२०८३ कात्तिक १८ , मंगलबार 3, November 2026, Tuesday

भेरी अस्पतालमा फोक्सो तथा निद्रासम्बन्धी रोगको विशिष्टीकृत सेवा

भेरी अस्पताल नेपालगन्जले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल रोग र निद्रासम्बन्धी समस्याको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ । अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत सोमबारदेखि विशेष क्लिनिक सञ्चालनमा ल्याएको हो । नयाँ सेवाबाट फोक्सोसम्बन्धी दीर्घरोग, श्वासप्रश्वासको समस्या तथा निद्रासम्बन्धी विभिन्न समस्या भएका बिरामी लाभान्वित हुने अस्पतालले जनाएको छ ।

डा.रञ्जीत पाण्डेका अनुसार क्लिनिकबाट दीर्घकालीन दम, पुरानो खोकी, छातीमा पानी जम्ने, क्षयरोग, फोक्सोमा बाथ रोग तथा फोक्सो खुम्चिने समस्याको उपचार र परामर्श उपलब्ध हुनेछ । त्यस्तै, सुत्दा घुर्ने, निद्राका क्रममा श्वासप्रश्वास रोकिने, दिनभर निद्रा लागिरहने तथा पर्याप्त सुते पनि शरीर ताजा महसुस नहुने समस्याको पहिचान र उपचारसमेत गरिनेछ ।

क्षयरोगका बिरामीलाई औषधिप्रति संवेदनशील तथा औषधि प्रतिरोधी क्षयरोगको उपचार र परामर्श सेवा पनि प्रदान गरिने डा.पाण्डेले बताए । यसका साथै निमोनियालगायत गम्भीर अवस्थाका बिरामीको सघन उपचार, भेन्टिलेटरमा रहेका बिरामीको व्यवस्थापन तथा भेन्टिलेटरबाट हटाउने प्रक्रियामा आवश्यक उपचार र परामर्शसमेत उपलब्ध हुने उनले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले फोक्सोको दीर्घरोग, क्यान्सर तथा निद्रासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा सुरु गरिएको बताए । उनका अनुसार यस विशिष्टीकृत सेवाले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल रोगको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्नुका साथै यस क्षेत्रको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार