रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि बाँकेमा आफन्तको डिएनए परीक्षण गर्न नमूना संकलन सुरु गरिएको छ । भेरी अस्पतालमा शनिबार १६ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको अस्पतालका फरेन्सिक विशेषज्ञ डा.अरविन शाक्यले जानकारी दिए ।
नेपाल प्रहरीसँगको सहकार्यमा नमूना संकलनको काम भइरहेको उनले जानकारी दिए । संकलन गरिएका नमूना शनिबार नै काठमाडौं पठाइएको छ । बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि उनीहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण गर्न नमूना संकलन सुरु गरिएको हो ।
बाँकेका प्रहरी प्रमुख (एसपी) अंगुर जिसीले डिएनए परीक्षणका लागि नमूना दिन आउने अधिकांश कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका बेपत्ताका आफन्तहरू रहेको बताए । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बाँकेका २९ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये कोहलपुरका दुई जनाको शव फेला परेको छ भने अझै २७ जना सम्पर्कविहीन रहेका छन् ।
