जङ्गलको बाटो, काँधमा क्यामरा अनि आँखामा चरा खोज्ने सपना बोकेर झापाको मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेल एक दशकदेखि दौडधुप गरिरहेका छन् । पेसा र सोखले फोटोग्राफर खरेल आज नेपालकै वन्यजन्तु संरक्षण र चरा अनुसन्धानमा इतिहास ब्युँताउने नाम बनेका छन् । नेपालमा १५० वर्षदेखि नदेखिएको दुर्लभ चरा ‘हङरायो’ र नेपालकै इतिहासमा पहिलोपटक ‘हरित परेवा’ पत्ता लगाएर विश्वभर सनसनी मच्चाउने खरेल हाल मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको अध्यक्ष हुन् ।
उनले नै ‘बैजनी ढाँडे बुङ्गे’ चरा नेपालमा पहिलोपल्ट फेला पारेको अभिलेखीकरण भएको छ । विसं २०७८ पुसको जाडोमा इलामको सूर्योदय नगरपालिका–१ स्थित थुम्के भन्ने ठाउँमा चरा खोज्न हिँडिरहेका बेला खरेलको नजर आकाशमा ठूला प्वाँख फिजाएर उडिरहेका एक जोडी अनौठा चरामा पर्यो । संयोगले ती चरा नजिकैको रुखमा बसेपछि उनले केही तस्वीर र भिडियो खिचे । त्यही चराको फोटोले उनलाई संसारभर चिनायो । ती चराहरु दुर्लभ प्रजातिको एक जोडी ‘हङरायो’ थिए ।
‘फोटो खिचिसकेपछि यो खबर म कसलाई सुनाउँ, कुन मिडियालाई भनुँ, कि के गरुँ जस्तो भएको थियो,’ अनौठो चरा भेट्दाको खुसी साट्दै उनी भन्छन्, ‘मेरो भाग्य, ती चरा रुखमै बसे । उडेर टाढा गइदिएका थिए भने मैले फोटो खिच्न पाउने थिइन । मैले फटाफट फोटो खिचेँ । त्यो मेरो जीवनकै सबैभन्दा अविस्मरणीय क्षण हो ।’ प्रधानमन्त्री भीमसेन थापाको पालातिर ब्रिटिस खोजकर्ता ब्रायन हड्सनले नेपालमा विश्वमै पहिलोपल्ट ‘हङरायो’ चरा भेटिएको प्रमाण पेस गरेका थिए । १५० वर्षपछि खरेलले यो चरा नेपालमा जीवितै रहेको प्रमाण दिए ।
त्यसअघि खोजकर्ताहरुले ‘हङरायो’ नेपालबाट लोप भइसकेको औपचारिक प्रतिवेदन नै दिइसकेका थिए । सुरुका दिनमा दृश्य, फूल र पुतलीको तस्वीर खिच्ने खरेलको ध्यान विस्तारै चराचुरुङ्गीतर्फ सोझियो । भारतकी प्रख्यात वाइल्डलाइफ फोटोग्राफर राथिका रामास्वामी र जीवविज्ञानका लेखक कमल मादेनका कामहरूले उनको मनमा चरा खोज्ने भोक जगाइदियो । यही भोकले उनलाई नेपालको चरा इतिहासमै एउटा सुनौलो पाना थप्ने ठाउँसम्म पुर्यायो । नेपालको ८८७ औँ चराको रूपमा ‘हरित परेवा’लाई मानिन्छ ।
यो चरा २०७७ मङ्सिर ९ गते मेचीनगर नगरपालिका–७ मा खरेलले नै फेला पारेका थिए । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ । यो परेवा नेपालमा पाइन्छ भनेर खरेलले नै पत्ता लगाएका हुन् । २०८१ फागुन ७ गते उनले मेचीनगरकै काँकडभिट्टामा ‘बैजनी ढाँडे बुङ्गे’ चराको तस्वीर र भिडियो खिचेका थिए । उक्त चरा नेपालमा पहिलोपल्ट फेला भेटिएपछि नेपालमा पाइने चराको सूचीमा एउटा चरा थपिएको थियो ।
मेचीनगरको बाहुनडाँगीमा ‘बगर बट्टाई’ र इलामको रोङस्थित कुटीडाँडामा ‘रातो ढाँडे पुष्पकोकिल’ लगायतका दर्जनौँ दुर्लभ मानिएका चराको खोज गरेर उनले नेपाललाई चराको स्वर्गको रुपमा चिनाउन योगदान दिएका छन् । उनले अति दुर्लभ मानिएको पेट कैले कोइली, कालो टाउके बगेडी र संसारकै सबैभन्दा तीव्र गतिमा उड्ने शाहीबाज नामक चरा समेत मेचीनगरमै फेला पारेर तस्बिर सार्वजनिक गरेका छन् । भौगोलिक रूपमा नेपाल सानो भए पनि चराको विविधतामा विश्वकै २६ औँ स्थानमा पर्छ ।
हाल नेपालमा ९०३ प्रजातिका चरा रेकर्ड भइसकेका छन् । त्यसमा पनि मेचीनगर क्षेत्र चराहरूको ‘हटस्पट’ रहेको उनी बताउँछन् । उनकै पहलमा मेचीनगरमा मात्रै ३६१ भन्दा बढी प्रजातिका चरा भेटिइसकेका छन् । मेचीनगर–५ मा हालै उनले लामो पुच्छर भएको स्वर्गचरीको बच्चा हुर्काइरहेको जोडी नै फेला पारेका छन् । नगरपालिका, बैंक लगायतका सरकारी तथा गैरसरकारी निकायले उनले खिचेका सुन्दर एवं दुर्लभ चराहरुको तस्वीरलाई आफ्नो कार्यालयको अतिथि गृहमा सजाएर र स्मारिकाहरुमा प्रकाशन गरेर सम्मान दर्साउने गरेका छन् ।
नेपालमा चरा संरक्षणको अवस्था निकै दयनीय रहेकोमा खरेल चिन्ता व्यक्त गर्छन् । ‘हाम्रो देशमा चरा पनि जोगाउनुपर्छ र रु भन्ने चेतना छ,’ उनी भन्छन् । ‘कोशी टप्पुभन्दा पूर्व एउटा पनि वन्यजन्तु आरक्ष नहुनु र देशैभरि जम्मा दुईवटा घोडाघोडी र जगदीसपुर ताल मात्र ‘चरा संरक्षित क्षेत्र’ हुनुले चरा संरक्षणतर्फ राज्यको उदासिनता प्रष्ट हुन्छ ।’ मेची नदीपारि भारततर्फ भने आसामसम्म पुग्दा १२ भन्दा बढी वन्यजन्तु संरक्षित क्षेत्रहरु रहेको उनले बताए । मेचीनगर, रोङ र सूर्योदय क्षेत्रलाई समेटेर ‘चरा संरक्षित क्षेत्र’ घोषणा हुनुपर्ने उनको धारणा छ ।
यस क्षेत्रमा चरा देखाएर पर्यटक आकर्षण गर्न सकिने उनको भनाइ रहेको छ । नेपालमा अहिलेसम्म चरा पर्यटनको सम्भावनालाई सरकारले अध्ययन नगरेको गुनासो गर्दै उनले नेपालको हावापानी, भूगोल र प्राकृतिक सौन्दर्यसँगै चरा हेर्न समेत विदेशबाट पर्यटक भित्र्याउन सकिने बताए । उनी भन्छन्, ‘तर यसका लागि राज्यले चरा संरक्षित क्षेत्रहरु घोषणा गर्नुपर्छ र प्रचारप्रसारलाई व्यापक बनाउनुपर्छ ।’ चरा रमाइलोका लागि मात्र होइन, मानव अस्तित्वका लागि अनिवार्य रहेको खरेल बताउँछन् ।
हाम्रो साहित्य, संस्कृति र सङ्गीत चराकै चिरविरबाट सुरु हुने जनाउँदै उनले चरा बिनाको धरती निरस र बस्न अयोग्य हुने बताए । किंवदन्ती, उखान, गीत, लोकभाका र श्रुतिहरुमा चरा बाँचेको उनी बताउँछन् । उनी चराहरुलाई धरती हराभरा बनाउने ‘अदृश्य माली’ भन्न रुचाउँछन् । ‘चराले बोलेको, गाएको, नाचेको भावलाई लिएर गीत र साहित्य रचना भएका छन्,’ उनी भन्छन्, ‘बिहानलाई बुझाउन कथा लेख्नुपर्यो भने चरा चिरविर गरेको भन्ने गरिन्छ । चित्रकारले हिमाल मास्तिर चरा उड्दै देखाउँछ ।’
उनका अनुसार चराले फलफूल खाएर बिस्कट्याउँदा होस् या चुच्चोमा टिपेर फलफूल अर्को ठाउँमा पुर्याउँदा झुक्किएर झरेका बीजबाट वनजङ्गल फैलिएको हो । चराको चोरी शिकारी रोक्न र यसको बासस्थानको संरक्षण मात्रै गर्न सक्दा ठूलो उपलब्धि हुने उनी बताउँछन् । ग्याटिसजस्ता साधन प्रयोग गरेर चरा मार्ने र चरालाई आतङ्कित तुल्याउने कार्यलाई निरुत्साहित गर्न विद्यालय तहमै चरा संरक्षणको ज्ञान दिनुपर्ने उनको धारणा छ । चरामार्फत विश्वभर नेपालको नाम चम्काउने खरेलको पर्दा पछाडिको ब्यथा भने निकै मार्मिक छ ।
राज्य र समाजको उदासिनताका कारण चरा खोज्दाखोज्दै उनले आफ्नो निजी सम्पत्ति धेरै खर्च गरिसकेका छन् । चरा जोगाउने कुरा गर्दा मानिसहरू हाँस्ने गरेको तीतो अनुभव उनीसँग छ । आफूसँग चराको तस्वीर र भिडियो खिच्ने अत्याधुनिक क्यामरा र लेन्सको अभावका कारण थुप्रै दुर्लभ तस्वीर र भिडियो कैद गर्न नपाएको उनको गुनासो छ । यही क्षेत्रमा काम गर्ने क्रममा उनले सामाजिक पहिचान र सम्मानसमेत पाउँदै आएका छन् । चराको खोजीका लागि उनी नेपालको विभिन्न जिल्ला र भारतको केही प्रान्तहरुमा पुगेका छन् ।
विदेशबाट नेपालका चरा हेर्न आउने पर्यटक र अनुसन्धाताहरुलाई उनले ‘गाइड’को रुपमा झापा, इलाम लगायत देशका विभिन्न जिल्लामा घुमाउने गरेका छन् । चरा तथा वन्यजन्तुको खोज, अनुसन्धान र संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै सुसेली साहित्यिक परिवारले उनलाई गत वर्ष डा मुकेशकुमार जनककुमारी चालिसे विज्ञान पुरस्कारबाट सम्मानित गरेको छ भने लाल भागिरथा बानियाँ प्रतिष्ठानले राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेको छ । कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकडभिट्टाले उनलाई पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रहेका चराहरुको खोजी गर्नका लागि सहयोग लिने गरेको छ ।
चरा संरक्षणका लागि तीनै तहका सरकारले बजेटको व्यवस्था नगरेकोमा उनको गुनासो छ । पर्यटकीय पूर्वाधारको नाममा बन क्षेत्रमा कङ्क्रिटका ठूला संरचना बनाउने र कर्कश आवाज निकाल्ने ‘साउन्ड सिस्टम’ प्रयोग गरिदा चराको बासस्थान र विचरणमा नकारात्मक असर परेको उनको भनाइ छ । पछिल्ला दिनमा उनले नयाँ पुस्तालाई चरा चिनाउने र संरक्षणको चेतना जागृत गर्ने अभियान सञ्चालन गरिरहेका छन् । विद्यालयमा गएर चरा संरक्षणको विषयमा पढाउनेदेखि सिमसार र जङ्गलहरुमा पुगेर समुदायलाई चरा चिनाउने प्रशंसनीय कार्य उनको नेतृत्वमा भइरहेको छ ।
