२०८३ कात्तिक १७ , सोमबार 2, November 2026, Monday

कर्णाली याक्समा जिशन आलम अनुबन्ध

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन आलमलाई अनुबन्ध गरेको छ । आइतबार जिशनलाई बाँकी खेलको लागि अनुबन्ध गरेको कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराए । अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरे ।

‘जिशन पछिल्लो समय राम्रो लयमा रहेका कारण हामीले अनुबन्ध गरेका हौँ । उनको आगमनपछि कर्णाली याक्सो शीर्षक्रम बलियो अझै बलियो हुने विश्वास लिएका छौँ,’ उनले भने । अध्यक्ष घिमिरेले टिममा दुई बंगलादेशी खेलाडी रहिसकेकाले जिशनलाई पनि नेपालको वातावरणमा खेल्न सहज हुने उल्लेख गरे । जिशन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशका खेलाडी हुन् ।

यसअघि अरिफुल इस्लाम र अकवर अली अनुबन्ध भएका थिए । २१ वर्षीय ब्याटिङ अलराउण्डर जिशनले बंगलादेशको यू–१९ हुँदै ए टिमबाट खेलिसकेका छन् । यस्तै, बंगलादेशको फ्रेन्चाइज टोलीहरू राजशाही वारिअर्स र दुरबार राजशाहीबाट खेलेका छन् । उनले लिष्ट ए मा ४९ खेल खेल्दै एक हजार २९५ रन बनाएका थिए । त्यस्तै, २७ टी–२० आईमा ५७१ रन बनाएका छन् ।

जिशनले अस्ट्रेलियामा भएको टप एण्ड टी–२० शृंखलामा नेपालविरुद्ध पनि सानदार प्रदर्शन गरेका थिए । बंगलादेशले नौ विकेटको जित निकाल्दा अविजित ५२ रन बनाएका थिए । उनले सो खेलमा २९ बलमा तीन चौका र चार छक्का हिर्काएका थिए । सोही खेलमा कर्णाली याक्सबाट खेलिरहेका अरिफुल इस्लामले पनि ३४ रन बनाएका हुन् ।

कर्णाली याक्सले सोमबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग खेल्दै छ । सो खेलमा जिशन उपलब्ध हुनेछन् । प्रतियोगिताको पहिलो दुबै खेलमा जित निकाल्दै कर्णालीले प्रभावशाली सुरुआत गरिसकेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई चार विकेटले हराएको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार