२०८३ साउन ३ , आइतबार 19, July 2026, Sunday

जानकी गाउँपालिकाले ल्यायो ६९ करोड ५६ लाखको बजेट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ११ गते बिहीबार

बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ६९ करोड ५६ लाख २९ हजार रुपियाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई केन्द्रमा राख्दै गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट तथा नीति–कार्यक्रम पारित गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए ।

उनका अनुसार गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले गाउँसभाको २०औँ अधिवेशनमा प्रस्तुत गरेको बजेटलाई गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको हो । जानकी गाउँपालिकाको कुल बजेटमध्ये सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानतर्फ ४९ करोड ९६ लाख २९ हजार रुपैयाँ समेटिएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट एक करोड रुपैयाँ तथा राजस्व बाँडफाँटबाट एक करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

बजेटमा आर्थिक विकासतर्फ ४५ लाख ७४ हजार, सामाजिक विकासतर्फ चार करोड ११ लाख ४४ हजार, पूर्वाधार विकासतर्फ १२ करोड ४५ लाख ११ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २७ लाख रुपियाँ तथा सुशासन एवं संस्थागत क्षमता विकासतर्फ ११ करोड आड लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रममा कृषि तथा पशुपक्षी विकास, उद्योग–व्यवसाय प्रवर्द्धन, पर्यटन विकास, श्रम तथा रोजगारी, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, सुशासन तथा सेवा प्रवाह सुधार, राजस्व परिचालन र योजनाबद्ध विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता टीकानाथ यादवले गाउँपालिकाको समृद्धि, सुशासन र नागरिकमैत्री सेवा प्रवाहका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य–सचिव परशुराम उपाध्यायले नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए । कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार