२०८३ असार १५ , सोमबार 29, June 2026, Monday
छाडा पशु चौपाया

छाडा गाईगोरुको सङ्ख्या बढेपछि गौशालाहरूलाई बोझ

कुनै समय गाउँघरमा समृद्धिको प्रतीक मानिने गाई अहिले धेरैका लागि बोझ बन्न थालेका छन् ।
विमला चौधरीविमला चौधरी । बाँके । २०८३ असार १५ गते सोमबार
गौशालाका गाईहरू । तस्वीरहरु : विमला चौधरी

छाडा छोडिएका पशु चौपायाले किसानका बालीनाली नष्ट गर्ने, सडक दुर्घटनाको जोखिम बढाउने समस्या बढेपछि केही वर्षयता बाँकेका स्थानीय तहहरूले गौशाला निर्माण गरेर गाई संरक्षणको प्रयास थालेका छन् । तर गौशालाहरू भरिँदै जाँदा नयाँ सङ्कट देखापरेको व्यवस्थापकहरूले बताएका छन् ।

बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा सञ्चालित आठ वटा गौशालामा हाल दुई हजार ६५१ भन्दा बढी गाई आश्रित रहेको तथ्याङ्क छ । तीमध्ये सबैभन्दा धेरै गाई राप्ती सोनारी गाउँपालिका–२ स्थित मङ्गल राधिका षदानन्द धामको करिब नौ सय गाई राख्ने क्षमताको गौशालामा अहिले एक हजार १०० को हाराहारी गाई रहेका छन् ।

गौशालाका गाई सेवक तथा महन्त प्रीतम दासका अनुसार यहाँ रहेका अधिकांश गाईहरु बाँकेका विभिन्न क्षेत्रका सडकबाट उद्धार गरिएका हुन् । ‘राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाले सङ्कलन गरेका गाई यहीँ ल्याएर राख्ने गरिएको छ । सम्भवतः नेपालकै सबैभन्दा ठूलो गौशाला यही हो,’ दासले बताए ।

तर गाईको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापन कठिन बन्दै गएको उनी बताउँछन् । ‘स्थानीय सरकारले वर्षमा दुई–चार लाख रुपैयाँ सहयोग गर्दा धेरै सहयोग गरेजस्तो देखिएला, तर गौशाला चलाउन त्यो रकम हात्तीको मुखमा जिराजस्तै हो,’ महन्त दास भन्छन्, ‘गाईको आहारा र कर्मचारीको पारिश्रमिकमै दैनिक एक लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ ।’

उनका अनुसार गौशालामा अहिले ४० जना कर्मचारी छन् । तीमध्ये १५ जना नियमित र २५ जना दैनिक ज्यालादारीमा कार्यरत छन् । करिब १७४ हेक्टर क्षेत्रफलमा फैलिएको गौशालामा पर्याप्त खुला जमिन भए पनि गाई राख्ने टहरा र जनशक्तिको अभाव छ । ‘यहाँ ठाउँको कमी छैन, तर थप टहरा र कर्मचारी आवश्यक छ,’ उनी भन्छन् ।

गौशालाभित्र करिब १० बिघा जमिनमा घाँस खेती गरिएको छ । सुत्केरी र बिरामी गाईलाई हरियो घाँस तथा अन्य गाईलाई पराल, भुस, पिना लगायत दाना मिसाएर आहारा खुवाइन्छ । ‘गाउँगाउँमा पराल खोज्न जाँदा सजिलै पाइँदैन,’ दास भन्छन्, ‘गाईको मल दिन्छौँ, पराल दिनुहोस् भन्दा पनि धेरैले मान्दैनन् ।’ दैनिक पाँच ट्रली पराल आवश्यक पर्ने भए पनि ढुवानीका लागि हाल तीन वटा मात्रै ट्र्याक्टर उपलब्ध छन् ।

गाईसँग जोडिएको माया र जिम्मेवारी

गौशालामा काम गर्नेहरूका लागि यी गाई परिवारका सदस्यजस्तै बनेका छन् । गौशालामा सेवा गर्दै आएकी गौरी आचार्यले सडकमा घाइते, अशक्त र गर्भवती अवस्थामा भेटिएका गाईको पनि उद्धार गरेर संरक्षण गर्दै आएको बताइन् ।

कतिपय अवस्थामा बच्चा जन्माएपछि गाईको मृत्यु हुने र टुहुरा बाच्छाबाच्छीलाई कर्मचारीहरूले हुर्काउने गरेका छन् । ‘चार महिनासम्म बोतलबाट दूध खुवाएर बाच्छाबाच्छी हुर्काउँछु,’ आचार्य भावुक हुँदै भन्छिन्, ‘उनीहरू मलाई आमाजस्तै गरी पछ्याउँछन् । मलाई पनि आफ्नै सन्तानजस्तै माया लाग्छ ।’

सडकबाट गौशालासम्म, तर समस्या अझै बाँकी

केही वर्षअघि बाँकेका सडक र गल्लीमा छ्यापछ्याप्ती देखिने छाडा गाई अहिले केही गौशालामा व्यवस्थापन भएका छन् । त्यसैले सडकमा गाईको सङ्ख्या घटेको अनुभव स्थानीयहरुले गरेका छन् । तर समस्या पूर्णरूपमा समाधान भएको छैन । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा भेटिएका गाईलाई नियन्त्रणमा लिएर कान्जी हाउसमा राख्ने र सङ्ख्या बढेपछि राप्ती सोनारीको गौशालामा पठाउने गरेको छ ।

तीन वर्षअघि गौशालालाई ३५ लाख रुपैयाँ सहयोग गरेको उपमहानगरपालिकाले केही दिनअघि मात्रै थप ३०० गाई त्यहाँ पठाइसकेको छ । नगर प्रहरी प्रमुख सूर्य बोगटीका अनुसार खुला सीमाका कारण नेपालगन्ज क्षेत्रमा नयाँ छाडा गाई थपिने क्रम रोकिएको छैन । ‘गौशालाले अब गाई नल्याउनुहोस् भन्न थालिसकेको छ,’ उनी भन्छन्, ‘अब थप भेटिने गाई कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ ।’

स्थानीय तहको प्रयास, तर स्रोतको अभाव

राप्तीसोनारी गाउँपालिकामा मङ्गल राधिका षदानन्दधाम बाहेक वडा नं.९ मा वैंकटेश्वर गौशाला, वडा नं.४ मा राधाकृष्ण गौशाला र वडा नं.७ मा पोखरा माता गौशाला सञ्चालनमा छन् । ती गौशालामा ७० देखि २०० सम्म गाई राखिएका छन् ।

गाउँपालिका उपाध्यक्ष मनीषासिंह थारुका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा १२ लाख र आर्थिक वर्ष २०८२–०८३ मा आठ लाख रुपैयाँ गौशाला व्यवस्थापनमा खर्च गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि गौशाला व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले आर्थिक सहयोगसँगै कृषि शाखामार्फत् विभिन्न जातका घाँसका बीउ निःशुल्क वितरण गर्दै आएको छ । नरैनापुर र डुडुवामा पनि यस्तै समस्या रहेको पाइएको छ । नरैनापुर–३ को गौशालामा ८०० र नरैनापुर–५ को गौशालामा १५० भन्दा बढी गाई छन् । डुडुवा–५ कम्दीस्थित गौशालामा पनि करिब १०० गाई राखिएका छन् ।

कुनै समय गाउँघरमा समृद्धिको प्रतीक मानिने गाई अहिले धेरैका लागि बोझ बन्न थालेको बताइन्छ । दूध दिँदासम्म घरको आँगनमा माया गरेर पालिने गाई र खेतबारी जोत्न काम लाग्दासम्म जतन गरिने गोरु बुढो भएपछि भने सडक र गल्लीमा अलपत्र छाडिने क्रम बढ्दो रहेको जानकारहरूले बताएका छन् ।

प्लास्टिक अर्को खतरा

गौशाला सञ्चालकहरूका अनुसार शहरी क्षेत्रका सडकमा भेटिने अधिकांश छाडा गाईले प्लास्टिक खाएका हुन्छन् । एकपटक प्लास्टिक खाइसकेको गाईलाई लामो समयसम्म बचाउन कठिन हुने उनीहरूको अनुभव छ । महन्त प्रीतम दास भन्छन्, ‘यदि गाई संरक्षणलाई प्रभावकारी बनाउने हो भने स्थानीय सरकारले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’

उनका अनुसार गौशाला केवल गाई बचाउने ठाउँ मात्र होइन, किसानको बाली जोगाउने, सडक दुर्घटना घटाउने र समाजलाई ठूलो क्षतिबाट बचाउने माध्यम पनि हो । ‘गाई संरक्षण र जनधनको सुरक्षा दुवैका लागि गौशालाको भूमिका महत्त्वपूर्ण छ,’ उनी भन्छन्, ‘यसलाई व्यवस्थित बनाउन सबैको साथ र सहयोग आवश्यक छ ।’

स्रोत : बीबीसी
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार