२०८३ वैशाख ७ , सोमबार 20, April 2026, Monday

घरेलु हिंसामा आठ जना बालकको ज्यान गयो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ७ गते सोमबार

संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु हिंसाको घटनाले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ । घटनामा एक व्यक्तिले आफ्नै परिवारका अधिकांश सदस्य रहेका आठ बालबालिकालाई गोली हानेर हत्या गरेका छन् । तीन फरक–फरक घरमा फैलिएको यो हिंसा पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा देशकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डका रूपमा दर्ज भएको छ ।

प्रहरीका अनुसार ३१ वर्षीय शामार एल्किन्सले बिहानै तीन स्थानमा आक्रमण गरेका थिए । उनी घटनापछि कारज्याक (बलपूर्वक सवारी साधन कब्जा गर्ने) गरिएको गाडीमा भागेका थिए, तर प्रहरीले पछ्याउँदै जाँदा अन्ततः उनीमाथि गोली चलाएर नियन्त्रणमा लिएको थियो, जसका क्रममा उनको मृत्यु भयो । प्रहरी अधिकारी क्रिस बोर्डेलनका अनुसार संदिग्धले गाडीबाट बन्दुकसहित बाहिर निस्किएपछि प्रहरीलाई बल प्रयोग गर्न बाध्य बनाएको थियो ।

यस घटनामा तीनदेखि ११ वर्ष उमेर समूहका आठ बालबालिकाको ज्यान गएको क्याडो पारिश कोरोनर कार्यालयले पुष्टि गरेको छ । मृतकमध्ये तीन बालक र पाँच बालिका रहेका छन् । सात जना एकै परिवारका दाजुभाइ–दिदीबहिनी थिए भने एक जना उनीहरूको काकाका छोरा (भाइ) थिए । प्रहरीका अनुसार मारिएका आठमध्ये सात जना बालबालिका आक्रमणकारीकै सन्तान थिए ।

घटनामा दुई महिला गम्भीर घाइते भएका छन्, जसमध्ये एक जना मारिएका केही बालबालिकाकी आमा हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू दुवैको टाउकोमा गोली लागेको छ । एक महिलाले अनुहारमा गोली लागेपछि छिमेकीलाई खबर गरिन्, जसको आधारमा बिहान ५ः०० देखि ५ः३० बजेको बीचमा आपत्कालीन सेवा ९११ मार्फत प्रहरी घटनास्थल पुगेको थियो ।

एएफपीका एक भिडियोग्राफरले घटनास्थलमा रहेको सानो दुईतले घरको सेतो ढोकामा पाँचवटा गोलीका प्वाल देखिएको जनाएका छन् । घर बाहिर स्थानीयवासीहरूले श्रद्धाञ्जलिस्वरूप फूलहरू राखेका थिए, जसले घटनाप्रति समुदायको पीडा झल्काउँछ । प्रहरीका अनुसार आक्रमणकारी दोस्रो घरमा पुगेका बेला त्यहाँ नौ बालबालिका रहेका थिए । तीमध्ये एक जना गम्भीर घाइते अवस्थामा बाँच्न सफल भएका छन् र अस्पतालमा उपचार भइरहेको छ ।

अनुसन्धान अधिकारीहरूले घटनाको कारण अझै स्पष्ट नभएको र तीनै स्थानबाट प्रमाण सङ्कलन कार्य जारी रहेको बताएका छन् । प्रारम्भिक रूपमा यो घटना घरेलु विवादसँग सम्बन्धित रहेको अनुमान गरिएको छ । मृतक बालबालिकाको पहिचान जीवित रहेका उनीहरूका आमाले गरेका छन् । तीमध्ये जयला एल्किन्स (३), सायला एल्किन्स (५), कायला पुघ (६), लैला पुघ (७), मार्केडन पुघ (१०), सरियाह स्नो (११), खेदेरियन स्नो (६) र ब्रेलोन स्नो (५) रहेका छन्।

प्रहरी अभिलेखअनुसार एल्किन्सलाई सन् २०१९ मा बन्दुकसम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो र उनले दोष स्वीकार गरेका थिए । तर यसअघि घरेलु हिंसासम्बन्धी कुनै स्पष्ट रेकर्ड नरहेको जनाइएको छ । स्थानीय मेयर टम आर्सेनक्सले घटनालाई अत्यन्त पीडादायी र भयावह भन्दै बालबालिका नै निशाना बन्नु अत्यन्त दुःखद रहेको बताए । उनले समाजमा अझै पनि हिंसात्मक प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसविरुद्ध सबैले मिलेर सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याए ।

घटनास्थल नजिकै बस्ने ७२ वर्षीय फ्रेडी मोन्टगोमेरीले अघिल्लो दिनसम्म ती बालबालिका आँगनमा खेलिरहेको दृश्य सम्झँदै अचानक यस्तो घटना भएकोमा आफू स्तब्ध भएको बताए । उनले आइतबार बिहान प्रहरीलाई घरबाट शव निकाल्दै गरेको देखेको बताए । राजनीतिक नेतृत्वबाट पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ । लुइसियानाका सिनेटर बिल क्यासिडीले यसलाई ‘भयानक हिंसा’ भन्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

गभर्नर जेफ ल्यान्ड्रीले आफू हृदयविदारक अवस्थामा पुगेको बताए भने प्रतिनिधिसभाका सभामुख माइक जोनसनले यसलाई ‘निरर्थक त्रासदी’का रूपमा टिप्पणी गरे । मेयर आर्सेनक्सले पत्रकार सम्मेलनमा भने, ‘यो श्रेभपोर्टका लागि अत्यन्त दुःखद बिहान हो, र हामी सबै पीडित परिवारसँग शोकमा सहभागी छौँ ।’ बन्दुकको पहुँच व्यापक रहेको अमेरिकामा यस्ता हिंसात्मक घटनाहरू बारम्बार दोहोरिने गरेका छन् । विकसित राष्ट्रहरूमध्ये बन्दुकसम्बन्धी मृत्यु दर सबैभन्दा उच्च रहनु पनि यस घटनाले पुनः उजागर गरेको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार