दुर्लभ तथा संकटापन्न वन्यजन्तु मानिने सालकको अवस्था, उपस्थिति र बासस्थान पहिचान गर्न पहिलोपटक बाँके जिल्लामा वैज्ञानिक अध्ययन सुरु गरिएको छ । सालकको वास्तविक अवस्था पत्ता लगाई संरक्षणका प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले ग्रीन अस्कार अवार्डको सहयोगमा अध्ययन सुरु गरेको हो ।
अनुसन्धानका क्रममा सालकको सम्भावित बासस्थान रहेका वन क्षेत्रमा क्यामेरा ट्रयाप जडान गरी यसको आवतजावत, उपस्थिति र गतिविधि अभिलेख गर्ने काम भइरहेको सालक विज्ञ डा.तुल्सीलक्ष्मी सुदालले बताए । उनका अनुसार अनुसन्धान टोलीले बाँके राष्ट्रिय निकुञ्ज आसपासका वन क्षेत्र तथा डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्रभित्र पर्ने सम्भावित बासस्थानमा अध्ययन गरिरहेको छ ।
क्यामेरा ट्रयापबाट प्राप्त तस्बिर र तथ्यांकको विश्लेषण गरी सालकको उपस्थिति, गतिविधि र बासस्थानको अवस्थाबारे जानकारी लिइने छ । अनुसन्धान कार्य गरिरहेको साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका अनुसार नेपालमा सालकसम्बन्धी अध्ययन तथा अनुसन्धान सन् २००९ देखि सुरु भएको हो ।
नेपालमा इन्डियन र चाइनिज गरी दुई प्रजातिका सालक पाइन्छन् । सालकले कमिला र धमिरा खाएर आहाराको व्यवस्था गर्ने भएकाले वनको पारिस्थितिक प्रणाली सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्छ । एउटा वयस्क सालकले वर्षमा करिब सात करोडसम्म कमिला र धमिरा खाने अनुमान गरिएको जनाउँदै सालक विज्ञ सुदालले यसले वन क्षेत्रमा हानिकारक हुन सक्ने कीराको संख्या प्राकृतिक रूपमा नियन्त्रण गर्न सहयोग पुर्याउने बताए ।
उनले बासस्थान विनाश, चोरीसिकारी तथा अवैध व्यापारका कारण सालक संरक्षण चुनौतीपूर्ण बन्दै गएको जनाउँदै सालकको वास्तविक अवस्था र बासस्थान पहिचानका लागि वैज्ञानिक अध्ययन आवश्यक रहेको प्रष्ट पारे । क्यामेरा ट्रयापबाट प्राप्त तस्बिर र तथ्यांकले सालकको उपस्थिति तथा गतिविधिबारे प्रमाणमा आधारित जानकारी उपलब्ध गराउने उनको भनाइ छ ।
साना स्तनधारी प्राणी संरक्षणकर्मी दिव्यराज दाहालले सालकले प्राकृतिक वातावरणको सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान गर्ने भएकाले यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । सालकको संरक्षणलाई प्रभावकारी बनाउन यसको बासस्थान पहिचान र संरक्षणसँगै चोरीसिकारी नियन्त्रण आवश्यक रहेको उनले जनाए । अनुसन्धानमा संलग्न त्रिचन्द्र क्याम्पसकी विद्यार्थी रमिला गुरुङले क्यामेरा ट्रयापबाट प्राप्त तथ्यांकले सालकसम्बन्धी अध्ययनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् ।
यसबाट सालकको उपस्थिति र गतिविधिबारे वैज्ञानिक आधार तयार हुनुका साथै आगामी अनुसन्धानमा समेत सहयोग पुग्ने उनले जनाइन् । बाँके राष्ट्रिय निकुञ्ज, राप्तीसोनारी गाउँपालिका र डिभिजन वन कार्यालय बाँकेको सहकार्यमा भइरहेको सो अध्ययनले जिल्लामा सालकको वास्तविक अवस्था उजागर गर्ने अपेक्षा गरिएको छ । अध्ययनबाट प्राप्त नतिजाका आधारमा सालकको बासस्थान संरक्षण, चोरीसिकारी नियन्त्रण र दीर्घकालीन संरक्षण रणनीति बनाउन सहयोग पुग्ने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

