मनसुन सक्रिय भएसँगै लुम्बिनी प्रदेशमा धान रोपाइँले गति लिन थालेको छ । प्रदेशभर धान खेती हुने तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये ६२ हजार ६७०.५७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यो कुल खेतीयोग्य क्षेत्रफलको २०.०५ प्रतिशत हो ।
कृषि विकास निर्देशनालयका अनुसार असार १२ गतेसम्मको अवस्थामा २० प्रतिशत भए पनि शनिबार र आइतबारको रोपाइँको तथ्यांक आइसकेको छैन । निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेले दुईदिन नै पानी परिरहेकाले प्रदेशका अधिकांश जिल्लामा किसान रोपाइँमा व्यस्त रहेको बताए ।
उनका अनुसार सबैभन्दा बढी प्रगति नवलपरासी (पश्चिम) मा देखिएको छ, जहाँ २० हजार ८८७ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये १० हजार ४४३.५ हेक्टर (५० प्रतिशत)मा धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि रुपन्देहीमा ६३ हजार ५५० हेक्टर खेतीयोग्य क्षेत्रमध्ये २७ हजार ३२६.५ हेक्टर (४३ प्रतिशत)मा रोपाइँ सकिएको छ ।
पहाडी जिल्ला रोल्पामा तीन हजार ७३ हेक्टरमध्य एक हजार २३० हेक्टर (४० प्रतिशत) तथा रुकुम (पूर्व)मा ३५४ हेक्टरमध्ये ८८.५ हेक्टर (२५ प्रतिशत) क्षेत्रमा धान रोपिएको छ । बर्दियामा ५० हजार १५० हेक्टरमध्ये नौ हजार ६८५ हेक्टर (१९.३१ प्रतिशत), अर्घाखाँचीमा ६ हजार ७६० हेक्टरमध्ये ७५७.१२ हेक्टर (११.२ प्रतिशत), दाङमा ३६ हजार २०० हेक्टरमध्ये ५४२ हेक्टर (११ प्रतिशत) रोपाई सकिएको छ ।
गुल्मीमा ६ हजार ५४१ हेक्टरमध्ये ४१७.०७ हेक्टर (सात प्रतिशत), कपिलवस्तुमा ६६ हजार २६५ हेक्टरमध्ये एक हजार ५० हेक्टर (१.५ प्रतिशत) तथा बाँकेमा ३३ हजार ७८० हेक्टरमध्ये १६०.९ हेक्टर (०.५ प्रतिशत) क्षेत्रमा मात्र रोपाइँ भएको छ । पर्याप्त वर्षा भएका नवलपरासी (पश्चिम) र रुपन्देहीमा रोपाइँले उल्लेखनीय गति लिएको छ ।
पहाडी जिल्ला रोल्पामा पनि ४० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । तर, तराईकै कपिलवस्तु र बाँकेमा क्रमशः १.५ र ०.५ प्रतिशत मात्र रोपाइँ भएको छ । बर्दियामा पनि करिब पाँचमध्ये एक भाग (१९.३१ प्रतिशत) क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
सत्यपाटी