भोटेकोशी बाढीपीडितलाई वितरण गर्न तयारी गरिएका राहत सामग्रीमा गम्भीर लापरबाही भेटिएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको आकस्मिक अनुगमनका क्रममा चामल, आटा, भुजा, चिप्सलगायत म्याद गुज्रेका खाद्य सामग्री फेला परेका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौंस्थित डिभिजन कार्यालयको संयुक्त टोलीले बबरमहल, सामाखुसीलगायत पाँच स्थानमा गरेको अनुगमनका क्रममा सरकारी निकाय तथा प्रहरी तालिम केन्द्रमा समेत म्याद सकिएका सामग्री भेटेको हो ।
बबरमहलमा ३० थान करेन्ट चिप्स र २१ बोरा भुजा तथा सामाखुसी प्रहरी तालिम केन्द्रमा चोकोफन र चक्की आटा म्याद गुज्रिएको अवस्थामा भेटिएको विभागले जनाएको छ। त्यहाँ म्याद सकिन दुई दिन मात्र बाँकी रहेको ५९ प्याकेट दालमोठ पनि वितरणमा रोक लगाइएको छ ।
त्यस्तै, राधा स्वामी सत्सङमा २५ किलोको एक बोरा जयश्री उसिना चामल म्याद सकिएको अवस्थामा भेटिएको थियो । विभागले म्याद गुज्रेका तथा उपभोगका लागि जोखिमयुक्त सामग्रीलाई छुट्टै ‘एक्स्पायर्ड जोन’मा राखेर आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।
