२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

अमेरिका-इरान युद्धविराम संकटमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १५ गते सोमबार

अमेरिका र इरानबीच भएको अन्तरिम सम्झौता संकटमा परेको छ । दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै खाडी क्षेत्रमा पुनः सैन्य कारबाही गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले शनिबार इरानका विभिन्न सैन्य ठेगानामा हवाई आक्रमण गरेको छ ।

त्यसको जवाफमा इरानले आइतबार बिहान बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई मिसाइल तथा ड्रोनमार्फत निशाना बनाएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार इरानका निगरानी प्रणाली, सञ्चार संरचना, हवाई प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारणस्थल तथा समुद्री सुरुङ (माइन) बिछ्याउने क्षमतासँग सम्बन्धित संरचनालाई लक्षित गरी आक्रमण गरिएको छ ।

अमेरिकी सेनाले शनिबार बिहान एउटा तेल ट्यांकरमाथि भएको हमलाको प्रत्यक्ष जवाफस्वरूप यो कारबाही गरिएको जनाएको छ । अमेरिकी सेनाले इरानलाई युद्धविराम सम्झौता पालना गर्ने अवसर दिइएको भए पनि तेल बोकेको जहाज ‘किकु’ माथिको हमलाले त्यो अवसर गुमाएको दाबी गरेको छ ।

इरानको अस्तित्व मेट्ने ट्रम्पको धम्की

ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि इरानका मिसाइल, ड्रोन भण्डारण केन्द्र तथा तटीय राडार प्रणालीमाथि आक्रमण गरिएको बताएका छन् । उनले चेतावनी दिँदै एउटा यस्तो समय आउन सक्छ, जब अमेरिका सम्झाउने वा व्यावहारिक बन्ने स्थितिमा रहने छैन र सैन्य रूपमा आफ्नो अभियान पूरा गर्ने बताए ।

उनले भनेका छन्, ‘यदि, त्यस्तो अवस्था आयो भने इस्लामिक रिपब्लिक अफ इरानको अस्तित्व नै रहने छैन ।’ ट्रम्पको उक्त अभिव्यक्तिपछि कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरी मिसाइल तथा ड्रोन अवरोध गर्न थालेको जनाएको छ । बहराइनको गृह मन्त्रालयले पनि देशभर खतराको साइरन बजाइएको जानकारी दिएको छ ।

इरानको जवाफी हमला

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले आफ्नो नौसेना र वायुसेनाले संयुक्त रूपमा कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको पुष्टि गरेको छ । आईआरजीसीले कुवेत र बहराइनमा रहेका आठवटा अमेरिकी सैन्य अखडाहरूलाई आफ्ना सुरक्षा बलहरूले पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ ।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा हालैका अमेरिकी आक्रमणहरू युद्धविरामको उल्लंघन भएको दाबी गर्दै त्यसको जवाफस्वरूप प्रतिकारात्मक कारबाही गरिएको जनाएको छ । अमेरिकी कदमका कारण कूटनीतिक प्रक्रिया पूर्ण रूपमा अवरुद्ध भएको दाबी पनि गरिएको छ । यसैबीच, इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले अमेरिकी सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै नयाँ चेतावनी दिएका छन् ।

‘होर्मुज जलमार्ग आगामी ३० दिनसम्म पूर्ण रूपमा इरानको नियन्त्रणमा रहनेछ,’ उनले भने, ‘यस अवधिमा अमेरिकाले कुनै पनि नयाँ सैन्य आक्रमण गरे त्यसले यस क्षेत्रको पहिलेदेखि नै संवेदनशील र नाजुक सुरक्षा अवस्थालाई अझ गम्भीर र जटिल बनाउनेछ ।’ यसअघि बहराइनको विदेश मन्त्रालयले इरानबाट आफ्नो देशतर्फ धेरै ड्रोन पठाइएको आरोप लगाउँदै त्यसलाई नागरिक सुरक्षामाथिको खुला खतरा भनेको थियो । बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालय रहेको छ ।

होर्मुज जलमार्ग पुनः तनावको केन्द्र

होर्मुज जलमार्ग फेरि अन्तर्राष्ट्रिय तनावको केन्द्र बन्दै गएको देखिएको छ । बेलायतको युनाइटेड किङडम म्यारिटाइम ट्रेड अपरेसन्सले शनिबार एउटा ट्यांकरमाथि आक्रमण भएको जनाएको छ । चालक दल सुरक्षित रहेको र कुनै वातावरणीय क्षति नभएको जानकारी दिइएको छ । आक्रमणको जिम्मेवारी कसैले नलिए पनि शंका इरानमाथि केन्द्रित छ । अमेरिकी नौसेनाको निगरानीमा रहेको ‘जोइन्ट म्यारिटाइम इन्फर्मेसन सेन्टर’ले ओमानको तटनजिकको समुद्री मार्ग विस्तार गरिएको घोषणा गरेको छ ।

यसको कारण जहाजहरूको आवागमन दुवै दिशाबाट सहज रूपमा सञ्चालन गर्ने रहेको बताइएको छ । केन्द्रले समुद्री सुरुङ (माइन)को जोखिम अझै उच्च रहेकाले जहाजहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । इरानले लामो समयदेखि होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूले आफ्ना निर्देशन पालना गर्नुपर्ने अडान राख्दै आएको छ । उसले यस मार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउन सक्ने चेतावनी पनि दिँदै आएको छ ।

इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले भनेका छन्, ‘होर्मुज जलमार्ग इरानको नियन्त्रणमा छ, त्यसैले यहाँका नियमहरूको सम्मान गर्नुपर्छ ।’ यता, अमेरिका तथा खाडीका अरब मुलुकहरूले इरानको उक्त दाबी अस्वीकार गर्दै होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय समुद्री मार्ग भएकाले कुनै एक देशले त्यसमा एकल नियन्त्रण दाबी गर्न नसक्ने बताएका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार