२०८३ कात्तिक १७ , सोमबार 2, November 2026, Monday

अछामको सौर्य ऊर्जा प्लान्ट सात वर्षदेखि बन्द

अछामको कमलबजारमा स्थापित सुदूरपश्चिमकै पहिलो वायु तथा सौर्य ऊर्जा प्लान्ट विगत सात वर्षदेखि पूर्ण रूपमा बन्द अवस्थामा छ । २०७४ सालमा निर्माण सुरु भई सोही वर्षदेखि विद्युत उत्पादन थालिएको उक्त प्लान्ट सञ्चालन आएको दुई वर्षमै बिग्रिएपछि हालसम्म थप्प बनेको हो ।

नेपाल सरकारको एक करोड र कमलबजार नगरपालिकाको रु. ३० लाख गरी कुल रु. एक करोड ३० लाखको लागतमा ३१ किलोवाट क्षमताको यो वायु ऊर्जा प्लान्ट निर्माण गरिएको थियो । सुरुवातका दिनमा कमलबजार आसपासका करिब ५०० घरधुरीलाई उज्यालो दिएको र नमुना परियोजनाका रूपमा पर्यटकको आकर्षण बनेको यो स्थान हाल भने सुनसान प्राय: बनेको छ ।

स्थानीय व्यवसायी मिलन नेपालीका अनुसार प्लान्ट बन्द भएपछि अवलोकनका लागि आउने आन्तरिक पर्यटकको आवतजावत रोकिएको छ, जसका कारण स्थानीय व्यापार–व्यवसायमा समेत मन्दी छाएको छ । प्लान्ट बिग्रेको लामो समय बितिसक्दा पनि यसको पुन: सञ्चालनका लागि कसैले ध्यान नदिएको उनको गुनासो छ ।

तत्कालीन समयमा वायु ऊर्जा रेखदेखको जिम्मेवारी सम्हालेका प्राविधिक शिवराज अधिकारीले कमलबजारमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै यो आयोजना ओझेलमा परेको बताए । जनप्रतिनिधिहरूले चासो नदिँदा भौतिक संरचना र बहुमूल्य सामग्रीहरू बिग्रिने जोखिम बढेको उनको भनाइ छ ।

स्थानीय लोकबहादुर भण्डारीले वायु ऊर्जा प्लान्ट मर्मत गरी सुचारु गर्न सके नगरपालिका तथा अन्य सरकारी–गैरसरकारी कार्यालयहरूमा प्रयोग गर्न सकिने र केन्द्रीय प्रसारण लाइनको उत्तम विकल्प बन्न सक्ने सुझाव दिए । कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले भने प्लान्ट मर्मतका लागि यस वर्ष रु. ५ लाख बजेट विनियोजन गरिएको जानकारी दिए । साथै आयोजनालाई पुन: सञ्चालनमा ल्याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग पनि आवश्यक सहयोग मागिएको उनले बताए ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार