पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये एक बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै धान खरिद प्रक्रिया सुरु नगर्दा किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । सरकारले समयमै धानको समर्थन मूल्य निर्धारण गरे पनि व्यापारीहरूले सो मूल्यभन्दा कममा धान खरिद गरिरहेका कारण किसान मारमा परेका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद प्रक्रिया सुरु नगर्दा स्थानीय किसानले सरकारले तोकेको मूल्यभन्दा कममा व्यापारीलाई धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् । बाँकेको नौबस्ताका किसान शंकरसिंह थारुले कम्पनीले समयमै धान खरिद सुरु नगर्दा सरकारले निर्धारण गरेको मूल्य पाउन नसकेको बताए । उनका अनुसार यस वर्ष सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ ।
तर, व्यापारीहरूले सरकारले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल ५०० देखि एक हजार रुपैयाँसम्म कममा धान खरिद गरिरहेका छन् । चाडपर्वका बेला पैसाको आवश्यकता परेकाले बाध्य भएर सस्तोमा धान बिक्री गर्नुपरेको बताउँदै किसान थारुले सरकारले मूल्य निर्धारणसँगै सुरुदेखि नै धान खरिद प्रक्रिया पनि सुरु गर्नुपर्ने माग गरे । त्यस्तै, बाँकेको जानकी गाउँपालिका–५ का किसान रामनरेश यादवले पनि आवश्यक परेको समयमा सरकारले तोकेको मूल्यमा व्यापारीले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्न बाध्य हुनुपरेको बताए ।
उनले सरकारले निर्धारण गरेको मूल्यमा नै धान खरिद गर्ने व्यवस्था मिलाउन व्यापारीका मिलमा सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिए । अहिले बाँकेका विभिन्न स्थानमा व्यापारीहरूले सरकारले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल ५०० देखि एक हजार रुपैयाँसम्म कममा धान खरिद गरिरहेका छन् । नेपालगन्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार रुपैयाँभन्दा बढी दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा धान बिक्री गरिरहेको बताएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य निर्धारण भए पनि बाँकेबाट कति परिमाणमा धान खरिद गर्ने भन्ने कोटा तय नभएकाले खरिद प्रक्रिया सुरु हुन नसकेको बताए । उनले केन्द्रबाट कोटा निर्धारण गरी खरिद सुरु गर्न निर्देशन प्राप्त हुनासाथ बाँकेमा पनि धान खरिद सुरु गरिने जानकारी दिए । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार यस वर्ष बाँकेमा गत वर्षको तुलनामा करिब १० प्रतिशत बढी धान उत्पादन हुने अनुमान गरिएको थियो ।
