२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

११ महिनामा अलैँची मात्रै १२ अर्बको निर्यात, अरु कुनको कति ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ११ गते बिहीबार

दैनिक उपभोग्य वस्तुदेखि विभिन्न विलासिताको वस्तुहरु आयात हुँदा ठूलो धनराशी बाहिरिने गरेको नेपालको यथार्थता छ । तर यो मात्र होइन, धेरै वस्तुहरु छन् जो निर्यात् गरेर नेपालले विदेशी मुद्रा समेत आर्जन गरिरहेको छ ।

चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार नेपालले दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको पाइएको छ । निर्यातमा यो हालसम्मकै उच्च विन्दु रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको कुरा गर्दा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड बराबरको निर्यात गरेको थियो । तर ११ महिनाको तथ्यांक हेर्दा नेपालले निर्यातमा केही आशा देखाएको छ । भन्सार विभागको यो तथ्यांक केलाउँदा नेपालकै स्थानीय उत्पादन निर्यात गर्दा देशले २१ अर्ब ३९ करोड २९ लाख बढी आर्जन गरेको छ ।

जसमा नपिसेको अलैँची र ऊनीको गलैँचा मात्रै बिक्री गर्दा २१ अर्ब बढीको विदेशी मुद्रा आर्जन गरेको हो । यो अवधिमा नेपालले कुल ६० लाख ३४ हजार ८९४ केजी अलैँची निर्यात गरेको छ । विदेशमा नेपाली अलैँचीको उच्च माग रहँदा यसअवधिमा मात्रै अलैँची निर्यात गरेर नेपालले १२ अर्ब एक करोड १४ लाख रुपैयाँ आर्जन गरेको हो ।

यो अवधिमा नेपालको रैथाने तीन लाख ३६ हजार ९४६ वर्गमिटर ऊनीको गलैँचा तथा कार्पेट निर्यात गरेको छ । ती वस्तुको निकाशीबाट मात्रै नेपालले नौ अर्ब ३८ करोड १४ लाख ९६ हजार रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ । तर नेपालबाट निर्यात हुने सूचीको सबैभन्दा शीर्ष स्थानमा प्रशोधित भटमासको तेलकै वर्चश्व देखिएको छ ।

अन्य मुलुकबाट कच्चा तेल ल्याएर नेपालमा प्रशोधन गरी छिमेकी मुलुक भारत लगायत अन्य मुलुकमा भटमासको तेल निर्यात गर्ने गरिएको छ । यो अवधिमा प्रशोधित भटमासको तेल निर्यातबाट मात्रै नेपालले एक खर्ब १३ अर्ब १८ करोड ३२ लाख ३१ हजार रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको छ ।

उक्त अवधिमा नेपालले कुल ५३ करोड आठ लाख २८ हजार ९३८ केजी प्रशोधित भटमासको तेल निर्यात गरेको छ भने आठ करोड ७४ लाख ९० हजार ६९६ वर्गमिटर जुटका अप्रशोधित कपडाहरु निर्यात गर्दा नेपालले पाँच अर्ब ७८ करोड ४६ लाख ८० हजार रुपैयाँ विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ ।

नेपालले सो अवधिमा प्रशोधित सूर्यमुखी र सनफ्लवार तेल निर्यात गरेर सात अर्ब ९९ करोड ३२ लाख ९४ हजार आर्जन गर्दा पाम आयल निर्यातबाट छ अर्ब १४ करोड दुई लाख ३१ हजार बराबर विदेशी मुद्रा आर्जन गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट निर्यात हुने फलफूलको जुसको निर्यात समेत उल्लेख्य मात्रामा रहेको देखिन्छ ।

यो अवधिमा अमिलोरहित मिश्रित फलफूलको जुस मात्रै पाँच करोड तीन लाख १७ हजार ५९० लिटर निर्यात गरेर चार अर्ब ४१ करोड ९६ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । यसका साथै ११ महिनाको तथ्यांक अनुसार हस्तकला उद्योगतर्फ अन्य कपडाहरुको निर्यातबाट मात्रै नेपालले पाँच अर्ब चार करोड ४९ लाख ३३ हजार आर्जन गरेको छ ।

जसमा ८५ प्रतिशतभन्दा कम पोलिएस्टर भएको धागो चार अर्ब ६० करोड ८६ लाख ३९ हजार रुपैयाँको निर्यात भएको छ भने ८५ प्रतिशतभन्दा बढी भएको एकल पोलिएस्टर धागो चार अर्ब ३९ करोड १६ लाख १९ हजार रुपैयाँ बराबर बाहिरिएको छ । यसरी हेर्दा चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब छ करोड रुपैयाँको पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार