रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले चण्डिका श्रेष्ठको माया मारिसकेका थिए । बाढी आएको आठ दिनसम्म अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर उनको काजकिरिया नै सुरु गरिसकेको थियो । तर, मृत्यु संस्कार चलिरहँदा बाढी आएको ११ औँ दिनमा ६४ वर्षीया चण्डिकालाई उद्धारकर्ताले जीवितै फेला पारेका छन् ।
नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो । बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट उनलाई अर्धअचेत अवस्थामा निकालिएको थियो । उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर उनलाई अहिले काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा ल्याइएको छ ।
बाढीले चण्डिका र उनका श्रीमान् घरभित्रै रहेको बेला साढे चार तल्लाको घरलाई नै जुरुक्कै उचालेर लगेको थियो । उनका सम्धी रमेशमान श्रेष्ठका अनुसार बाढीले बगाएको घर त्रिशूलीको किनारमा पुगेर अड्किएको थियो । ‘हामीले आठौँ दिनसम्म धेरै खोज्यौँ,’ रमेशमानले भने, ‘कहीँ कतै नभेटेपछि सम्भव छैन भनेर आश मार्यौँ ।’ चण्डिकाका ज्वाइँले दुई–तीन दिनसम्म बेत्रावती र त्रिशूलीको किनारमा खोजतलास गरेका थिए ।

तर, वरपर लासहरू गन्हाउन थालेको र मास्कविना जानै नसकिने अवस्था आएपछि उनीहरू निराश भएर फर्किए । दलदलका कारण उद्धार टोली समेत पुग्न सकेको थिएन । ‘फर्केर आएको भोलिपल्ट वा पर्सिपल्ट परिवारका सबै सल्लाह गरे,’ रमेशमानले थपे, ‘कुश बनाएर काजकिरिया र दाहसंस्कार गर्ने निधो भयो ।’ त्यसपछि काठमाडौँको सानो भ¥याङस्थित घरमा काजकिरिया सुरु गरिएको थियो ।
एकातिर परिवार किरियामा बसेको थियो, अर्कोतिर रमेशमानको मनले भने पूर्ण रूपमा हार मानेको थिएन । ‘घरमै हो भने त पानी वा चाउचाउ जे खाएर भए पनि माथिल्लो तल्लामा गएर बसिरहेकी होली,’ उनले आफ्नो मनमा उब्जिएको कुरा सुनाए, ‘एकचोटी फेरि खोजौँ भन्ने मलाई लागिरहेको थियो ।’ वडा कार्यालयको प्रक्रिया र परिस्थितिले गर्दा उनीहरूले दाहसंस्कारको काम अघि बढाएका थिए ।
तर, ११ औँ दिनमा जब चण्डिका जीवितै फेला परेको खबर आयो, परिवारको खुसीको सीमा रहेन । छोरीको फोन र फेसबुकबाट खबर पाएलगत्तै रमेशमान अस्पताल पुगे । अस्पताल पुगे पनि उनले सम्धिनीलाई भेट्न भने पाएका छैनन् । चिकित्सकले ७२ घण्टासम्म बिरामीलाई भेट्न नदिने भनेपछि उनी बाहिरैबाट हेरेर पर्खिरहेका छन् । अस्पताल परिसरमा चण्डिकाको नाति पनि छ, जो लगातार रोइरहेको छ ।
‘नाति रोएर हैरान पारेको छ, केही खाएको पनि छैन,’ रमेशमानले भने, ‘फोटोमा देखेपछि मेरी आमा चाहियो भन्दै जिद्दी ग¥यो र यहाँ लिएर आएको हुँ ।’ अघिल्लो दिनमात्रै नातिले दिनभरि भगवानको भजन गाएको उनले सम्झिए । ‘यो संसारमा भगवान साँच्चै रहेछ जस्तो लाग्यो,’ रमेशमानले भावुक हुँदै भने ।
