२०८३ भदौ २१ , आइतबार 6, September 2026, Sunday

कृष्णभीरमा सडक भत्किएपछि वैकल्पिक मार्गबाट इन्धन आपूर्ति निरन्तर

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ ।

गएको भाद्र १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू रोकिएका थिए । त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौं भित्र्याउन थालेको हो ।

निगमका अनुसार भदौ १८ गते करिब २४, ५०० र भदौ १९ गते करिब ३४, १३४ सिलिन्डर उपत्यका भित्र्याइएको छ । आपूर्ति प्रणाली सहज राख्न सार्वजनिक बिदाका दिनमा पनि रिफिलिङ र ढुवानी सुचारु राख्न ग्यास उद्योगहरूलाई निर्देशन दिइएको छ ।

यसैबिच, भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लाहरूमा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ ।

उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म एक लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ । साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ ।

Skip to PDF content
प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार