तिहारका बेला फूलको माग अत्यधिक हुने गरेकाले त्यसलाई पूरा गर्ने उद्देश्यले नेपालगन्जका तीन जना युवाले बाँकेको नरैनापुरमा दुई बिघा जग्गामा व्यावसायिक रूपमा सयपत्री फूलखेती गरेका छन् । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका–५, मटेहियामा नेपालगन्ज उपमहानगरपालिका–६, फुलटेक्राका सुवाषजंग शाह, कृतिराज दीक्षित र सुशीलकुमार मौर्यले करिब १० लाख रुपैयाँ लगानीमा दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गरेका हुन् ।
तीन युवामध्ये शाह मेकानिकल इन्जिनियर हुन् भने मौर्य बैंकका पूर्वकर्मचारी र दीक्षित बहालवाला सरकारी शिक्षक हुन् । तिहारका बेला ताजा फूल नपाउँदा भारतबाट ल्याइएका बासी फूलमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न आफूहरूले सामूहिक रूपमा फूलखेती गरेको सुवाषजंग शाहले बताए । उनका अनुसार उत्पादित फूल बिक्रीका लागि तयार भइसकेका छन् भने विभिन्न ठाउँबाट मागसमेत आउन थालेको छ ।
अहिले बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा तथा बर्दियाको गुलरियाका साथै काठमाडौं, सुर्खेत र दाङबाट समेत फूलको माग आइरहेको शाहले जानकारी दिए । उनले दिनप्रतिदिन माग बढ्दै गएको बताए । दुई बिघा क्षेत्रफलमा १२ हजार सयपत्रीका बिरुवा रोपेर गरिएको खेतीबाट करिब १० हजार किलो फूल उत्पादन हुने अनुमान गरिएको शाहले बताए । फूल बिक्रीका लागि तयार भइसकेको खेतीमा संलग्न अर्का युवा कृतिराज दीक्षितले जनाए ।
उनले तिहारका बेला नेपालगन्जका चार र कोहलपुरका तीन स्थानमा बिक्री स्टल राखेर सुलभ मूल्यमा ताजा फूल बिक्री गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार फूल खरिद गर्न चाहने ग्राहकलाई अर्डरअनुसार घरसम्मै पुर्याउने व्यवस्था पनि मिलाइएको छ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउँदै भारतीय फूलमाथिको निर्भरता घटाउने उद्देश्यले फूलखेती सुरु गरिएको दीक्षितले बताए ।
अर्का युवा सुशीलकुमार मौर्यका अनुसार तिहारमा घर, आँगन र पसल सजाउन तथा लक्ष्मीपूजामा प्रयोग हुने सयपत्री फूलको माग उल्लेख्य हुने गर्छ । यसअघि तिहारका बेला भारतीय फूलमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय उत्पादनबाटै माग पूरा गर्ने प्रयास गरिएको उनले बताए । आगामी वर्षदेखि फूलखेती विस्तार गर्ने योजना रहेको मौर्यले जानकारी दिए ।
नरैनापुर गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा गरिएको फूलखेतीको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले व्यावसायिक फूलखेती गर्ने कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले विशेष योजना ल्याउने तयारी गरेको जानकारी दिए । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै प्रभावकारी बजार व्यवस्थापन गर्न सके आगामी वर्षमा फूलखेती विस्तारको सम्भावना रहेको गाउँपालिकाले जनाएको छ ।
