२०८३ भदौ २१ , आइतबार 6, September 2026, Sunday

भोटेकोशी विपत्ति : कति भयो पशुधनको क्षति ?

भोटेकोशीमा हालै गएको बाढी र पहिरोबाट पशुपन्छी तथा मत्स्य क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लामा पशुपन्छीका गोठ, खोर तथा फार्ममा क्षति पुगेको पशु सेवा विभागले प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

बाढी प्रभावित क्षेत्रमा एक लाख १६ हजार ५३९ कुखुरा, तीन हजार ३४० बाख्रा, एक हजार ५८३ बंगुरको क्षति भएको विभागको प्रारम्भिक तथ्यांक छ । भैंसी–गाई एक हजार ६४० र माछा २६ हजार ५८९ नष्ट भएका छन् । उक्त माछा केजीमा ६८८ रहेको विभागको तथ्यांक छ ।

बाढी प्रभावित जिल्लागत तथ्यांकमा रसुवाको क्षति बढी छ । रसुवामा मात्रै ३१५ गाई–भैंसी र एक हजार २७० बाख्रा क्षति भएको प्रारम्भिक विवरण छ । नुवाकोटमा एक हजार २७८ गाई–भैंसी, दुई हजार बाख्रा, एक लाख १२ हजार ९१३ कुखुरा, एक हजार ५०० बंगुर र ६८८ किलो माछा क्षति भएको विभागले जनाएको छ ।

बाढीले पशुचौपाया मात्रै नभई तिनका गोठ पनि नष्ट गरेको विभागको तथ्यांक छ । यसअन्तर्गत धादिङमा २३ गोठ, १५ बंगुर फार्म, ४७ कुखुरा खोर र १६ वटा बाख्रा खोरमा क्षति पुगेको छ । गोरखाको गण्डकी गाउँपालिकामा दुई गाईगोठ पूर्ण रूपमा क्षतिग्रस्त बनेको विभागको तथ्यांक छ ।

पशु सेवा कार्यालयको एउटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को भवनमा आंशिक क्षति पुगेको छ । बाढीले नुवाकोटस्थित मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीमा पनि ठूलो क्षति पुर्याएको छ । केन्द्रका कार्यालय तथा क्वाटरसहित १३ वटा भवन, एउटा बोलेरो पिकअप भ्यान र दुईवटा मोटरसाइकलमा क्षति पुर्याएको विभागको विवरणमा उल्लेख छ ।

मरेका पशुको व्यवस्थापन गर्न कार्यविधि

बाढीका कारण मरेका पशुपन्छीको घटनास्थलमै व्यवस्थापन गर्ने कार्यविधि जारी गर्दै तिनको व्यवस्थापनलाई तीव्रता दिइएको छ । मरेका पशुपन्छीलाई कम्तीमा ३ फिट माटोले ढाक्न मिल्ने गरी चौडाइ भएको खाल्डो तयार गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

पशुपन्छीको संख्या तथा आकार अनुसार कम्तीमा तीन फिट माटोले ढाक्न मिल्ने गरी चौडाइ भएको खाल्डो तयार गर्नुपर्ने कार्यविधिमा जनाइएको छ । मरेका पशुपन्छीलाई सावधानीपूर्वक खाल्डोमा राखेपछि त्यसमा चुनासहित जैविक सूक्ष्मजीव नाशक पदार्थ छर्कनुपर्ने कार्यविधिमा उल्लेख छ ।

विभागको विवरण अनुसार हालसम्म गाई, भैंसी, बाख्रा, बंगुर, कुखुरा तथा कुकुरलगायत मृत पशुपन्छीको व्यवस्थापन गरिएको छ । स्थानीय सरकार र जिल्लास्थित पशु सेवा कार्यालयसँगको समन्वयमा टोली परिचालन गरी मृत पशुपन्छीको व्यवस्थापन भइरहेको विभागका महानिर्देशक उमेश दाहालले जनाए ।

विभागले टोली खटाएर चितवन र नवलपरासी आसपासका क्षेत्रमा भेटिएका मृत पशुपन्छीलाई सम्भव भएसम्म घटनास्थलमै व्यवस्थापन गरेको छ । ‘मरेका पशु अन्त लान नसकिने भएकाले जहाँ भेटिन्छ, त्यहीं व्यवस्थापन गरेर नष्ट गर्ने गरिएको छ,’ दाहालले भने, ‘स्थानीय सरकारको समन्वयमा जिल्लास्थित पशु सेवा कार्यालयमार्फत मरेका पशुको व्यवस्थापनको काम भइरहेको छ ।’

विभागले प्रभावित जिल्लामा आवश्यक औषधि र खोपको पनि व्यवस्था गरिरहेको दाहालले बताएका छन् । पशुपन्छीमा रोग फैलिन नदिन तथा मृत पशुपन्छीबाट दुर्गन्ध र संक्रमणको जोखिम कम गर्न स्थानीय तह तथा जिल्लास्थित पशु सेवा कार्यालयमार्फत आवश्यक व्यवस्थापन भइरहेको दाहालको भनाइ छ ।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार