिइएको छ ।
आन्दोलनको स्वरूप मूलत: शान्तिपूर्ण रहने भए पनि समय र परिस्थिति अनुसार सडक, संसद् र सरकार लगायतका सबै मोर्चालाई आन्दोलनका रूपमा प्रयोग गर्न सकिने नीति लिइएको छ । संगठनात्मक संरचनाअन्तर्गत आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तय गरिएको छ ।
त्यस्तै, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय र केन्द्रीय कार्य संयोजन समितिलगायतका सबै तहका पार्टी समिति एवम् जनसंगठनहरूमा सहमतिका आधारमा सङ्गठनात्मक समायोजन गरिनेछ, जुन कार्य आगामी मङ्सीर मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ ।
पार्टी समितिहरूको सञ्चालन जनवादी केन्द्रीयताको सिद्धान्त र स्पष्ट विधि–पद्धति अनुसार हुनेछ । सिद्धान्त, विचार तथा विगतका समीक्षाका विषयमा रहेका भिन्न मतहरूमाथि निरन्तर छलफल जारी राख्दै एकता राष्ट्रिय महाधिवेशनमार्फत अन्तिम निष्कर्षमा पुगिने सहमति पत्रमा उल्लेख छ ।

