बाँकेको राप्ती नदीस्थित सिधनियाँघाटमा निर्माणाधीन पुलको करिब ७५ प्रतिशत निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय नेपालगन्जका प्रमुख जिल्ला इन्जिनियर लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माण निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ ।
उनका अनुसार पुलको कुल लम्बाइ ७०० मिटर रहेको छ भने पुलसँग जोडिने पहुँच सडक (एप्रोच रोड)को कुल लम्बाइ एक हजार ४८० मिटर हुनेछ । यसमध्ये पश्चिमतर्फ एक हजार मिटर र पूर्वतर्फ ४८० मिटर सडक निर्माण गरिनेछ । पुल निर्माणका लागि २०७९ माघ ४ गते ठेक्का सम्झौता भएको थियो । आयोजना २०८४ असोज ४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
हालसम्म पुलको अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको छ भने दुई वटा स्पान (करिब १२२ मिटर) मा माथिल्लो स्ल्याब ढलान गर्ने काम बाँकी रहेको इन्जिनियर भण्डारीले जानकारी दिए । उनका अनुसार पुल निर्माणको कुल लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहित एक अर्ब १९ करोड रुपैयाँ रहेको छ । हालसम्म करिब ९० करोड रुपैयाँ बराबरको भुक्तानी भइसकेको छ ।
नदीको सबैभन्दा गहिरो भागमा पर्ने बाँकी संरचना निर्माण प्राविधिक चुनौतीका कारण यस वर्ष सम्पन्न हुन नसकेको उल्लेख गर्दै उनले आगामी वर्ष यसै अवधिसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए । भण्डारीका अनुसार हुलाकी राजमार्ग निर्देशनालय काठमाडौँले ठेक्का व्यवस्थापन गरेको उक्त आयोजना योजना कार्यालय नेपालगन्जमार्फत कार्यान्वयन भइरहेको छ ।
पुल निर्माणसँगै करिब चार हजार ६०० मिटर क्षेत्रमा नदी नियन्त्रण तथा तटबन्ध निर्माणको कामसमेत अघि बढाइएको छ । पुलको पूर्वतर्फ रहेको सानो भङ्गालो क्षेत्रमा निर्माण हुने ४४० मिटर पहुँच सडकमा स्थानीयवासीले सानो पुल निर्माणको माग राखेको र यस विषयमा सम्बन्धित निकायसँग आवश्यक छलफल भइरहेको इन्जिनियर भण्डारीले बताए ।
उनका अनुसार नदी नियन्त्रणका क्रममा केही निजी जग्गा प्रभावित हुने सम्भावना देखिएमा प्रचलित कानुन तथा विभागीय निर्णय बमोजिम उचित प्रक्रिया अपनाइने छ । प्रभावित क्षेत्रका स्थानीयवासीले खेतीयोग्य जमिन संरक्षण तथा आवश्यक परे उचित क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्दै आएका छन् ।
स्थानीयवासीले पुलको लम्बाइ बढाउनुपर्ने धारणा राखे पनि प्राविधिक अध्ययन, जलप्रवाहको अवस्था तथा जल विज्ञान सम्बन्धी विश्लेषणका आधारमा ७०० मिटर लामो पुल पर्याप्त हुने निष्कर्ष निकालिएको भण्डारीले स्पष्ट पारे । उनका अनुसार नदीको वारिदेखि पारिसम्मको चौडाइ करिब एक हजार १४० मिटर भए पनि बाँकी क्षेत्रमा नदी नियन्त्रणका संरचना निर्माण गरी नदीको बहाब व्यवस्थित बनाइने योजना छ ।
उनले प्राविधिक रूपमा स्वीकृत डिजाइन अनुसार पुल निर्माण भइरहेको उल्लेख गर्दै स्थानीय समुदायका चासो र सुझावलाई समेत कानुनी तथा प्राविधिक आधारमा सम्बोधन गर्ने प्रयास जारी रहेको बताए । निर्माण सम्पन्न भएपछि उक्त पुलले बाँकेसहित हुलाकी राजमार्ग आसपासका क्षेत्रको यातायात सहज बनाउनुका साथै आवागमन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सत्यपाटी