२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

बाँकेमा आन्तरिक रोजगार प्रवर्द्धन गर्दै स्थानीय तह

वैदेशिक रोजगारीको मोह र बेरोजगारीको बाध्यताबीच नेपालका ग्रामीण बस्तीहरू विस्तारै खाली हुँदैछन् । तर बाँकेका स्थानीय तहहरुले भने गाउँमै रोजगारीको सिर्जना गरिरहेका छन् । हिजोसम्म घरमै बेरोजगार बसेका हातहरूले आज आफ्नै वडाका नाली सफा गर्ने, बाटो मर्मत गर्ने र पर्खाल लगाउने जस्ता काम पाएका छन् ।

खजुरा वडा नम्बर १ की गोरी सुनारको अनुभव यसको एउटा बलियो उदाहरण हो । उनले भनिन्, ‘काम नगरेरै बेरोजगार बसेको बेला रोजगार दिनुभयो हामीलाई । बेरोजगार भएर हामी घरमा बसिरहेका थियौं । आफ्नै गाउँठाउँमा, आफ्नै घरमा बसेर, घरकै खाएर काम गरियो । बाहिर जानु परेन, त्यही नै खुसी लाग्यो ।’

गोरीजस्तै धेरै स्थानीय बासिन्दाहरू अहिले ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मार्फत काममा जोडिएका छन् । वडा नम्बर २ मा ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मार्फत जाली निर्माण र पर्खाल बनाउने जस्ता कामहरू सफलतापूर्वक सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष बिरसिंह थापाले बताए ।

‘हामीले खजुरा गाउँपालिका २ मा जाली निर्माण र पर्खाल बनाउने कार्यक्रम ग¥यौं । आफ्नै ठाउँमा काम गर्न पाउँदा धेरै राम्रो लागेको छ,’ उनले भने । ‘आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम’ले केवल रोजगारी मात्र दिएको छैन, स्थानीय आवश्यकताका पूर्वाधारहरू पनि निर्माण गरिरहेको छ ।

खानेपानी पाइपलाइन विस्तार, नयाँ ट्रयाक निर्माण, सार्वजनिक शौचालय र नाली सरसफाइ जस्ता कार्यहरूले गाउँको स्वरूप बदल्दैछन् । ‘उपाध्यक्षसँग एकल महिला रोजगार कार्यक्रम’ अन्तर्गत २० जना एकल महिलाहरूलाई ३० दिने हाते होजियारी तालिम दिएर स्वरोजगार बनाइएको थियो ।

श्रमको सम्मान नै विकासको आधार हो भन्ने मान्यताका साथ खजुरा गाउँपालिकाले उत्कृष्ट श्रमिकहरूलाई पुरस्कृत गर्ने परम्पराको पनि थालनी गरेको छ । ‘पसिना बगाउनेहरूलाई अपहेलना गर्ने प्रचलनलाई कमजोर बनाउन हामीले उहाँहरूलाई पुरस्कृत गरेका छौँ ।’ खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले बताए ।

‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मार्फत सञ्चालन गरिएका ६ ओटा आयोजनामा राप्तीसोनारी गाउँपालिकाका १३२ जनाले रोजगारी पाएका छन् । यस्तै बैजनाथ गाउपालिकामा ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मार्फत ४६ जनाले रोजगारी पाएका छन् । नरैनापुर गाउपालिकामा ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मार्फत २० जनाले रोजगारी पाएका छन् ।

त्यस्तै ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मार्फत जानकी गाउँपालिकामा पाँच जनाले राजगारी पाएका छन् । यहाँका स्थानीय तहले समावेशी विकासलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् । बाँकेका गाउँपालिकाले गरेको यो प्रयासले आफ्नै पसिनाको मूल्य आफ्नै माटोमा खोज्न बाटो देखाएकोे छ ।

बाँकेमा बेरोजगार महिला धेरै

बाँके जिल्लामा सुचिकृत बेरोजगार महिलाको संख्या धेरै पाइएको छ । आर्थिक बर्ष २०८२–०८३ मा चार हजार ५९४ सुचिकृत बेरोजगार रहेकोमा अधिकांश महिला छन् । बाँकेमा एक हजार २१३ बेरोजगार पुरुष रहेकोमा तीन हजार ३८१ महिला बेरोजगार महिला रहेको तथ्याङ्क छ । जसमध्ये सबैभन्दा धेरै बैजनाथ गाउपालिकामा एक हजार ५६ महिला बेरोजगार छन् । यहाँ बेरोजगार पुरुषको संख्या ३२८ मात्र छ ।

७७१ जना बेरोजगार भएको कोहलपुर नगरपालिकामा ६७३ जना महिला छन् । ७७८ बेरोजगार रहेको खजुरा गाउँपालिकामा ५९७ जना महिला मात्र छन् । नेपालगन्ज उपमहानगरपालिकाका ५५७ बेरोजगार मध्ये ३३१ जना महिला छन् । यता ८५ पुरुष बेरोजगार भएको राप्तीसोनारी गाउपालिकामा २९५ जना महिला बेरोजगार छन् । यसैगरि नरैनापुर गाउँपालिकामा ६७ जना र जानकीमा ६३ जना महिला बेरोजगार छन् ।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार