सन् २०११ मा एक जना युवती एडलाइन (नाम परिवर्तन)ले यस्तो एउटा सपना देखिन्, जसले उनको जीवन नै बदल्यो । उनी निकै उदास महसुस गरिरहेकी थिइन् र तीन वर्षअघि बितेकी आमाको निकै याद आइरहेको थियो । हङकङ निवासी एडलाइन एक रात आफ्नी आमा सपनामा आएको बताउँछिन् ।
उनी सम्झिन्छिन्, ‘मैले भनेँ आमा, म बल्ल तपाईंसँग भेट्दैछु, तपाईं कस्तो हुनुहुन्छ ? अनि आमाले भन्नुभयो । म ठीक छु, तर म तिमीलाई केही भन्न चाहन्छु, सकेसम्म चाँडो आफ्नो स्वास्थ्य परीक्षण गराऊ ।’ एडलाइनले यो सन्देशलाई गम्भीरतापूर्वक लिँदै डाक्टरलाई भेटिन् । पछि उनलाई स्टेज–१ क्यान्सर भएको पत्ता लाग्यो । समयमै रोग पत्ता लागेकाले यसको उपचार सम्भव थियो ।
एडलाइन भन्छिन्, ‘म धेरै आभारी छु, नत्र म आफैँ चेकअपका लागि जाने थिइनँ ।’ संसारका विभिन्न संस्कृतिमा मानिसहरूले हजारौँ वर्षदेखि आफ्ना सपनाको विश्लेषण गर्दै आएका छन् । प्राचीन इजिप्ट, ग्रीस र बेबिलोनियन सभ्यताहरूमा सपनाले भविष्यवाणी गर्न सक्ने विश्वास गरिन्थ्यो । अब्राहमिक धर्महरूमा सपनालाई भगवान्बाट पठाइएको ‘दृष्टि’ मानिन्छ ।
त्यस्तै, केही आदिवासी समुदायमा सपनालाई आत्माहरूबाट प्राप्त हुने सहायता (स्पिरिट हेल्पर्स) का रूपमा लिइन्छ । पूर्वजहरूले सपनामार्फत सन्देश दिन सक्छन् भन्ने परम्परागत चिनियाँ मान्यता आफूलाई थाहा भए पनि यस्तो घटना आफ्नै जीवनमा पर्ला भनेर कहिल्यै नसोचेको एडलाइन बताउँछिन् । अचेल सपनाप्रतिको यो आकर्षण अनलाइन प्लेटफर्महरूमा पनि पुगेको छ ।
हङकङको ‘डिस्कस’ फोरमका प्रयोगकर्ताहरू आफ्ना सपना सेयर गर्छन्, उता ‘रेडिट’ मा सयौँ मानिसले सपनाको विश्लेषण गर्न च्याटजीपीटी प्रयोग गर्ने गरेको बताउँछन् । तर, एडलाइनले देखेको सपनाले हामीलाई के बताउँछ ? हामीले यसलाई कति गम्भीरतापूर्वक लिनुपर्छ ? यसबारे वैज्ञानिक र मनोवैज्ञानिकहरू के भन्छन् त ?
हामी सपना किन देख्छौँ ?
हाम्रो दिमागलाई सपना देख्न मनपर्छ । बेलायतको इम्पेरियल कलेज लन्डनका स्नायुविज्ञ (न्युरोसाइएन्टिस्ट) डा.अबिदेमी ओताइकुका अनुसार जब हामी ¥यापिड आई मुभमेन्ट (गहिरो निद्रा) अर्थात् आरईएम निद्रामा हुन्छौँ, तब हामी निश्चित रूपमा सपना देखिरहेका हुन्छौँ । यसको अर्थ, हामी आफ्नो सुत्ने समयको करिब एक तिहाइ हिस्सा सपना देखेरै बिताउन सक्छौँ ।
यदि गहिरो निद्राको कमीले गर्दा हामी सपना देख्न सक्दैनौँ भने, अर्को पटक हाम्रो दिमागले अझ बढी जीवन्त सपना देखाउँछ । यस प्रक्रियालाई ‘आरईएम रिबाउन्ड’ भनिन्छ । डा.ओताइकु भन्छन्, ‘शरीर वास्तवमै सपना देख्न चाहन्छ र मौका पाउनासाथ यसको भरपाई गरिहाल्छ ।’ हामी किन सुत्छौँ भन्ने कुरा आज पनि विज्ञानका लागि एउटा रहस्य नै बनेको छ ।
सामान्यतया निद्राले दिमागलाई आराम दिनुका साथै दिनभरका यादहरूलाई व्यवस्थित गर्ने समय दिने अनुसन्धानकर्ताहरूको विश्वास छ । दिमागको जाँच गर्ने मेडिकल इमेजिङ प्रविधिको मद्दतले निद्राको समयमा हाम्रो दिमागले काम गर्ने तरिका परिवर्तन हुने तथ्य पत्ता लागेको छ । यसैकारण हामी त्यस बेला सपनालाई फरक तरिकाले महसुस गर्छौँ ।
जब हामी सपना देखिरहेका हुन्छौँ, तब हामीलाई तर्कसङ्गत बन्न मद्दत गर्ने दिमागको ‘फ्रन्टल लोब’ले काम गर्न बन्द गर्छ । त्यस्तै, भावनासँग जोडिएको ‘लिम्बिक सिस्टम’ भने निकै सक्रिय हुन्छ । डा. ओताइकु भन्छन्, ‘हाम्रा सपनाहरू प्रायः अनौठा हुने र खासै बुझ्न नसकिने हुनुको एउटा कारण यही हो ।’
के सपनाको मद्दतले हामीले निर्णय लिनुपर्छ ?
सपनामा देखिएका कुराहरूले हामीलाई बिउँझिएपछि राम्रो निर्णय लिन प्रेरित गर्न सक्ने अनुसन्धानले देखाएको छ । एउटा अध्ययन अनुसार धूम्रपान छाडिसकेका तर सपनामा आफूले धूम्रपान गरिरहेको देख्ने मानिसहरू फेरि सोही कुलतमा फर्कने सम्भावना कम हुन्छ । यस्तै प्रभाव सम्बन्धविच्छेद भएका मानिसहरूमा पनि पाइयो ।
आफ्नो पूर्वसाथीको बारेमा सपना देख्ने मानिसहरू एक वर्षपछि मानसिक रूपमा बढी स्वस्थ रहेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । वास्तवमा सकारात्मक सपनाको तुलनामा नकारात्मक सपनाले कहिलेकाहीँ मानिसहरूलाई आफ्ना समस्या समाधान गर्न अझ बढी प्रभावकारी रूपमा मद्दत गर्न सक्ने तथ्य यी दुवै अध्ययनबाट बाहिर आएको छ ।
अमेरिकाका सपना अनुसन्धानकर्ता तथा मनोवैज्ञानिक डा.डिलन सेल्टरम्यान भन्छन्, ‘तपाईं त्यो अनुभवलाई बुझिरहनुभएको हुन्छ र त्यससँग रचनात्मक तरिकाले जुधिरहनुभएको हुन्छ ।’ सपनाले हामीलाई समस्या समाधान गर्न पनि मद्दत गर्न सक्छ । हार्वर्ड विश्वविद्यालयको एउटा अध्ययनमा सहभागीहरूलाई पहेली सुल्झाउन दिइँदा त्यसबारे सपना देख्नेहरूको प्रदर्शन उत्कृष्ट रहेको पाइयो ।
सेल्टरम्यानका अनुसार दिमागले कुनै समस्या समाधान गर्न बढी समय पाउने र सपनाले त्यसलाई अझ रचनात्मक ढङ्गले हेर्न मद्दत गर्ने भएकाले यस्तो भएको हुन सक्छ । उनी भन्छन्, ‘सपनाले उनीहरूलाई त्यो दिशामा एउटा सानो सुरुवात गर्नका लागि मात्र प्रेरित गर्छ ।’
के सपनाले हाम्रा भावनाहरू देखाउँछन् ?
सपनाले हाम्रा लुकेका वा साँचो भावनाहरू देखाउँछन् भन्ने होइन, तर बिउँझिएको बेला हामी जुन कुरालाई महत्त्व दिन्छौँ, सुत्दा पनि हाम्रो दिमाग त्यही कुरामा केन्द्रित हुन्छ । सपनाकै कारण आफ्नो पार्टनरसँग सम्बन्ध तोड्ने मानिसहरू पनि आफूले भेटेको सेल्टरम्यान बताउँछन् । यद्यपि, ती मानिसहरूको सम्बन्ध पहिल्यैदेखि चिसिएको थियो ।
उनी बुझाउँछन्, ‘सपनाले उनीहरूलाई अलिकति बल मात्र दियो । उनीहरूलाई लाग्यो, आफूले आफूलाई राम्ररी बुझिरहेका छन्, तर यो उनीहरूको पहिलेदेखिकै सोचसँग मेल खाने कुरा थियो ।’ त्यसो भए, कहिल्यै नसोचेको व्यक्तिको बारेमा सपना देख्दा हामीले चिन्ता लिनुपर्छ त ?
सेल्टरम्यान भन्छन्, ‘यदि तपाईं खुसी र प्रेमपूर्ण सम्बन्धमा हुनुहुन्छ अनि एक रात तपाईं अर्कै व्यक्तिसँग भएको सपना देख्नुहुन्छ भने यो ठीकै हो, यो सामान्य कुरा हो ।’ उनी थप्छन्, ‘यसका लागि तपाईंले आफैँलाई दोषी ठान्नुपर्दैन, यसको कुनै विशेष अर्थ नहुन पनि सक्छ ।’
के हाम्रो दिमागले भविष्य पत्ता लगाउन सक्छ ?
जब हाम्रा सपना भविष्यवाणीजस्ता लाग्छन् र वास्तविक जीवनका घटनाहरूसँग मेल खान्छन्, तब मात्र हामी तिनमा ध्यान दिन्छौँ अनि याद राख्छौँ । डा.अबिदेमी ओताइकु भन्छन्, ‘जब तपाईं सपना देख्नुहुन्छ र ती वास्तविक दुनियाँसँग मेल खाँदैनन्, तब तपाईं तिनलाई बिर्सनुहुन्छ ।’
तर, भविष्यवाणीजस्ता लाग्ने सपनाको अर्को कारण पनि हुन सक्छ, जसलाई इन्टेरोसेप्सन भनिन्छ । डा.ओताइकु बताउँछन्, ‘केही मानिस यसलाई हाम्रो छैटौँ इन्द्रिय पनि भन्छन् । मूलतः यो दिमागको त्यस्तो क्षमता हो, जसले शरीरको आन्तरिक अवस्थालाई महसुस गर्छ ।’
इन्टेरोसेप्सनसँग जोडिएको दिमागको भाग प्रायः सपना देख्दा सक्रिय हुने भागसँगै मेल खान्छ । कहिलेकाहीँ हाम्रा सपनाले रोगको सङ्केत गर्नुको कारण यही हुन सक्ने केही अनुसन्धानकर्ताहरूको विश्वास छ । डा.ओताइकु अगाडि भन्छन्, ‘यसले यी कुराहरूलाई बुझाउन सक्ने सम्भावित संयन्त्रको रूपमा काम गरेको देखिन्छ ।’
डरलाग्दा सपनाका बारेमा हामीले कति सोच्नुपर्छ ?
डा.ओताइकुजस्ता स्नायुविज्ञहरूका अनुसन्धानले हाम्रा सपना मस्तिष्कसँग जोडिएका केही रोगको जोखिमको सङ्केत हुन सक्ने देखाएका छन् । उनी भन्छन्, ‘तपाईंलाई जति धेरै नराम्रा सपना आउँछन्, त्यति नै डिमेन्सिया (बिर्सने रोग) र पार्किन्सन रोग लाग्ने खतरा बढ्न सक्छ ।’ यसबारे उनका तीनवटा सिद्धान्त छन् । पहिलो, नराम्रा सपना यस्ता रोगका सुरुवाती सङ्केत हुन सक्छन् ।
दोस्रो, नराम्रा सपना आफैँमा खराब स्वास्थ्यको कारण बन्न सक्छन् । अनि तेस्रो, नराम्रा सपना र यी रोग दुवैको एउटै साझा कारण हुन सक्छ, जस्तै हाम्रो वंशाणुगत गुण । यीमध्ये कुन कुरा सही हो भन्ने जान्नका लागि अझै थप अनुसन्धानको आवश्यकता छ । यी नतिजाहरूबाट निराश हुनुभन्दा पनि आफ्नो स्वास्थ्यलाई अझ राम्रो बनाउने अवसरका रूपमा लिनुपर्ने डा.ओताइकु बताउँछन् ।
यस्तो अवस्थामा तनाव कम गर्ने, पर्याप्त निद्रा लिने र सुत्नुअघि डरलाग्दा फिल्म नहेर्ने जस्ता कुराहरू सहयोगी साबित हुन्छन् । गम्भीर अवस्थामा यसका केही उपचार पनि उपलब्ध छन् । ‘इमेज रिहर्सल थेरापी’मा बिरामीहरू बारम्बार आइरहने खराब सपनाको अन्त्यलाई बदल्ने अभ्यास गर्छन् ।
त्यस्तै, रक्तचापको औषधि ‘प्राजोसिन’ ले नराम्रा सपनाहरू रोक्न सक्छ भने सामान्य सपनालाई असर गर्दैन । ओताइकु थप्छन्, ‘नराम्रा सपनाहरूको उपचार गर्दा हाम्रो स्वास्थ्यमा तत्काल र दीर्घकालसम्म सकारात्मक प्रभाव पर्नु पूर्ण रूपमा सम्भव छ ।’
के हामीले आफ्ना सपनाको विश्लेषण गर्नुपर्छ ?
सपनाको सही अर्थ खोज्नु भ्रामक हुन सक्ने डा.सेल्टरम्यानको चेतावनी छ । किनकि यसले व्यक्तिको आफ्नै सन्दर्भ र परिस्थितिलाई बेवास्ता गर्छ । उनको बुझाइ छ, ‘एउटा समुद्री जीवविज्ञानीका लागि शार्कको अर्थ एउटा दन्त चिकित्सकको तुलनामा बिलकुलै फरक हुन सक्छ ।’
यद्यपि सपनामा आउने विषयवस्तुहरूमा ध्यान दिँदा आफूले आफैँलाई अझ राम्ररी बुझ्न मद्दत पुग्ने उनी बताउँछन् । उनी भन्छन्, ‘हुन सक्छ, तपाईं बारम्बार यस्तो खास व्यक्तिको सपना देखिरहनुभएको छ जो अब यस संसारमा छैनन्, वा यस्तो जागिरको सपना देखिरहनुभएको छ जुन तपाईं भविष्यमा पाउन चाहनुहुन्छ ।’
यी विषयमा ध्यान दिँदा हामीले आफ्नो र आफ्ना सम्बन्धहरूको बारेमा अझ राम्रो बुझाइ प्राप्त गर्न सक्छौँ । किनभने हामी सबैभन्दा बढी यिनै कुराहरूको सपना देख्छौँ । डा.सेल्टरम्यान भन्छन्, ‘यदि सपनाको कुनै महत्त्व छ भने त्यो धेरैजसो हाम्रो सामाजिक जीवनमै देखिन्छ ।’
एडलाइन आफू अचेल सपनामा बढी ध्यान दिने र तिनलाई आफ्ना भावना बुझ्ने सङ्केतका रूपमा प्रयोग गर्ने बताउँछिन् । उनी भन्छिन्, ‘सपनाले के सन्देश दिइरहेका छन् भन्ने कुरा बुझ्न हामीले आफ्ना मनोभावमा मात्र भर पर्नुपर्छ । आफ्नै मनभित्र चियाउनुहोस्, तपाईंले जवाफ पाउनुहुनेछ ।’
(बीबीसीका लागि कलेक्टिभ न्युजरुमद्वारा प्रकाशित सामग्रीमा आधारित)
सत्यपाटी