२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday
स्थानीय तह

बाँकेका आठ वटै स्थानीय तहले ल्याए बजेट, कुन पालिकामा कति ?

बाँकेका आठ वटा स्थानीय तहले कूल सात अर्ब १४ करोड ५६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएका छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार ११ गते बिहीबार

बाँकेका आठ वटा स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३–०८४ का लागि बजेट सार्वजनिक गरेका छन् । एक उपमहानगर, नगरपालिका र छ वटा गाउँपालिका गरी आठ वटै स्थानीय तहले कूल सात अर्ब १४ करोड ५६ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाले एक अर्ब ६६ करोड ४४ लाख ४३ हजार रुपैयाँको बजेट ल्याएको छ । यो यहाँका सबै स्थानीय निकायको भन्दा बढी छ । सबैभन्दा कम डुडुवा गाउँपालिकाले रु ५६ करोड ८० लाख रुपैयाँको बजेट ल्याएको छ ।

स्थानीय तहहरूले विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालाई बजेटमा प्राथमिकता दिएका छन् । पालिकाहरूले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानका साथै आन्तरिक राजस्वलाई बजेटको मुख्य स्रोतका रूपमा लिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका : एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार

नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपैयाँको आयव्यव प्रस्तुत गरेको छ । बजेटमा उपमहानगरपालिकालाई सङ्घीय सरकारबाट शसर्त अनुदान ६८ करोड, ६२ लाख, वित्तीय समानीकरण अन्तर्गत २७ करोड २८ लाख, राजस्व बाँडफाँटबाट १८ करोड, घर जग्गा रजिट्रेसनबाट १४ करोड, आन्तरिक आय २५ करोड प्राप्त हुने जनाइएको छ ।

यसैगरी विशेष अनुदान दुई करोड ६९ लाख, समपुरक अनुदान प्रदेश र सङ्घ गरेर दुई करोड ३ लाख रुपैयाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ९३ लाख ५२ हजार, राजस्व बाँडफाँट दुई करोड १५ लाख, शसर्त अनुदान तीन करोड १४ लाख र वित्तीय समानीकरण एक करोड ९३ लाख रुपैयाँ प्राप्त हुने नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट जानकारी दिए ।

यसैगरी, जनसहभागिताबाट २५ लाख, आन्तरिक आय २५ करोड, आन्तरिक आय मौज्दात १० करोड, मनोरञ्जन कर ५० लाख र विज्ञापन कर तीन लाख रहने अनुमान गरिएको छ । उनले विकासको परम्परागत ढाँचाभन्दामाथि उठेर प्रविधिमैत्री, समावेशी, उत्तरदायी र मानवीय सहर निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन् ।

कोहलपुर नगरपालिका : एक अर्ब सात करोड ५१ लाख

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि एक अर्ब सात करोड ५१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कोहलपुरलाई हरित सहरसँगै वातावरणमैत्री सहरका रूपमा स्थापित गर्दै भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र सामाजिक न्यायलाई विशेष प्राथमिकता दिइएको छ ।

बजेटमा आन्तरिक कर, गैरकर राजस्व र अल्यासमेत गरी २१ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यस्तै, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १९ करोड १४ लाख, ससर्त अनुदान ३१ करोड छ लाख, समपूरक अनुदान ६५ लाख र राजस्व बाँडफाँटबाट प्राप्त हुने आय १६ करोड ९१ लाख ५९ हजार रुपैयाँ रहने अनुमान छ ।

प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड ३२ लाख २२ हजार, राजस्व बाँडफाँटबाट एक करोड १५ लाख, ससर्त अनुदान एक करोड ८४ लाख, समपूरक अनुदान एक करोड २० लाख र विशेष अनुदान २० लाख रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ । स्थानीय राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित १३ करोड तीन लाख १९ हजार रुपैयाँसमेतका आधारमा आगामी आर्थिक वर्षको कुल बजेट प्रस्ताव गरिएको हो ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ करिब ६१ प्रतिशत र पुँजीगततर्फ करिब ३९ प्रतिशत विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । बजेटमा कोहलपुरलाई हरित सहरसँगै वातावरणमैत्री सहरका रूपमा स्थापित गर्दै भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र सामाजिक न्यायलाई विशेष प्राथमिकता दिइएको छ ।

राप्तीसोनारी गाउँपालिका : ९२ करोड ४२ लाख ३९ हजार

राप्तीसोनारी गाउँपालिकाले आर्थिक बर्ष २०८३–०८४ का लागि ९२ करोड ४२ लाख ३९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ । प्रस्तुत बजेटमध्ये चालूतर्फ ६१ करोड ६७ लाख ४२ हजार रुपैयाँ र पूँजीगततर्फ ३० करोड ७४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोतलाई आधार बनाइएकोे छ । विषयगत शाखामध्ये शिक्षा क्षेत्रले सबैभन्दा ठूलो हिस्सा पाएको छ । शिक्षाका लागि ४० करोड ४४ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ, जसबाट प्रविधिमैत्री, गुणस्तरीय, समावेशी तथा रोजगारमुखी शिक्षा प्रणाली विकास गर्ने लक्ष्य लिइएको छ । स्वास्थ्य क्षेत्रका लागि ११ करोड तीन लाख २२ हजार रुपैयाँ छुट्याइएको छ ।

कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकता दिँदै दुई करोड ९८ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । यसबाट कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, उन्नत बीउबिजन प्रयोग, पशु स्वास्थ्य सेवा तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यस्तै रोजगार प्रवद्र्धनका लागि एक करोड एक लाख ४४ हजार रुपैयाँ, वन, वातावरण, खानेपानी तथा विपद् व्यवस्थापनका लागि एक करोड २५ लाख रुपैयाँ, महिला, बालबालिका तथा समावेशीकरण कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राख्दै पूर्वाधार योजना तथा एकीकृत सेवा विकास कार्यक्रमका लागि तीन करोड रुपैयाँ, सूचना प्रविधि तथा डिजिटल पूर्वाधारका लागि ५० लाख रुपैयाँ, साझेदारी प्रवर्द्धन, सामाजिक विकास, स्वास्थ्य उपचार तथा मर्मत सम्भार कोषका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरिएको छ ।

बैजनाथ गाउँपालिका : ८१ करोड ७१ लाख ४० हजार

बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि कुल ८१ करोड ७१ लाख ४० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । बजेटमा संघिय समानीकरणतर्फबाट १५ करोड ६७ लाख, प्रदेश सरकार समानीकरणबाट एक करोड आठ लाख ७३ हजार, संघिय सरकार सर्शत चालु रकम ३० करोड ५५ लाख, संघिय सरकार सर्शत पूँजीगत रकम सात करोड १७ लाख, प्रदेश सरकार सर्शत चालु रकम १० लाख, प्रदेश सरकार सर्शत पुँजीगत रकम ८० लाख रुपैयाँको अनुमानित बजेट छ ।

यस्तै संघिय सरकार विशेष अनुदान रकम दुई करोड ४३ लाख, प्रदेश सरकार विशेष अनुदान रकम २० लाख, संघिय सरकार समपूरक अनुदान ३० लाख, प्रदेश सरकार समपूरक अनुदान ७५ लाख, संघिय सरकार राजश्व रकम १४ करोड २४ लाख ४० हजार, प्रदेश सरकार राजश्व रकम एक करोड ४१ लाख २७ हजार, आन्तरिक आय पाँच करोड र जग्गा रजिष्ट्रेसन वापत मालपोत कार्यालयबाट प्राप्त हुने रकम करिव दुई करोड अनुमानित बजेट छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, आर्थिक तथा कृषी विकास, पर्यटन घरेलु उद्योग तथा सहकारी, श्रम तथा रोजगार, भौतिक पुर्वाधार, वन वातावरण तथा विपद ब्यवस्थापन, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोबासी र कानून तथा न्याय, सार्वजनिक सेवा प्रवाह, सुशासन तथा संस्थागत विकासमा आवश्यक बजेट विनियोजन गरेको छ ।

खजुरा गाउँपालिका : ७८ करोड २७ लाख ९९ हजार

खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४ का लागि ७८ करोड २७ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकास, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले सामाजिक विकास क्षेत्रका लागि छ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसमध्ये शिक्षा क्षेत्रमा चार करोड १५ लाख, स्वास्थ्य क्षेत्रमा ८५ लाख, खानेपानी तथा सरसफाइमा २० लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि २५ लाख, युवा तथा खेलकुद क्षेत्रमा ३५ लाख र नागरिक आरोग्य कार्यक्रमका लागि २१ लाख रुपैयाँ छुट्याइएको छ । आर्थिक विकासतर्फ एक करोड २४ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि तथा सिँचाइमा ४० लाख, पशुपन्छी विकासमा ४० लाख, पर्यटन विकासमा ६० लाख, लघुउद्यम प्रवर्द्धनमा १५ लाख तथा सहकारी क्षेत्रको विकासका लागि १० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । पूर्वाधार विकासका लागि सात करोड ३७ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ । बसपार्क निर्माण, सडक स्तरोन्नति, विद्युत विस्तार, वैकल्पिक ऊर्जा, मर्मत सम्भार तथा अधुरा योजनाहरू सम्पन्न गर्न बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी सुशासन तथा संस्थागत विकासतर्फ एक करोड आठ लाख ४७ हजार रुपैयाँ तथा कार्यालय सञ्चालन एवं व्यवस्थापनका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटका लागि संघीय सरकारबाट ६८ करोड ९८ लाख ८४ हजार रुपैयाँ, प्रदेश सरकारबाट छ करोड २७ लाख १५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट तीन करोड दुई लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

जानकी गाउँपालिका : ६९ करोड ५६ लाख २९ हजार

बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ६९ करोड ५६ लाख २९ हजार रुपैयाँको बजेट पारित गरेको छ । कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई केन्द्रमा राख्दै गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट तथा नीति–कार्यक्रम पारित छ । गाउँपालिकाको कुल बजेटमध्ये सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानतर्फ ४९ करोड ९६ लाख २९ हजार रुपैयाँ समेटिएको छ ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट एक करोड रुपैयाँ तथा राजस्व बाँडफाँटबाट एक करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । बजेटमा आर्थिक विकासतर्फ ४५ लाख ७४ हजार, सामाजिक विकासतर्फ चार करोड ११ लाख ४४ हजार, पूर्वाधार विकासतर्फ १२ करोड ४५ लाख ११ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २७ लाख रुपियाँ तथा सुशासन एवं संस्थागत क्षमता विकासतर्फ ११ करोड आड लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रममा कृषि तथा पशुपक्षी विकास, उद्योग–व्यवसाय प्रवर्द्धन, पर्यटन विकास, श्रम तथा रोजगारी, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, सुशासन तथा सेवा प्रवाह सुधार, राजस्व परिचालन र योजनाबद्ध विकासलाई प्राथमिकतामा राखिएको छ ।

डुडुवा गाउँपालिका : ५६ करोड ८० लाख

डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३–०८४ का लागि ५६ करोड ८० लाख रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेको हो । बजेट शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद्, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निर्माण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटिएको छ ।

नरैनापुर गाउँपालिका : ४९ करोड दुई लाख ८३ हजार

नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ४९ करोड दुई लाख ८३ हजार रुपैयाँ बराबरको बजेट पेश प्रस्तुत गरेको छ । नरैनापुर गाउँपालिकाले बाँके जिल्लामै सबैभन्दा पहिले बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्दै बजेट स्वीकृत गरेको हो । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखिएको छ ।

गाउँपालिकाले विशेष गरी दलित, मुस्लिम, मधेसी, थारु लगायतका समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक सशक्तीकरणका लागि लक्षित कार्यक्रम समेटेको जनाएको छ । गाउँपालिकाले नागरिकको जीवनस्तर उकास्ने, आधारभूत सेवामा पहुँच विस्तार गर्ने तथा समावेशी विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ बजेट तथा कार्यक्रम निर्माण गरेको छ ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार