२०८३ कात्तिक १७ , सोमबार 2, November 2026, Monday

उखु किसानले भुक्तानी नपाउँदा चाडपर्वमा पनि ऋण र ब्याजकै चिन्ता

तिहार तथा छठ पर्व नजिकिदैँ गर्दा पश्चिम नवलपरासीका उखु किसानका आँखा भने हर्षले होइन, चिन्ता र आँसुले रसाइरहेका छन् । दिनरात खेतमा पसिना बगाएर उत्पादन गरेको उखु चिनी मिललाई बुझाएको वर्षौँ बितिसक्दा पनि भुक्तानी नपाएपछि यहाँका किसान परिवार यो वर्षको चाडबाडमा रित्तो हात बस्न बाध्य भएका छन् ।

चाडपर्वका बेला नयाँ लुगा, घरखर्च, बालबच्चाको पढाइ र औषधोपचार खर्च जुटाउनभन्दा साहुको ऋण र बैंकको ब्याज कसरी तिर्ने भन्ने पिरलोले किसानलाई गाँजेको पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले बताए । उनले चिनी उद्योगहरूले लामो समयदेखि किसानको बक्यौता रकम भुक्तानी नगरी गम्भीर आर्थिक सङ्कटमा पारेको बताए ।

उनका अनुसार इन्दिरा सुगर मिल र सुनवलस्थित लुम्बिनी चिनी उद्योग दुवैले किसानलाई दिनुपर्ने भुक्तानी समयमा नदिँदा समस्या भएको छ । उद्योगीहरूको गैरजिम्मेवार व्यवहारका कारण किसानहरू चाडपर्वको मुखमासमेत थप पीडामा पर्नुपरेको यादवको भनाइ छ । पश्चिम नवलपरासीको प्रतापपुरस्थित इन्दिरा सुगर मिलले विगतदेखि नै किसानको करिब सात करोड रुपियाँ भुक्तानी गरेको छैन ।

मिल विगत दुई वर्षदेखि पूर्ण रूपमा बन्द छ भने सञ्चालक राकेश अग्रवाल किसानको रकम नदिई सम्पर्कविहीन भएका छन् । कानुनी कारबाहीका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार सञ्चालक अग्रवालविरुद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमै ठगीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको छ ।

मिल सञ्चालक हाल भारतमा बस्दै आएकाले सम्पर्कमा नआएको र प्रहरीले तोकिएको समयभित्रै अनुसन्धान पूरा गरी मुद्दाको फाइल जिल्ला अदालत पठाउने तयारी गरिरहेको पौडेलले जानकारी दिए । पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगको भने किसानलाई दिनुपर्ने बक्यौता रकम उल्लेख्य रूपमा घट्दै गएको देखिन्छ । उद्योगले आर्थिक वर्ष २०७९/०८० को करिब ७५ लाख र गत वर्षको करिब १० देखि १२ लाख रुपैयाँ गरी कुल ८५ देखि ८७ लाख रुपैयाँ मात्र किसानलाई तिर्न बाँकी रहेको जनाएको छ ।

उद्योगका कार्यकारी अधिकृत केशवराज आचार्यका अनुसार उक्त बाँकी बक्यौता रकम यस वर्षको मिल सञ्चालन हुनुभन्दा अगावै भुक्तानी गरिसक्ने गरी मिलले तयारी गरिरहेको छ । माटोमा पसिना बगाएर उब्जाएको ‘नगदे बाली’ अहिले पश्चिम नवलपरासीका किसानका लागि ‘उधारो र दु:खद् बाली’ बनेको छ । जिल्ला प्रशासनको ढोकादेखि काठमाडौँको माइतीघर मण्डलसम्म चिसो भुइँमा बसेर आन्दोलन गर्दा पनि भुक्तानी नपाएको किसानहरूको गुनासो छ ।

नवलपरासी (बद्र्धघाट सुस्ता पश्चिम)मा साना–ठुला गरी मुख्यतया चार वटा चिनी उद्योग रहेका छन् । तीमध्ये मोहिनी सुगर मिल र इन्दिरा सुगर मिल लामो समयदेखि पूर्ण रूपमा बन्द अवस्थामा छन् । हाल वागमती चिनी उद्योग र लुम्बिनी चिनी उद्योग मात्र आंशिक तथा मौसमी रूपमा सञ्चालनमा आउने गरेका छन् ।

कुनै समय वार्षिक ३० देखि ४५ लाख क्विन्टलसम्म उखु उत्पादन हुने पश्चिम नवलपरासीमा भुक्तानीको झन्झट, उद्योगीको ठगी र लागत नउठ्ने समस्याका कारण किसानहरू केरा, तरकारी तथा अन्य वैकल्पिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । फलस्वरूप, हाल जिल्लामा वार्षिक करिब १५ देखि १८ लाख क्विन्टल मात्र उखु उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार