२०८३ भदौ १८ , बिहीबार 3, September 2026, Thursday

१० प्रतिशतले बढ्यो नेपालगन्ज भन्सारको राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा १० प्रतिशत वृद्धि भएको कार्यालयले जनाएको छ ।

कार्यालयले निर्धारण गरेको २२ अर्ब ३७ करोड ४३ लाख ८३ हजार रुपैयाँ लक्ष्यमध्ये १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रुपैयाँ अर्थात् ८३.०५ प्रतिशत राजस्व असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।

प्रमुख पौडेलका अनुसार गत आर्थिक वर्षको जेठसम्म १८ अर्ब २९ करोड १२ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रुपैयाँ संकलन भएको छ ।

चालु आर्थिक वर्षमा गत वर्षको सोही अवधिको तुलनामा २६ करोड ५० लाख रुपैयाँ बढी राजस्व संकलन भएको उल्लेख गर्दै प्रमुख पौडेलले यस वर्ष राजस्व संकलनमा १० प्रतिशत वृद्धि भएको बताए । उनका अनुसार कार्यालयको तथ्यांकले राजस्व संकलन, आयात, निर्यात तथा कुल व्यापार सबै क्षेत्रमा सकारात्मक संकेत दिएको छ ।

लक्ष्य घटाइएको अवस्थामा पनि राजस्व असुलीमा वृद्धि हुनु कार्यालयका लागि सकारात्मक उपलब्धि मानिएको उनले बताए । तर कुल व्यापारमा आयातको हिस्सा अत्यधिक रहेकोले उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन तथा व्यापार सन्तुलनका लागि निर्यात बढाउन आवश्यक रहेको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयको मासिक विवरण अनुसार चालु आर्थिक वर्षभरि राजस्व असुलीमा उतारचढाव देखिए पनि अधिकांश महिनामा ८० प्रतिशतभन्दा बढी लक्ष्य हासिल भएको छ । विशेषगरी चैत महिनामा लक्ष्यको ९८.३७ प्रतिशत राजस्व संकलन गर्दै चालु आर्थिक वर्षकै उत्कृष्ट उपलब्धि हासिल भएको थियो ।

चैतमा दुई अर्ब १७ करोड ८१ लाख ९६ हजार रुपैयाँ लक्ष्य रहेकोमा दुई अर्ब १४ करोड २६ लाख ४७ हजार रुपैयाँ असुल भएको थियो । त्यसअघि फागुनमा ८८.३९ प्रतिशत, असोजमा ८८.३२ प्रतिशत, माघमा ८८.३२ प्रतिशत, वैशाखमा ८५.४४ प्रतिशत, मंसिरमा ८३.४५ प्रतिशत, पुसमा ८३.२९ प्रतिशत र जेठमा ८०.५१ प्रतिशत राजस्व संकलन भएको थियो ।

यी महिनाहरूमा लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व उठेपछि समग्र असुली सन्तोषजनक रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्षको सुरुआती महिनाहरूमा भने लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको थिएन । साउनमा ७४.१९ प्रतिशत, कात्तिकमा ७२.३१ प्रतिशत र भदौमा सबैभन्दा कम ६९.७७ प्रतिशत मात्र राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार