नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई आधुनिक र स्मार्ट बनाउन मोरङको लेटाङमा देशकै पहिलो मानवविहीन (अनम्यान्ड) अटो रिकलोजर तथा स्काडा (एसकाडा) प्रणालीमा आधारित ३३–११ केभी सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
१० करोड रुपैयाँ लागतमा नेपाल विद्युत् प्राधिकरणको कोसी प्रदेश कार्यालय अन्तर्गत निर्माण गरिएको लेटाङ ३३–११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन सफल परीक्षण, कमिसनिङ तथा चार्जिङपछि बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
उक्त सबस्टेसन विद्युत् वितरण प्रणालीमा पहिलोपटक अटो रिकलोजर र एसकाडा प्रविधिमा आधारित मानवविहीन संरचनाका रूपमा स्थापित भएको प्राधिकरणले जनाएको छ । यसले वितरण प्रणालीको स्वचालन तथा आधुनिकीकरणमा नयाँ उपलब्धि हासिल भएको बताइएको छ ।
विसं. २०७९ वैशाख ६ गतेबाट निर्माण सुरु गरिएको सबस्टेसनको निर्माण कार्य जय दुर्गे इन्फ्रा इन्जिनियरिङले सम्पन्न गरेको हो । सबस्टेसनमा ८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर, ३३ केभीका चारवटा तथा ११ केभीका पाँचवटा बे जडान गरिएको छ ।
नियन्त्रण कक्ष र कर्मचारी आवाससहितको कार्यालय भवन पनि निर्माण गरिएको छ । प्राधिकरणका अनुसार सबस्टेसन सञ्चालनमा आएपछि लेटाङ नगरपालिका र बेलबारी नगरपालिका क्षेत्रका हजारौँ उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन् ।
विद्युत् आपूर्तिमा देखिने न्यून भोल्टेज, बारम्बार हुने ट्रिपिङ तथा अवरोधका समस्या घट्ने, भोल्टेज स्तरमा सुधार आउने र प्राविधिक तथा व्यावसायिक हानिमा कमी आउने अपेक्षा गरिएको छ । यसले राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास छ ।
पूर्ण रूपमा स्वचालित तथा मानवविहीन प्रणाली भएकाले सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तथा खर्चमा समेत उल्लेखनीय कमी आउने प्राधिकरणको भनाइ छ । सबस्टेसनमा जडान गरिएको अटो रिकलोजर तथा एसकाडा प्रणालीमार्फत दूरस्थ निगरानी र नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ ।
प्राधिकरणले लेटाङ सबस्टेसनको सफल सञ्चालनसँगै कोसी प्रदेशको विद्युत् वितरण प्रणाली थप भरपर्दो, आधुनिक तथा स्मार्ट ग्रिड प्रविधितर्फ उन्मुख भएको जनाएको छ । वितरण प्रणाली स्वचालनको क्षेत्रमा यो आयोजना महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सत्यपाटी