२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

उमेर नपुग्दै बिहे गर्ने किशोरकिशोरीलाई जरिबाना मात्रै !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ११ गते बिहीबार

सरकारले उमेर नपुगेका किशोरकिशोरीले आफूखुसी गर्ने विवाहका कारण हुने कसुरमा सजायको मात्रा घटाउने गरी कानुनको प्रस्ताव गरेको छ । कानुन मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्ने क्रममा उमेर नपुगी विवाह गरे बापत हुने सजायको व्यवस्था परिमार्जन गर्न प्रस्ताव गरेको हो ।

विधेयकमा प्रस्तावित व्यवस्था अनुसार, १८ वर्षभन्दा कम उमेरमा विवाह गर्ने र गराउनेमाथि हुने सजाय यथावत रहनेछ । तर १८ वर्ष पूरा भएर २० वर्ष नपुगेका किशोरकिशोरीहरूबीच विवाह भएमा कैद हुने व्यवस्था हटाइएको छ । प्रस्तावित व्यवस्था अनुसार, १८ देखि २० वर्षका किशोरकिशोरीले विवाह गरेमा २५ देखि ५० हजार रुपैयाँ जरिबाना हुनेछ ।

उनीहरूलाई कैद हुनेछैन । आपसी मञ्जुरीमा बिहे गरेकाहरुले अनुसन्धान अधिकारीहरूसमक्ष ‘हामी २० वर्ष नपुगेसम्म अलग अलग बस्नेछौं’ भनी मञ्जुरीनामा गरेमा मुद्दा समेत चल्नेछैन, जसबाट उनीहरूले जरिबानाको झमेला समेत बेहोर्नुपर्दैन । सरकारले किशोकिशोरीहरूबीच उमेर नपुग्दै आपसी सहमतिमा हुने शारीरिक सम्पर्कको कसुरको मात्रा पनि घटाएको छ ।

विवाहको उमेर नपुगेका तर प्रेम सम्बन्धका कारण आपसी समझदारीमा सम्पर्क कायम गरेकाहरूलाई मात्रै यस्तो सर्त लाग्नेछ । प्रस्तावित व्यवस्था अनुसार, त्यसका लागि किशोरकिशोरीको उमेर दुई वर्षभन्दा कम हुनुपर्नेछ । त्यस्तो अवस्थाको शारीरिक सम्पर्कलाई एक वर्षमात्रै सजाय हुने भनी प्रस्तावित विधेयकमा प्रस्ताव छ ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार